Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

धान आयात घटाउन उच्च उत्पादकत्वका नयाँ जात विकास गरिने

धान आयात घटाउन उच्च उत्पादकत्वका नयाँ जात विकास गरिने

नेपाल सम्वत् ११४६, यंलागाः ५, पञ्चमी –१५ असोज २०८३, १ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । नेपालमा बढ्दो धान आयात घटाउन उच्च उत्पादकत्व दिने नयाँ जातको धान विकास गरिने भएको छ। कृषि प्रविधि विकास तथा उपयोगमा नेपाललाई सहयोग गर्दै आएको दक्षिण कोरिया सरकारअन्तर्गतको ‘कोपिया नेपाल सेन्टर’ले बढी उत्पादन दिने धानका जात छनोट तथा विकास गर्ने योजना अघि सारेको हो।

ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भवनमा बुधबार आयोजित कार्यक्रममा सेन्टरले धानबाली परियोजनामार्फत नयाँ जात विकास गरी धानको उत्पादकत्व बढाउने लक्ष्य सार्वजनिक गरेको हो। परियोजनाको पहिलो चरणमा बढी उत्पादन दिने चैते धान तथा बर्खायाममा चाँडै पाक्ने जातको छनोट र विकासलाई प्राथमिकता दिइनेछ। पहिलो चरणको परियोजना सन् २०२८ देखि २०३० सम्म सञ्चालन हुने सेन्टरले जनाएको छ।

विकास गरिएका नयाँ जातका धानलाई मधेश र लुम्बिनी प्रदेशमा विस्तार गर्ने योजना रहेको छ। परियोजनाको दोस्रो चरणमा परम्परागत धान खेतीलाई यान्त्रिकीकरण गर्दै उत्पादनशील बनाउने लक्ष्य राखिएको छ।

नेपालको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादनले आन्तरिक माग धान्न नसक्दा बर्सेनि ठूलो रकम आयातमा बाहिरिने गरेको छ। हाल नेपालमा करिब १४ लाख २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसबाट ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ। प्रतिहेक्टर उत्पादकत्व करिब ४.२ मेट्रिक टन रहेको छ। अपुग धान मुख्यतः भारतबाट आयात हुँदै आएको छ।

गत वर्ष मात्रै नेपालले करिब ३९ अर्ब रुपैयाँ बराबरको सात लाख ७२ हजार ६९८ मेट्रिक टन धान आयात गरेको थियो। उच्च उत्पादन दिने हाइब्रिड जात र गुणस्तरीय बिउको अभाव, पर्याप्त सिँचाइ तथा मलखादको कमीका कारण धानको उत्पादकत्व बढ्न नसकेको सेन्टरले जनाएको छ। यस्तै कृषि यान्त्रीकरण, प्रशोधन तथा उपयुक्त बजारीकरणको अभावले पनि धान उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको अध्ययनले देखाएको छ।

कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्राडा लालप्रसाद अमगाईंले नेपालको धानबालीमा रूपान्तरण ल्याई आत्मनिर्भरता हासिल गर्न किसानसम्म आधुनिक कृषि यन्त्र तथा उपकरणको पहुँच र प्रयोग बढाउनुपर्ने बताउनुभयो।

‘कोपिया नेपाल सेन्टर’का निर्देशक डा. सङयोङ जुले धानको उत्पादन बढाउन खेतीसँग प्रत्यक्ष जोडिएका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार