Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

कम्युनिस्ट नेता घनेन्द्र बस्नेतको निधन

कम्युनिस्ट नेता घनेन्द्र बस्नेतको निधन

नेपाल सम्वत् ११४६, यंलागाः ५, पञ्चमी –१५ असोज २०८३, १ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय सक्रिय रहेका नेता घनेन्द्र बस्नेतको निधन भएको छ। क्यान्सरको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बुधबार साँझ उहाँको निधन भएको हो।

नेपाली कम्युनिस्ट पार्टीका प्रचार विभाग उपप्रमुख अशेष घिमिरेका अनुसार बस्नेत पछिल्लो ६–७ महिनादेखि क्यान्सरसँग जुधिरहनुभएको थियो।

२००९ असोज २५ गते भोजपुरको कुलुङमा जन्मिनुभएका बस्नेतले आफ्नो जीवनको लामो समय कम्युनिस्ट आन्दोलन तथा राजनीतिक संघर्षमा बिताउनुभएको थियो। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा उहाँले लामो समय जेल जीवन बिताउनुभएको थियो।

‘समाजवाद किन र कसरी?’ पुस्तकमा उल्लेख भएअनुसार बस्नेतले करिब १६ वर्ष तीन महिना जेल जीवन बिताउनुभएको थियो। उहाँ २०३३ चैत १२ गते झापाका तत्कालीन राजनीतिक बन्दीहरूले गरेको नख्खु जेल ब्रेकमा समेत सहभागी हुनुभएको थियो।

त्यतिबेला जेलबाट बाहिरिएका १५ राजनीतिक बन्दीमध्ये १० जना उम्कन सफल भएका थिए भने पाँच जना पुनः पक्राउ परेका थिए। जेलबाट निस्किएको चार दिनपछि पथलैयाको जंगलबाट बस्नेत पनि पक्राउ पर्नुभएको थियो।

बस्नेतले कम्युनिस्ट राजनीतिमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यसमेत बन्नुभएको थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनपछि केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनुभएको थियो।

नेकपा विभाजनपछि उहाँ नेकपा एकीकृत समाजवादीमा आबद्ध हुनुभयो र पार्टीको केन्द्रीय उपाध्यक्ष तथा तत्कालीन प्रदेश १ इन्चार्जको जिम्मेवारी सम्हाल्नुभयो। प्रदेशको नाम कोशी राखिएपछि उहाँ कोशी प्रदेश इन्चार्जका रूपमा समेत सक्रिय रहनुभएको थियो। एकीकृत समाजवादीमा उहाँले राजकीय मामिला विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।

पछिल्लो समय उहाँ घनश्याम भुसाल नेतृत्वको राजनीतिक अभियानमा वरिष्ठ नेताका रूपमा सक्रिय हुनुहुन्थ्यो। बस्नेत २०४८ र २०५६ सालमा प्रतिनिधिसभा सदस्यसमेत निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार