
डा. जानुका न्यौपाने
समृद्ध समाजका लागि प्रशंसनीय नेतृत्व परिकल्पनाशील, रचनात्मक, आशावादीता स्वप्नद्रष्टा हुनुपर्छ । सकारात्मक सोचसहितको नयाँ विचार, नयाँ ज्ञान–सरल र सहज जीवन नै अहिलेको सकारात्मक नेतृत्वशैली हो । सकारात्मक सोचको अन्तरसम्बन्ध भनेकै हाम्रो देशमा भएको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक विविधताभित्रको एकता हो । विविधता भएपनि हाम्रो देशको राष्ट्रिय सवाल एउटै हो नि । सकारात्मक परिवर्तनका लागि समय व्यवस्थापन, सर्जिनात्मक र परिवर्तनको स्वीकार्यता भएको हुनुपर्छ ।

संसारमा मानव जीवन नियम भन्दा विपरित हुँदैन । नियमानुसार चल्न हरेक नेतृत्व सिक्न र सिर्जनात्मक बन्न तत्पर र खुशी हुनुपर्छ । जब खुशी भईन्छ तब सिर्जनात्मक बन्न, सिकाई राम्रो हुन खुशी अनुभूति र सकारात्मक प्रश्न गर्न जान्ने र सक्ने बनिन्छ । प्रश्नले नै जवाफको निर्धारण गर्छ त्यसकारण प्रत्येक प्रतिकूलतामा अनुकुलता खोज्न सिक्नु र सक्नु पर्छ । नेताले नागरिकलाई सदैव आशावादी बनाउन सक्नुपर्छ । मानिसको अनुभूति–सिकाई–सम्बन्ध छुट्याएर हेर्न सक्नुपर्छ ।
प्रत्येक व्यक्ति आ–आफ्नो कार्यक्षेत्रमा नेता हो । ऊ अरुभन्दा अद्वितीय (Unique) व्यवहार र चरित्रको हुनुपर्छ । हरेक नेतृत्वमा सिकाईमा निरन्तरता हुनुपर्छ । के सिक्न चाहेको हो नेता आफैं स्पष्ट हुनुपर्छ । नेतृत्व अलमलमा रहनु हुन्न । नेपालका हरेक नेपालीले सकारात्मक वातावरण, अवसर, प्रोत्साहन प्राप्त गरेमा आइन्स टाईन, माओ, गान्धी, नेलशन मण्डेला बन्नसक्ने क्षमता छ । आफूले आफैंलाई चिन्नसक्ने मानिस नै (Bright) प्रभावकारी नेता हो । त्यसकारण अबको समाजलाई समृद्ध बनाउन प्रभावकारी नेता चाहेको छ समाजले ।

नेतृत्व तहगत हुन्छ । निम्नस्तरको सोच भएको नेताले हिजोको कुरा गर्ने, भविष्यको चिन्ता गर्नेगर्छ । मध्यमस्तरको सोच भएको नेताले घटनाका कुरा गरेर सोही घटनालाई दोष लगाएर बस्छ । उच्चस्तरको सोच भएको नेताले नयाँ कुराको सोच, अभ्यास र कार्यान्वयन गर्छ । जुन नेतृत्वले सिद्धान्त प्रतिपादन गर्छ–अभ्यास गर्छ–जीवनशैली अर्थात् व्यवहारमा सकारात्मक परिवर्तन गर्छ–त्यसबाट सिक्छ र नयाँ सिद्धान्त प्रतिपादन गर्छ । यो सकारात्मक नेतृत्वशैली हो ।
जब सिद्धान्त परिवर्तन भएर नयाँ सिद्धान्त प्रतिपादन गर्न सक्छ तब जीवनशैली पनि सकारात्मक रुपमा पपरवर्तन हुन्छ । एउट लक्ष्य पूरा भएपछि अर्को लक्ष्य पूरा गर्न नयाँ सिद्धान्त तय गर्नुपर्छ एक सकारात्मक नेतृत्वशैली भएको नेताले उक्त कार्य सहज रुपमा गर्नसक्छ ।
हामी हरेक दिन ऐना हेर्छौ तर (शिशु) बाल्यकालबाट बढेर यति ठूलो भयौं भनेर हामीले मूल्यांकन नै गरेको हुन्नौं । त्यसकारण हाम्रो सिद्धान्त के थियो ? त्यसले हाम्रो जीवनमा कस्तो असर ग¥यो ? के परिवर्तन आयो भन्ने उपलब्धी थाहापाउने । जसले त्यसरी मूल्यांकन गर्न सक्छ उ विज्ञ हुन्छ । समस्या पहिचानको अवसर र सिकाई, सचेतनाबाट नयाँ सिद्धान्त प्रतिपादन गर्नसक्छ । त्यसपछि नयाँ सिद्धान्त–नयाँ अभ्यास–नयाँ व्यवहार–नयाँ सिकाई र नयाँ सिद्धान्त तय गर्नसक्ने वर्तमान नेतृत्वले क्षमता राख्ने गर्छ भने उ सकारात्मक नेता हो ।

किनकी कुनै एक तहको ज्ञानबाट सिर्जित समस्या सोही तहको ज्ञानबाट समाधान गर्न कठीन हुन्छ त्यसकारण हरेक चरणमा आफैंले आफैंलाई अध्यावधिक गर्दै जानुपर्छ नेतृत्वले । सकारात्मक नेतृत्व शैली भएको व्यक्तिले थाहापाउनै पर्ने पक्ष भनेको समस्यासंग—द्वन्द्व, हिंसाको बारेमा पाईन्छ भने अवस्थासंग—कारण खोजिन्छ, कसरी अगाडि बढ्ने भनेर । हुनपनि विगतको समस्या केलाएर न त मर्मत, प्रवलीकरण, सुधार गर्न सकिन्छ सकिन्न नि ।
विगतको समस्या सम्झेर पुर्पुरोमा हात लगाएर विगतलाई सरापेर बस्नु भनेको जीवनलाई मरणतर्फ उन्मुख गराउनु (Life killing force) हो । जीवनलाई मरणतर्फ उन्मुख गराउनु भन्दा आत्मजागरणसहित (Life Giving force) सिर्जनात्मक बनेर अगाडि बढ्नु नै पहिलो शर्त हो । यहीनेर सानो उदाहरण हेरौं हरेक संस्थाहरु मानौं खाली कागज हुन् । जुन खाली कागज कविको हातमा परे कविता बन्छ, वैज्ञानिकको हातमा परे नयाँ प्रविधिको सिर्जना हुन्छ, गाँजा खानेको हातमा प¥यो भने गाँजा बेरेर खाईन्छ ।



त्यसकारण हामी हरेक मानिस खाली कागज हौं कस्तो आकारमा सजाउने आफूलाई भन्ने कुरा आफैंमा निर्भर रहन्छ । त्यसकारण हामीले अन्तराष्ट्रिय परिवेशलाई भन्दा आन्तरिक परिवेशलाई सकारात्मक तवरबाट अध्ययन गरेर संसरलाई पस्किन सक्नुपर्छ । यसमा हामी सबैको ध्यान जानु जरुरी छ । जबसम्म सपना देखिन्छ तबसम्म जीवन रहन्छ । जब सपना सकिन्छ तब जीवनको अन्त्य हुन्छ । त्यसकारण एक अशल नेतृत्वले असल सपना देख्न र देखिरहन सक्नुपर्छ । आफू जे छौं त्यो नै जीवनको सेतु हो । म के हुँ, के गर्न सक्छु भनेर आफूले आफैंलाई चिनौं । हाम्रो समाजमा देखिएका विसंगती र विकृति विरुद्ध हामी सबै सामाजिक इन्जिनियरको रुपमा स्थापित हुनसक्ने क्षमता छ धर्यता राखौं ।
मानवनिर्मित समूह वा संस्थाभित्र विभिन्न पृष्ठभूमि, अनुभव, दक्षता, क्षमता, योग्यता भएका व्यक्तिहरू रहेका हुन्छन् । यिनीहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराई समूह वा संस्थाको लक्ष्य प्राप्त गर्न अवलम्बन गर्ने सामाजिक प्रक्रियालाई नेतृत्व गर्नु भनिन्छ । नेतृत्वले दूरदृष्टि निर्माण गर्दछ र अरूलाई त्यसप्रति आकर्षण र त्यससँग सम्बन्धित क्रियाकलापमा संलग्न हुने प्रेरणा दिन्छ । विज्ञानले पनि यही भन्छ सकारात्मक सोच–सिर्जनात्मक सोच– रचनात्मक सोच भएमा नेता र नेतृत्वका अनुयायीहरु साथमा हुन्छन् ।
कुनै पनि सकारात्मक सोच भएका मानिसको नाम, थर, ठेगानाले मात्र परिचय पर्याप्त नहोला । कुनैपनि घटना, जीवन विज्ञान, नियमसंग जोडिएन भने सकारात्मक काम, नाम, परिणामबाट नेतृत्व शब्द, नेताबाट आएको हो । नेता भनेको कुनै पनि समूहलाई अगुवाइ गर्ने, प्रोत्साहित गर्ने र बाटो देखाउने व्यक्ति हो । नेताले कुशलतापूर्वक आफ्ना अनुयायीहरूलाई सामूहिक लक्ष्यतर्फ उन्मुख गराउँछ भने उसको त्यो अगुवाइ भूमिका नै नेतृत्व हो । नेतृत्व भनेको समूहलाई प्रभाव पार्ने र नेताले सोचे अनुरूप कार्य गर्न प्रोत्साहित गर्ने कला वा प्रयास हो अर्थात् नेतृत्व भनेको परिस्थितिअनुसार निश्चित लक्ष्य प्राप्त गर्नका लागि व्यक्तिहरूलाई प्रोत्साहित गर्ने क्षमता हो ।
नेतृत्व एउटा गुण हो, जुन प्रत्येक व्यक्तिमा लुकेको हुन्छ । अर्थात् हरेक व्यक्तिभित्र नेतृत्व गर्ने नेता बन्ने गुण लुकेको हुन्छ । आफूभित्र सुषुप्त अवस्थामा रहेको नेतृत्व गुणको विकास गर्नु व्यक्तित्व विकास पनि हो । समूहको नेता हुनु भनेको आफूलाई मालिक सम्झिने होइन र म आदेश दिन्छु तिमी मान भन्ने सोचको विकास उनमा हुनुहुँदैन । समूहलाई घोडा ठान्ने र आफूले रथ हाक्ने प्रवृत्ति नेतामा हुनुहुँदैन ।
नेतामा नियम हुनुपर्छ । नियम भनेको सबैकोलागि राम्रो गर्नु हो । जङ्गलमा जनावरहरूले आफ्ना सन्तान बाहेक अरूको ख्याल गर्दैनन् । तर मानिसहरूले अरूको ख्याल गर्ने हुँदा मानिसलाई सबै प्राणीमा विशिष्ट मानिएको हो । त्यसैले समूहको नेताले आफ्ना समूहका सबै सदस्यहरूको सम्मान गर्नुपर्छ ।
आफ्नो र आफ्ना निकटतमहरूमा मात्रै आफूलाई केन्द्रित गर्दा असल नेताको नियमविपरीतको कार्य हुन्छ । नेता सबैको साझा अभिभावक बन्नुपर्छ । जसरी भमराले फूलको रस लिने बेला फूलको रङ वा सुगन्ध बिगार्दैन त्यसैगरी आफ्ना अनुयायीहरूबाट नेताले लाभ लिने मात्रै होइन तिनको सुन्दरतामा अझ निखार ल्याउने काम गर्न सक्नुपर्छ । जुनसुकै क्षेत्रलाई गति दिनका लागि, दिशा प्रदान गर्नका लागि प्रभावकारी नेतृत्व चाहिन्छ । प्रशंसनीय नेतृत्वको अगुवाईमा एउटा परिवार पनि खुसी र सम्पन्न हुन सक्छ ।
एउटा समाज रचनात्मक दिशामा लम्कन सक्छ र एउटा राष्ट्र अग्रगामी बाटोमा हिँड्न सक्छ अर्थात् समग्र विकासका लागि कुशल नेतृत्वको आवश्यकता पर्दछ । यस अर्थमा परिवर्तनका लागि आत्मविश्वासले भरिएको इमानदार, प्रतिबद्ध, धैर्यशील, पारदर्शी र सकारात्मक दृष्टिकोण भएको, जिम्मेवारीलाई बहन गर्ने क्षमता भएको नेतृत्व हुनुपर्छ ।
समाजका प्रत्येक एकाइमा नेतृत्वको संस्थापन गरिएको हुन्छ । राज्यको उत्पत्तिसँगै नेतृत्वको संस्थापन भएको इतिहास पाइन्छ । नेतृत्व भनेको समाज डो¥;याउने साधन हो । उक्त साधन उत्तम भयो भने सही बाटोमा हिँडेर गन्तव्यसम्म पुग्न सकिन्छ । नेतृत्वको अभाव भनेको भीड हो, अन्योलता हो, अराजकता हो र दिशाहीनता पनि हो त्यसकारण प्रशंसनीय नेतृत्व आवश्यक छ ।

नेतृत्वका लागि नैतिक शक्ति महत्त्वपूर्ण पुँजी हो । यसको साथमा ऊ प्रेरक हुन सक्छ । नैतिकताको अर्थ अन्धाधुन्ध कुनै निश्चित नियमहरूको सूची पालना गर्नु मात्र होइन । यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्बन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति विश्वस्त हुनु हो । नैतिकताको दृढ अभ्यासले हामीलाई सबैसँग मित्रतापूर्ण सम्बन्ध बनाउन सहयोग गर्छ ।
नेतृत्व आफैंमा सहज बनाउँन सक्नुपर्छ । नेतृत्व केवल विचारले गर्दछ । विचारको नेतृत्व चेतनाले गर्छ । चेतनामा विकास हुनका लागि स्वअध्ययन पहिलो काम हो । विचार आफैमा फराकिलो हुन्छ । त्यसभित्र सामूहिकता रहेको हुन्छ । समानता, आर्थिक विकास, उच्चतम सकारात्मक सोच र विकासोन्मुख धारणा विचारका सुन्दर पक्ष हुन । यहीभित्रको दायरामा रहेर नेतृत्वले नेतृत्व गरेमा परिवर्तन र समृद्धि टाढा छैन ।
दुरदर्शी विचारसहितको नेतृत्व भनेको १० वर्ष पछाडिको समयलाई अगाडि तानेर सिर्जनात्मक, रचनात्मक योजना बनाउने क्षमता हो । आफूसँग विचार र विवेककोे भण्डार अथाह हुन्छ तर त्यसको उच्चतम प्रयोगनै प्रशंसनीय नेतृत्वको खुबी हो । नेता नीति, विधि प्रधान हुनुपर्छ । हामीले टेकेको धरातल र बुझीएको धरातल फरक हुनुहुदैन ।
नेतृत्वको परीक्षाविपरीत र विषम परिस्थितिमा हुने गर्दछ । अनुकूल अवसरमा देखा परेको नेतृत्व प्रायः ऐतिहासिक हुँदैन । सङ्घर्ष र प्रतिकूलताले जन्मेको नेतृत्व आफ्नो क्षेत्रमा कोसेढुङ्गा साबित हुन्छ । योग्य र अनुभवी नेताहरूले विश्व इतिहास रचेका छन् । इतिहासको पाना पल्टाउँदा नेपोलियन बोनोपार्ट, विस्टर्न चर्चिल, जर्ज वासिङ्टन र महात्मा गान्धी जस्ता नेताहरूले आफ्नो कुशल नेतृत्वद्वारा जनताको मार्गदर्शन गरेको सर्वविदित नै छ ।

नेता बन्न लाखौँ मानिसको भीडलाई पछाडि लगाउनु पर्दैन । न त चर्को आवाज हुनु जरुरी छ । असल नेता हुन उसमा बलियो इच्छाशक्ति, आत्मविश्वास, अरूलाई अभिप्रेरित गर्नसक्ने क्षमता, जिम्मेवारी र उत्तरदायित्वको भावना, प्रभावकारी सञ्चार सीप, इमानदार सोच र चरित्र तथा त्यागको भावना जस्ता गुण विद्यमान हुनु जरुरी छ । ठूलो नेता उसको पछाडिको भीडले होइन यथार्थपरक लक्ष्यले निर्धारण हुनुपर्छ र लक्ष्यसँगै उसमा मूल्य मान्यता र आदर्श हुनु जरुरी छ ।
कुशल नेतृत्वको गुण भनेको निश्चित समयसम्म नेतृत्वमा बसेपछि नेतृत्वको हस्तान्तरण गर्नुपर्छ भन्ने सोच सहितको व्यवहार पनि हो । तत्पश्चात एउटा अभिभावकको भूमिकामा बस्न सक्ने प्रवृत्तिको विकास हुनुपर्छ ।
विकास र समृद्धिका लागि प्रशस्त सम्भावना र स्रोत साधन हुँदाहँुदै पनि हरेक क्षेत्रमा प्रशंसनीय नेतृत्वको खोजिरहेको छ हाम्रो स्रोत, सम्भावना र अवसरले । निरन्तर लगनशीलताले सफलता मिल्छ तर पहल निरन्तर परिवर्तनको लागि गर्न जरुरी छ ।
त्यसकाराण दैनिकी धान्ने नेतृत्व होइन । दैनिकी बदल्ने नेतृत्व आजको आवश्यकता हो । खोल ओढेर र पूर्वाग्रह नराखी एकपटक सोच्नुपर्ने भएको छ । यो देशलाई अब साँच्चिकै माया गर्ने सचेत नागरिक, सचेत नेतृत्व चाहिएको छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij