Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर नगरलाई सभ्य, सुन्दर र भव्य राख्ने अभिभारा कसको ?

भीमेश्वर नगरलाई सभ्य, सुन्दर र भव्य राख्ने अभिभारा कसको ?

=== भष्ट्रचारमुक्त स्वस्फुर्त स्थानिय जनसहभागीता नै विकासको मुल प्रवाह हो ===

ऐतिहासिक एवम् पौराणिक शहर दोलखालाई सदैव हराभरा, सुन्दर र सभ्य बनाई राख्ने अभिभारा स्थानीय बासिन्दाको त हो नै तथापि स्थानीय बस्ती, टोल र नगरबासीको सुरक्षा, विकास र समुन्नत बनाइ राख्ने उत्तरदायित्व स्थानीय निकाय अन्तर्गतको नगरपालिका र वडापालिकाको पनि त हुन आउँछ । यो भनी राख्नुपर्ने कुरा होइन जस्तो लाग्छ ।

आफ्नो नगरलाई सफा सुन्दर बनाउन र निरन्तरता दिन सँधैभरीको चाडपर्व र उत्सवको बाटो कुरेर बस्नु पनि त सामाजिक हिसाबले अनुपयुक्त होला । नेपाल सरकारको स्थानीय सरकारले हरेक महिना वर्षको लेखाजोखा गरेर राजस्व संकलन गर्नलाई जसरी ताकेता गरेर ढिलाइ भएमा वा नबुझाएमा जरिवाना हर्जना समेत उठाउन लागिपरे जस्तै स्थल र स्थानको विकास गर्न र सुन्दर बनाउन पहलकदमी गरेनन् भने स्थानीय पदाधिकारी बनेर रहनुको औचित्य के त ?

विगत केही दशक वर्षदेखि नै हरेक दशैं तिहार र गुन्ला जात्रामा दोलखा शहरलाई सफासुग्घर बनाउनका लागि हरेक चाडपर्वमा काडमाडौंमा रहेका दोलखाली सामाजिक संस्थाहरू कालिन्चोक युवा क्लव, द्वाल्खा गुठी, तिलिन्चो परिवारका सदस्य लगायत स्थानीय भद्र भलाद्मी र युवाहरू मिलेर सफाइ अभियान चलाइरहेको यथार्थ चित्रण सबैको मानस्पटलमा छाइरहेकै होला । ती कुरालाई जो कोहीले हृदयङ्गम गर्न जरुरी छ ।

भीमेश्वर नगरपालिकाका विभिन्न शाखामध्ये नगर सफाइ पनि त राखेकै हुँदा हुन् । ती शाखाले सबै वडालाई आवश्यक्ता अनुसारको बजेटको व्यवस्थापन गरेर परिचारकहरू खटाउने गरेको कुरामा पारदर्शिता नदेखिनु केन्द्रमा मात्र लक्षित गर्नु अलिक उपयुक्त देखिंदैन भन्ने विभिन्न वडा संग सम्बन्धित स्थानीय बासिन्दाको गुनासोलाई नगरपालिकाले चासो राख्न जरुरी छ ।

यही नगर सरसफाइको प्रसङ्गमा ऐतिहासिक शहर दोलखामा गुँला पर्वको पूर्व सन्ध्यामा स्थानीय पाखलति टोल विकास समितिको आयोजनामा अध्यक्ष अमृतबहादुर श्रेष्ठको अगुवाइमा टोलका जेष्ठ नागरिक समाजसेवी गणेशबहादुर श्रेष्ठ, सामाजिक अभियन्ता शान्तकृष्ण श्रेष्ठ समेत सम्मिलित भएर सम्पूर्ण टोलवासीहरुको सहभागितामा विगत ३ दिनदेखि बिहान २ घण्टा टोल विकासका क्षेत्रहरुमा सरसफाई कार्यक्रम भइरहेको छ ।

समितिले १ सय ३७ जना घर धुरी सदस्य भएको टोलको सरसफाई कार्यक्रममा हरेक घरबाट १ जना अनिवार्य उपस्थित हुनुपर्ने नियम बनाएको अध्यक्ष अमृत बहादुर श्रेष्ठले जानकारी दिएका छन् । सरसफाई जनैपुर्णिमाको दिन मेला लाग्ने क्षेत्र, बजार क्षेत्र, टोल टोल, कुलो, गल्ली, गोरेटो बाटो र मुल सडकको दायाँबायाँ सरसफाई गरिएको उनले बताए ।

टोल विकास समितिलाई राज्यको तल्लो निकायको रूपमा स्थापित गर्ने लक्ष्य लिएको महासचिव अजय प्रधानको भनाइ छ । टोल विकासको क्षेत्र भित्र पर्ने सार्वजनिक संघ संस्था, शैक्षिक संस्था, वित्तिय संस्था पनि संस्थागत सदस्यता वितरण गर्ने निर्णय गरेको सचिव सपना श्रेष्ठले जानकारी दिइन् ।


पूर्वमा पुखुर्चा ओमशान्ति, पश्चिममा तुतुरवति, उत्तरमा त्रिशुलचा, सियौडाडा, दक्षिणमा पालचुटी रहेको सो टोल विकास समितिलाई जिल्लाकै नमुना समिति बनाउने लक्ष्य रहेको उपाध्यक्ष कृष्ण कुमारी जोशीको भनाई रहेको छ ।

दोलखाको नामैले सुन्दरताको उपमा पहिरहेको छ, निर्मल तामाकोसीको जल जस्तै मन बनाएर, चाँदी जस्तै टल्कने गौरीशंकर हिमाल जस्तै भावना जगाऔँ र दुबो जस्तौ हरियाली शहर बनाउन स्थानीय निकाय, स्थानीय बासिन्दा लगायत दोलखाली रगत बोकेर परदेसिएका र विदेशिएका आम दोलखाली महानुभावहरुमा हाम्रो दोलखा र हामी दोलखाली एक हौं भन्ने भावना जागोस् र जगाइ राखौँ भन्ने अभिलाषाका साथ गुन्ला जात्रा २०८० को हार्दि शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार