इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’ नेपालका नेवा समुदायले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण सांस्कृतिक पर्व हो। काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेपाल मण्डलका विभिन्न नेवा बस्तीमा विशेष उत्साहका साथ मनाइने यो जात्रा धार्मिक आस्था, इतिहास, संस्कृति र विभिन्न किंवदन्तीसँग जोडिएको छ।
संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार इन्द्रजात्राको मूल कथा स्वर्गका राजा इन्द्र पृथ्वीलोकमा पारिजात फूल र एक प्रकारको फल लिन आएको प्रसङ्गसँग जोडिएको छ। भदौ महिनामा पृथ्वीमा फुल्ने पारिजात स्वर्गलोकमा नपाइने भएकाले इन्द्र पृथ्वीलोकमा आएको किंवदन्ती छ।
कथाअनुसार पृथ्वीका राजा ‘मुपात्र’को अनुमतिबिना पारिजात फूल र फल लैजान खोज्दा इन्द्रलाई पृथ्वीवासीले समातेका थिए। त्यसपछि चोरी गरेको पारिजात फूल र फलसहित उनलाई दोबाटो तथा चौबाटोमा आठ फन्को डोरीले बाँधेर राखिएको थियो। इन्द्रकी आमाले यो कुरा थाहा पाएपछि ऐरावत हात्ती अर्थात् ‘पुलु किसी’ पठाएर हुस्सु फैलाउँदै इन्द्रलाई पृथ्वीलोकबाट मुक्त गराएको किंवदन्ती छ। ‘पुरन्दर’ इन्द्रको अर्को नाम भएकाले ‘पुलु किसी’लाई पनि यसै कथासँग जोडेर हेर्ने गरिन्छ।
संस्कृतिविद् श्रेष्ठका अनुसार काठमाडौँ र भक्तपुरमा इन्द्रजात्रासँग जोडिएका किंवदन्ती भने फरक छन्। काठमाडौँको कथामा पारिजात फूल चोर्न स्वयं इन्द्र पृथ्वीलोक आएका थिए भने भक्तपुरको कथामा इन्द्रका छोरा ‘जयन्त’ पारिजात लिन आएको उल्लेख पाइन्छ। जात्राको मुख्य पात्र स्वर्गका राजा इन्द्र भए पनि कथामा उनलाई चोरको रूपमा प्रस्तुत गरिएको छ। यही कारण इन्द्रलाई दोबाटो तथा चौबाटोमा बाँधेर राख्ने परम्परा रहेको बताइन्छ।
पारिजात फूल वर्षमा एक पटक फुल्ने र रुखबाट सिधै टिप्न नहुने, झरेपछि मात्र टिप्न मिल्ने मान्यता पनि यस कथासँग जोडिएको छ। पारिजात फुल्न र झर्न थालेसँगै वर्षायाम अन्त्य भएर दसैँतिहारतर्फको मौसम सुरु हुने जनविश्वाससमेत रहेको छ।
इन्द्रजात्राको अर्को महत्वपूर्ण पक्ष ‘यँसी’ अर्थात् इन्द्रध्वज हो। इन्द्रध्वज काभ्रेको नालाबाट ल्याएर विधिपूर्वक ठड्याउने परम्परा छ। नेपाल भाषामा इन्द्रध्वजलाई ‘यम्बद्यो’ भनिन्छ। विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित आठ दिनसम्म मनाइने यो जात्रा नेपाल मण्डलको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा मानिन्छ।
काठमाडौँमा इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीलाई रथमा राखेर पुरानो बस्तीका विभिन्न मार्गमा परिक्रमा गराउने परम्परा छ। काठमाडौँका अन्तिम राजा जयप्रकाश मल्लले इन्द्रजात्रामा विशेष कुमारी जात्रा जोडेको किंवदन्ती छ। भक्तपुरमा भने जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् पुलु किसी तथा मसान भैरवको जात्रासमेत गरिन्छ।
भक्तपुरमा इन्द्रजात्राको अन्तिम दिन राति पृथ्वीका राजा ‘मुपात्र’ अङ्गरक्षकसहित आएर दोबाटो वा चौबाटोमा ठड्याइएको इन्द्रध्वज ढाल्ने किंवदन्ती रहेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ।
श्रेष्ठका अनुसार आजभन्दा करिब १५ सय वर्षअघि नै नेपाल मण्डलको समाजमा इन्द्रध्वज खडा गरेर इन्द्रजात्रा मनाउने परम्परा रहेको पाइन्छ। विभिन्न कालखण्डमा शासन गर्ने शासकहरूले जात्रामा नयाँ विधि तथा परम्परा थप्दै लगेको उहाँको भनाइ छ।
इन्द्रजात्रालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई जनशक्तिको उदय र निरङ्कुशताको अन्त्यको सांस्कृतिक प्रतीकका रूपमा समेत व्याख्या गरिन्छ। किंवदन्तीमा स्वर्गका राजा इन्द्रलाई समेत जनताले चोरको संज्ञा दिई दण्डित गरेको प्रसङ्गले जनताको शक्तिलाई प्रतिनिधित्व गर्ने संस्कृतिविद् श्रेष्ठको भनाइ छ।
इन्द्र र श्रीकृष्णसँग जोडिएको अर्को किंवदन्ती पनि इन्द्रजात्रासँग सम्बन्धित छ। जनशक्तिको उदयका रूपमा श्रीकृष्णलाई लिने गरिन्छ। पृथ्वीलोकका मानिसलाई इन्द्रको क्रोधबाट जोगाउन श्रीकृष्णले पहाडले छेकेको र त्यसपछि इन्द्र क्रोधित भई वर्षा गराएको किंवदन्ती रहेको बताइन्छ।
इन्द्र वर्षाका देवता भएकाले वर्षा रोकियोस् भन्ने कामनासहित चङ्गा उडाउने परम्परालाई समेत यही सांस्कृतिक विश्वाससँग जोडेर हेर्ने गरिन्छ।
भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै सुरु हुने इन्द्रजात्रा यँलागाः चौथीका दिन इन्द्रध्वज पतनसँगै सम्पन्न हुन्छ। आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा, देवदेवीका पूजा तथा सांस्कृतिक गतिविधिसहित मनाइने यो पर्व नेपालका प्राचीन सांस्कृतिक परम्परामध्ये एक हो।
यसरी इन्द्रजात्रा केवल इन्द्रको पूजा गर्ने पर्व मात्र नभई देवता र मानवबीचको सम्बन्ध, प्रकृति र वर्षाप्रतिको आस्था, पुर्खाको स्मृति, सामाजिक शक्ति तथा नेवा सभ्यताको जीवन्त सांस्कृतिक पहिचान बोकेको पर्वका रूपमा आजसम्म निरन्तर रहँदै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij