Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

मुकुन्डोनाचको पाँच दशक : नेवार समुदायको जीवित सांस्कृतिक इतिहास अभिलेखीकरण

मुकुन्डोनाचको पाँच दशक : नेवार समुदायको जीवित सांस्कृतिक इतिहास अभिलेखीकरण

नेवार समुदायका परम्परागत मुकुन्डोनाचको इतिहास, संस्कृति, धार्मिक मान्यता, नृत्य प्रविधि र प्रस्तुतिलाई समेटेर लामो समयको अनुसन्धानपछि तयार पारिएको पुस्तकले नेपालका मौलिक प्रदर्शनकारी कलाको विस्तृत अभिलेख प्रस्तुत गरेको छ।

लेखकले वि.सं. २०२६ देखि २०८२ सालसम्म करिब ५६ वर्ष मुकुन्डोनाचको खोज, अध्ययन, अवलोकन र अभिलेखीकरणमा बिताएको बताएकी छन्। यस अवधिमा विभिन्न नाचका गुरु, कलाकार, पात्र, गुठी तथा सम्बन्धित व्यक्तिहरूसँग अन्तर्वार्ता लिने, प्रत्यक्ष प्रस्तुति अवलोकन गर्ने तथा प्रकाशित–अप्रकाशित अभिलेख अध्ययन गर्ने काम गरिएको थियो।

पुस्तक मुख्यतः नेवार समुदायका परम्परागत मुकुन्डोनाचमा केन्द्रित छ। परम्परागत नाचको इतिहास खोज्ने क्रममा जनश्रुति, धार्मिक आस्था र व्यवहारसँगै ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणलाई समेत आधार बनाइएको लेखकले उल्लेख गरेकी छन्। मुकुन्डोनाचको मूल रङ्गभूमि नेपाल उपत्यका भएकाले यहाँको इतिहास, धार्मिक परम्परा, जातीय संरचना, पेसा र गुठी व्यवस्थासँग नाचको सम्बन्धसमेत अध्ययन गरिएको छ।

लेखकका अनुसार पुस्तक १७ खण्डमा विभाजित छ। पहिलो खण्डमा नृत्यको विकासक्रमदेखि नेवार समुदायका मुकुन्डोनाचको इतिहास, नेपाल उपत्यकाको विस्तारक्रम र नाचसँग जोडिएका विभिन्न ऐतिहासिक पक्ष समेटिएका छन्। दोस्रो खण्डमा नेवार समुदायका चाडपर्व, जात्रा र विभिन्न अवसरमा प्रस्तुत गरिने नाचबारे चर्चा गरिएको छ।

तेस्रो खण्डमा मुकुन्डोनाचका पात्र, नासःद्यः, अष्टमातृका तथा भैरवगणको धार्मिक र तान्त्रिक पक्षबारे जानकारी दिइएको छ। चौथो खण्डमा शास्त्रीय नृत्यका प्रविधि तथा प्रस्तुति प्रकरणलाई नाट्यशास्त्र र अभिनयदर्पणका आधारमा अध्ययन गरिएको छ।

त्यसपछि चर्यानृत्य, गथुप्याखं, कार्तिकनाच, देवीनाच, महाकालीनाच, नीलवाराहीनाच, भैरवनाच, श्वेतकालीनाच, हरसिद्धिनाच, सिकालीप्याखं, आकाशभैरवनाच, लाखय् नाच तथा माकःप्याखं र हनुमान्नाचसम्मका विभिन्न परम्परागत नृत्यलाई छुट्टाछुट्टै खण्डमा समेटिएको छ।

पुस्तकमा लोप भइसकेका वा लोपोन्मुख नाचलाई समेत विशेष महत्व दिइएको छ। थैबको देवीनाच तथा पुरानो बनेपाली देवीनाचजस्ता परम्परा अभिलेखीकरण गर्ने प्रयास गरिएको छ भने विभिन्न स्थानमा अझै सञ्चालनमा रहेका नाचको इतिहास, रङ्गकर्मी, गुठी, पूजा, प्रविधि, प्रस्तुति र आर्थिक अवस्थासमेत उल्लेख गरिएको छ।

मुकुन्डोनाच केवल मनोरञ्जनका लागि गरिने प्रस्तुति नभएको लेखकको निष्कर्ष छ। यसले समुदायको पहिचान, धार्मिक विश्वास, सांस्कृतिक तथा सामाजिक परम्परा र सामूहिक जीवनलाई पुस्तौँदेखि जीवित राख्दै आएको प्रदर्शनकारी कलाका रूपमा भूमिका निर्वाह गरेको छ। यसको संरक्षण, विस्तार र थप अनुसन्धानको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा लेखकले जोड दिएकी छन्।

यस अनुसन्धान यात्रामा विभिन्न गुरुहरूको महत्वपूर्ण भूमिका रहेको छ। मलङ्गवा पब्लिक हाइस्कुलका तत्कालीन प्रधानाध्यापक रामहरि जोशीबाट नृत्यप्रति प्रेरणा पाएको उल्लेख गर्दै लेखकले शर्मिष्ठा मास्के, अञ्जली मेहर तथा चर्यानृत्यका गुरुहरू सप्तमुनि, रत्नकाजी र आशाकाजी पण्डितप्रति विशेष सम्मान व्यक्त गरेकी छन्।

पुस्तक तयार पार्ने क्रममा देशका विभिन्न स्थानमा पुगेर नाचको प्रत्यक्ष अवलोकन गरिएको थियो। केही नाच लामो अन्तरालमा मात्र प्रस्तुत हुने भएकाले तिनको अवलोकनका लागि वर्षौँसम्म प्रतीक्षा गर्नुपरेको लेखकले उल्लेख गरेकी छन्। विशेषगरी बाह्र वर्षमा एकपटक प्रस्तुत हुने केही गथुप्याखंको अध्ययन लामो समयको प्रतीक्षापछि सम्भव भएको थियो।

लेखकले मुकुन्डोनाचसम्बन्धी प्रकाशित पुस्तक तथा लेख, संस्कृतिविद्, शोधकर्ता, गुरु, कलाकार, गुठी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट प्राप्त मौखिक इतिहासलाई पनि अनुसन्धानको महत्वपूर्ण आधार बनाएकी छन्। पाँच दशकभन्दा लामो खोज यात्रामा संकलित फोटो, अन्तर्वार्ता, रेखाचित्र र अभिलेखले पुस्तकलाई थप दस्तावेजमूलक बनाएको छ।

संस्कृतिविद् सत्यमोहन जोशीले ‘नृत्य विषय लिएर विश्वविद्यालयसम्म पुग्ने तिमीले यसबारे पुस्तक नलेखे कसले लेख्ने ?’ भनेर दिएको प्रेरणा आफूलाई निरन्तर घचघच्याइरहेको लेखकले स्मरण गरेकी छन्। हरिराम जोशी र तुलसी दिवसले समेत पुस्तक प्रकाशनका लागि निरन्तर प्रेरित गरेको उल्लेख छ।

नेपालका परम्परागत नृत्यको इतिहास, संस्कृति र पहिचानलाई अभिलेखीकरण गर्ने दृष्टिले यो अनुसन्धान यात्रा महत्वपूर्ण रहेको सामग्रीमा उल्लेख छ। विशेषगरी लोपोन्मुख तथा लोप भइसकेका नाचको इतिहास, गुरु–शिष्य परम्परा, गुठी व्यवस्था र प्रस्तुति पद्धतिलाई एउटै दस्तावेजमा समेट्ने प्रयासले मुकुन्डोनाचसम्बन्धी आगामी अध्ययनका लागि आधार तयार गर्ने उद्देश्य राखेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार