
परिचय
नेपालको संविधान–२०७२ ले नेपाल देशलाई बहुभाषिक र बहुसाँस्कृतिक भनेर व्याख्या गरेको छ । नेपालमा १२५ जात जातिहरु बसोबास गर्दछन् र उनीहरु सय भन्दा बढी भाषा बोल्दछन भने ९७ वटा नेपालका रैथाने भाषाहरु छन् (जनगणना, २०६८/ www.cbs.gov.np)_ । सन् २०६८ को जनगणना अनुसार नेपालमा बोलिने १२३ वटा भाषाहरु मध्ये चीन तिव्वती परिवारका ६८ भाषा, भारोपेली परिवारका ४८ भाषा, आग्नेली परिवारको एउटा भाषा सन्थाली भाषा, द्रविड परिवारको एउटा भाषा (उराँव वा कुडुख भाषा) र भाषिक परिवार नखुलेखो कुसुण्डा भाषा अस्तित्वमा छन् (भाषा प्रतिवेदन २०७५/ २०७६) । नेपालमा एक लाख भन्दा वढी वक्ता संख्या भएका भाषाहरु १९ वटा छन् यो संख्या नेपालको कुल जनसंख्याको ९५.९१ प्रतिशत हुन आउँछ । वाँकी जनसंख्याले बोल्ने भाषाहरु मध्ये अत्यन्तै थोरै वक्ता भएका दुरा, कुसुण्डा जस्ता २४ वटा भाषाहरु अस्तित्व मेटिने स्थितिमा पुगेका छन् ।
त्यस्तै गरी पूर्विय दर्शन सभ्यताका धरोहर पाली, संस्कृत र भोट भाषाहरु पनि संकटग्रस्त छन् । भाषा विविधताको फुलबारीमा द्वाल्खा नेपाल (नेवारी) भाषा पनि एक हो । द्वाल्खा नेपाल (नेवारी) भाषालाई नेपाल भाषाको पुरानो भाषाको रुपमा लिइन्छ । साथै स्थानीय वुढापाकाहरुको भनाइ अनुसार पाँच पाण्डवहरु गुप्तवास बसेको बेला कसैले नबुझिने गरीबोलिने भाषाको रुपमा पनि यो नेवारी भाषालाई लिइन्छ । यो नेवारी भाषा विशेषतः दोलखा जिल्लाको दोलखा शहर, सहरपा, सिन्धुपाल्चोक जिल्लाको तौथली, लिस्ती र काभे्रको दुतीमा नेवार समुदायहरुले बोलेको पाइन्छ । यी स्थानहरुबाट बसाई सरेर काठमाण्डौ उपत्यकामा बसोबास गर्ने नेवारहरुले पनि यो नेवारी भाषा बोल्ने गरेको पाइन्छ । द्वाल्खा नेवारी भाषा र उपत्यकामा बोलिने नेवारी भाषामा करिव पचास प्रतिशत अन्तर छ । यो दोलखाको नेवारी भाषामा उपत्यकाको नेवारी भाषामा नभएका मौलिक संज्ञाजन्य शब्दहरु पनि छन् । यस भाषामा नेपाली, तामाङ्ग, थामी, शेर्पा र बंगाली भाषाको समेत प्रभाव परेको र उस्तै शब्दावली भएको पाईन्छ । यो भाषामा पाँचसय वर्ष अघिसम्मको अभिलेख मात्र रहेको पाइन्छ ।
यो नेवारी भाषाको लवज पनि उपत्यकामा बोलिने नेवारी भाषाको भन्दा केही फरक छ । द्वाल्खा नेवारी भाषामा दोलखाली नेवारहरुको संस्कृति लुकेको छ । उनीहरुको आदिवासिय ज्ञान, सिप तथा कला रहेको छ । तर नेपालमा भएको आधुनिक शिक्षा, आमसञ्चार (मिडिया), बसाइसराई, अन्तरजातीय तथा अरु नेवारी भाषा बोल्नेहरुसँग बिबाह, भौतिक पुर्वाधार तथा राजनैतिक विकासको क्रमसँगै दोलखाको नेवार भाषा तथा संस्कृतिको संरक्षणमा सम्बन्धीत निकायहरुबाट ध्यान नदिएको कारणबाट पनि आज बिस्तारै विस्तारै द्वाल्खा नेवारी भाषा लोपोन्मुख अवस्थामा पुगेको छ । हिजो दोलखाको नेवार बाहुल्य क्षेत्रहरुमा सबै जात जातिका मानिसहरुले काम काज, पेशा व्यवसायको सिलसिलामा दोलखा आएर बसेपछि केहि दिन र महिनामै दोलखाको नेवारी भाषा बोल्न सक्छे र बोल्ने पनी गर्दथ्यौं ।
तर अहिले दोलखाका नेवारहरु आफैँले समेत बिर्सँदै गएको अवस्था छ । नेपालको सरकारी कामकाजको भाषाको रुपमा संविधानमा उल्लेख भएको नेपाली भाषाका साथै नेपालमा वोलिने नेपाल उत्पतिका राष्ट्रभाषाहरु दिनानुदिन क्षीण हुँदै आएको कुरा भाषा आयोग र अन्य निकायवाट गरिएका अध्ययनले पनि देखाएका छन । अंग्रेजी भाषाप्रतिको अनावश्यक मोह, औपनिवेशिक मानसिकता र बजारले सिर्जना गरेका भ्रमका कारण नेपालको भाषिक विविधता र वहुभाषिक जीवन पद्धती संकटमा पर्दै गएको यथार्थ हाम्रो सामू छ । नेपालको संविधानले बहुभाषिक तथा बहुसाँस्कृतिक संरक्षण र सम्बद्र्धनको लागि प्राथमिक तहको शिक्षा मातृभाषामा अध्ययन गर्न पाउने अधिकार सुनिश्चितता गरेको छ । तसर्थ दोलखा नेवारी भाषाको संरक्षण र सम्बद्र्धनमा दोलेखेली संस्कृति जिवन्त राख्ने बहुभाषिक र बहुसाँस्कृतिक शिक्षण मोडेल अपनाएर दोलखाको नेवारी मातृभाषा विद्यालय स्तरसम्म पढाउन सकेमा विद्यार्थीहरुलाई नेपाली र अँग्रेजी सिक्न पनि गाह्रो नहुने कुरा भाषाबिद्हरुले अनुभव गरेका छन् ।
उद्देश्य :
यस लेखको उद्धेश्य द्वाल्खा नेवारी मातृभाषाको महत्वको वारेमा जानकारी दिई नेपालको राष्ट्रिय गौरव बढाउन दोलखा जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रमा प्रचलित दोलखा नेवारी मातृभाषा, लवज, स्थानीय विषयवस्तु तथा संस्कृतिमा आधारित र बालमनोविज्ञानमा आधारित विद्यालय स्तरमा मातृभाषामा पढाउनको लागि पहलको लागि सवैको मानसिकतामा परिवर्तन गनु आजको आवश्यकता रहेको छ । साथै तत्कालीन रुपमा कम्तिमा दोेलखा नेवारी मातृभाषामा कक्षा १, २ र ३ को पाठ्य पुस्तक लेखन तथा प्रकाशन गर्न जागरुक गरेर कार्यान्वयनको तहमा छिटो भन्दा छिटो जानको लागि पहल गराउनु हो । पाठ्यपुस्तकले स्थानीय कला, संस्कृति, प्रकृति तथा पर्यावरण पनि समेट्ने भएकोले स्थानीय कुराहरुलाई प्रबद्र्धन गर्न सहयोग मिल्नेछ भन्ने आशा गरिएको छ ।
द्वाल्खा नेपाल (नेवारी) मातृभाषावाट पढाउनुपर्ने औचित्यता/ सान्दर्भिकताः
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं २ दोलखाको नेवारी भाषा तथा संस्कृतिको आदिम थलो हो । आधुनिक विकास र बसाइसराईको प्रभाववाट यो वडामा नेवारहरुको जनसंख्या घटे पनि यो नगरपालिकामा नेवारहरुको सघन बस्ती छ । पुराना पुस्ताहरुले दोलखाको नेवारी भाषा तथा संस्कृतिको अभ्यास र अध्ययन गरिरहेका छन् । तर नयाँ पुस्तामा दोलखाको नेवारी भाषाको बोलचाल, संस्कृतिको अभ्यास भने कमजोर हुँदै गइरहेको छ । अनि नेपालको एक सम्पदा द्वाल्खा नेवारी भाषा तथा संस्कृति लोपोन्मुख दिशामा अघि बढिरहेको छ । यस्तो अवस्थामा बालबालिकाहरुलाई द्वाल्खा नेवारीभाषा तथा संस्कृति नसिकाउने हो भने द्वाल्खा नेवारीभाषा तथा संस्कृति लोप हुने सम्भावना बढेको छ । अर्कोतर्फ उपत्यकामा बोलिने नेवारी भाषाको आधारमा तयार गरिएको नेवारी भाषाका पाठ्यक्रमहरु यो क्षेत्रमा बोलिने नेवारी भाषा शिक्षणको लागि उपयुक्त हुदैन । किनकी यो भाषा र उपत्यकामा बोलिने नेवारी भाषाको शब्दावली पचास प्रतिशत फरक छ । स्थानीय भाषा, लवज तथा संस्कृतिको कारण यस्तो फरक पर्न गएको हो ।
यसले गर्दा पनि यस क्षेत्रका बालबालिकाहरुलाई द्वाल्खा नेवारीभाषा तथा संस्कृति सिकाउने हो भने उनीहरुको संज्ञानको विकास तथा प्रभावकारी सिकाइका लागि स्थानीय चलन चल्तीको द्वाल्खा नेवारी भाषामा पाठ्यक्रम बनाउन आवश्यक हुन्छ । पाठ्यक्रममा स्थानीय आर्थिक, सामाजिक साँस्कृतिक विषवस्तु समेट्नु पर्ने हुन्छ । नेपालको संविधान –२०७२ र वर्तमान शिक्षा ऐन, पाठ्यक्रम निर्देशिकाहरुले पनि यसलाई निर्देशित गरेको छ । यसका साथै रैथानै मातृभाषाहरुको प्राथमिक तहका पाठ्यपुस्तक निर्माण गर्ने र पठनपाठनका कार्यहरु स्थानीय तह÷पालिकाको कर्तव्यभित्र पनि पारिएको छ । यसैले, यो कार्यले द्वाल्खा नेवारीभाषा तथा संस्कृतिको संरक्षण, प्रबद्र्धन तथा समृद्धिका लागि मद्दत गर्नेछ । र नेपालको एक सम्पदाको बचाउने छ, जसले राष्ट्रको गौरव बढाउँदछ । तसर्थ द्वाल्खा नेवारीभाषामा समय अनुसार अग्रजहरुले संरक्षणमा योगदान गर्दै आएको देखिएतापनि अहिले युवा पुस्ताहरु दोलखावाट काठमाण्डौं लगायत विभिन्न ठाउँमा वसाइ सराइ गर्नुका साथै बिहेवारी पनि विभिन्न ठाउँवाट गर्ने चलन र अन्तरजातिय विवाहको कारणले पनि भाषा विस्तारै वोल्न छोड्दै गएको देखिन्छ । अहिले हाम्रो पुस्ताले बोलेको र अहिलेको केटाकेटीले विस्तारै द्वाल्खा नेवारीभाषा वोल्न छोडदै गएको छ । तसर्थ जसरी पाली भाषा, भोटका भाषाहरु हराउँदै गयो ।द्वाल्खा नेवारीभाषा पनि विस्तारै हराउँदै जाने हो कि भन्ने चिन्ता स्थानीय बासिन्दाहरुमा रहेको पाइन्छ । तसर्थ यसलाई जोगाउनु पर्ने आवश्यकता देखिन्छ ।
पूर्व अध्ययनको समिक्षा
विभिन्न विगतमा गरिएका अध्ययनलाई हेर्दा द्वाल्खा नेवारीभाषाको अध्ययनको वारेमा विभिन्न अध्ययनकर्ताले अध्ययन गरेको देखिन्छ । यसै सन्दर्भमा ईन्द्र मालीले वि.सं १९७९ मा गरेको देखिन्छ । त्यस्तै प्रेम सायमीले १९८६ र काशिनाथ टमटले १९८७ र १९८९ मा अध्ययन गरेको देखिन्छ । त्यस्तैगरि डा.रुद्रलक्ष्मी श्रेष्ठले द्वाल्खा नेवारी भाषाको क्रियाको परिवर्तन (Dolakha Verb Inflection) को वारेमा १९८९ देखि १९९३ मा द्वाल्खा नेवारीभाषामा विद्यावारिधि गर्नु भएको थियो । त्यस्तैगरीक्यारोल जेनिटीले पनि १९८८ देखि २००७ सम्म निरन्तर रुपमा दोलखा भाषाको व्याकरण,वाक्य र शव्दमा पनि अध्ययन गर्दे आउनुभएको देखिन्छ ।
द्वाल्खा नेवारीभाषाको सन्र्दभमा आफनो तर्फवाट नै दोलखाको स्थानीयवासीहरुले पनि योगदान गरेको देखिन्छ । आइ. प्रधान (२००१), यू. प्रधान, (२००३), र वाई. के. श्रेष्ठ, (२००२) ले दोलखा नेवारी भाषा र संस्कृति वीचको सम्वन्धको वारेमा अध्ययन गरेका छन् । त्यस्तैगरी विगत १० वर्षमा द्वाल्खा नेवारी भाषाबाट प्रकाशित बापीझ्याला पत्रिकाहरुमार्फत यो दोलखा नेवारी भाषाको संरक्षण तथा प्रचारप्रसारमा योगदान गरेको गर्दै आएको छ । यसै गरी कुल्सी र अभयपुर पत्रिकाले पनी आफ्नो प्रकाशन समयमा दोलखाको नेवारी भाषाको सन्दर्भनमा सहयोग पु¥याएको थियो । त्यस्तै गरि दोलखा नेपाल भाषा खलकले पनि द्वाल्खा नेवारी भाषाको विकासमा सक्रिय रुपमा लागिपरेको छ । साथै कालिन्चोक युवा क्लव र दोलखा गुठीले पनि स्थापनाकालदेखि नै द्वाल्खा नेवारी भाषा र संस्कृति जोगाउन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकाछन् । भीमेश्वर नगरपालिका वडा नंं. २ ले पनि विभिन्न कार्यक्रम मार्फत द्वाल्खा नेवारी भाषा र संस्कृतिको जर्गेना र पुनरुत्थानको प्राथमिकता दिदै आइरहेको छ । यद्यपी अझैपनि दिगो रुपमा द्वाल्खा नेवारी भाषा दोलखा जोगाउन ठोस कार्य स्थानीय तहदेखि केन्द्रीयस्तर सम्म हुन सकेको छैन । भीमेश्वर नगरपालिकाको विभिन्न दस्तावेजहरु अध्ययन गरेर हेर्दा पनि दोलखा को नेवारी भाषा, संस्कृति र कला पुनरुत्थानको लागि खासै प्रावधानहरु रहेको देखिएन् ।
भाषाविद अमृत योन्जनका अनुसार २५ थरिका आदिवासी जनजातिरुले मातृभाषावाट पढाई नेपालका विभिन्न ठाउँमा सुरुवात गरिसकेको र त्यसमा द्वाल्खा नेवारी मातृभाषाबाट पनि पढाई सुरु गर्न सकिने कुरा वताउनुहुन्छ । त्यसको लागि नेपालको संविधानको धारा ३२ मा भाषा तथा संस्कृति सम्वन्धी मौलिक हकको व्यवस्था गरिएको छ । यसमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो मातृभाषा बोल्ने प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने र आफ्नो मातृभाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुने व्यवस्था गरिएको छ । त्यसैगरी राज्यले वहुभाषिक नीति अवलम्वन गर्दै विभिन्न भाषाहरुका वीचमा पारस्पारिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी संघिय, प्रदेश र स्थानीय तहवीच परस्परमा सहयोगात्मक सम्वन्ध विकास गर्दे राष्टिय एकता प्रवर्धन गर्ने राज्यको नीति रहेको देखिन्छ ।त्यसको लागि हामीले द्वाल्खा नेवारी मातृभाषाबाट पठन पाठन गराउन सुरु गर्न सकेको खण्डमा यो भाषाको संरक्षण र संबद्र्धन हुनेमा कोसेढुङ्गो हुनेछ ।
जोगाउने उपाय र तत्कालिन गर्नुपर्ने कार्यहरु
भाषाबिद अमृत योन्जनका अनुसार कुनै पनि भाषाको दिगो विकासको लागि त्यसको लिखित र मौखिक दुवै दस्तावेज हुनुपर्दछ । साथै मातृभाषामा जवसम्म पढाइ सुरु गरिन्दैन् तवसम्म भाषा नजोगिने पनि उहाँको तर्क रहेको छ । विगतको कैयौ अनुसन्धानहरुलाई केलाएर हेर्ने हो भनेपनि वोलीचालीका भाषाहरुजम्मा भाषा ५०० वर्षसम्म मात्र वाँच्छन् भन्ने कुरा प््रष्ट देखिन्छ ।
गाउँ पालिका र नगरपालिकाले मातृभाषामा शिक्षा, भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकासको लागि निम्न कार्य गर्नु बाञ्छनीय हुन्छ ।
(१) भीमेश्वर नगरपािलकामा रहेका विभिन्न मातृभाषाहरुको संरक्षण र विकासका वारेमा नीति बनाउने ।
(२) मातृभाषामा शिक्षा नीति वनाउने ।
(३) भाषा,संस्कृति र ललितकला प्रज्ञा(प्रतिष्ठान वनाउने ।
(४) भाषा नीति वनाउनका लागि एकजना भाषाशास्त्री, एकजना शिक्षाविद, एकजना कानुनविद र २ देखि ३ जनाको स्थानीय विज्ञको सुझाव समिति गठन गर्ने
(५) तीनवटै समितिले दिएका सुझावलाई स्थानीय पालिका सभावाट पारित गराउने र लागू गराउन पहल गर्ने गराउने (६) स्थानीय तहको प्रज्ञाप्रतिष्ठान गठन गर्ने जस्तै भीमेश्वर नगरपालिका प्रज्ञा(प्रतिष्ठान
(६) द्वाल्खा नेवारी मातृभाषाबाट पठनपाठन गराउन वजेट छुट्याउने
(७) पाठ्यपुस्तकको प्रारम्भिक खाका निर्माण प्रस्तुतिकरण, सेयरिङ र पृष्ठपोषण प्राप्त गर्ने र
(८) सुरुमा १ देखि ३ सम्मको पुस्तक निर्माण गर्ने आदी ।
निश्कर्ष
पाठ्यपुस्तकले मातृभाषा जोगाउँदछ, कला संस्कृति जोगाउँदछ, अनि बच्चालाई टाठो, दृढ विश्वासी र प्रतिष्पर्धी बनाउदछ । तसर्थ दीगो रुपमा भाषा, कला, संस्कृति जोगाउनु छ भने छिटो भन्दा छिटो कार्यदल टोली गठन गरेर तत्कालीन रुपमा स्थानीय तहको भाषा नीति, भाषा ऐन, र पाठ्यपुस्तक निर्माण गरेर जानुपर्ने देखिन्छ ।
कृतज्ञता
यो लेख लेख्नको लागि उत्प्रेरणा दिनु हुने वाँपीझयाला पत्रिकाको सम्पादक उपेन्द्र प्रधान, कानुनविद् प्रविण प्रधान, भाषाविद् अमृत योन्जन, विष्णु कुमार सिंजाली, श्यामकृष्ण श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, राज्य लक्ष्मी श्रेष्ठ र सत्यकृष्ण श्रेष्ठ धन्यवादका पात्र हुनुहुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij