Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर नगरपालिकाको बजेटमा अटाएन दोलखाका मौलिक पहिचानका शिर्षकहरू

भीमेश्वर नगरपालिकाको बजेटमा अटाएन दोलखाका मौलिक पहिचानका शिर्षकहरू

भीमेश्वर नगरपालीका दोलखाका उप प्रमुख कमला बस्नेतले भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष ०८०÷८१ को लागि ८१ करोड १२ लाख बजेट विनियोजन गरेको छन् । प्राचिन शहर दोलखा लगायत नगरपालीका भित्रका १ देखि ९ सम्म रहेका नेवार, तमाङ, थामी, गुरुङ र शेर्पा जातीको पहिचानसंग जोडिएको संंस्कृति, सम्पदा, मातृभाषा, लिपि र परम्पराको संरक्षण र निरन्तरताका लागि भनेर कुनै शिर्षक उपशिर्षक भनेर छुट्याइएको पाइएन । यस बारेमा सम्वन्धीत वडाका वडाध्यक्षहरु पनी मौन देखिएका छन् ।

के ती शिर्षकहरूमा बजेट उपलब्ध गर्न गराउन प्रस्तावना नै पेश गर्नुपर्ने हो र ? यसरी भीमेश्वर नगरपालिका भित्र बिभिन्न जातजातिको बसोबास छ । विशेषतः आदिवासी जनजातिको हिसाबले यहाँ मुख्यतया पाँच जातीको बसोबास रहेको छ । जसमा नेवार, तमाङ, थामी, गुरुङ र शेर्पा रहेका छन् । यसका अलावा बाह्मण, क्षेत्री र दलित समूदायका सदस्यहरु बसोबास गरेको पाईन्छ । समष्टिगत रुपमा तामाङ, नेवार, थामी, गुरुङ, शेर्पा जातिको स्थाई बसोबास रहेको र प्राचिन साँस्कृतिक धरातल भीमेश्वर नगरपालीका भित्र पर्दछ ।

यहाँको मौलिकता भन्नु नै ती आदिवासी जनजातिकै मातहतमा त्यो ठाउँको पहिचान खुलेको छ । यस्तो साँस्कृतिक गरिमा बोकेको नगरपालीका भित्र रहेका जातजातीको पुराना मौलिक बाजा, भजन, जात्राहरू क्रमशः लोप हुँदै जाने अवस्थालाई मध्यनजर राखेर यसको स्थायित्वलाई ध्यान दिनुपर्ने अर्को तिर महत्वपूर्ण आवश्यक रहेको छ ।

प्राचिन शहर दोलखाको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, धार्मिक पर्यटनको दृष्टिकोणले हेर्दा पनि यस नगरपालिका भित्र यी कुरालाई बजेटको आवश्यकताको महसुस गरेर विनियोजन गर्नुपर्ने देखिन्छ जसले भीमेश्वर नगर अनी सिङ्गो दोलखा जिल्लाको पहिचान र मौलिकता दिन सफल भएको छ । यता केन्द्र र प्रदेशको तर्फबाट बजेट विनियोजन गरिएको भएपनि स्थानीय स्तरमा आवश्यक शिर्षकको तयारी गरिनु पर्ने दायित्व नगरपालिका र सम्वन्धीत वडाको सक्रियता रहनु पर्ने जस्तो लाग्छ तर यस कुरालाई ध्यान दिएर प्राथमिकता भित्र पारेको देखिन्दैन ।

भीमेश्वर नगरपालिकाको धार्मिक केन्द्रको रूपमा रहेको भीमेश्वर मन्दिर रहेको प्राचिन शहर दोलखामा वर्षैभरि चलाइने धेरैभन्दा धेरै चाडपर्व जात्रामात्राहरु रहेका छन् । त्यसमा पनि भीनपा– २ मा नेवार जातीको मात्र बसोवास रहेको नभई त्यस भित्र तमाङ, थामी, दलितका साथै बाह्मण क्षेत्रीको बसोबास रहेको छ ।

लिच्छवी र मल्लकालिन पहिचान दिलाउने प्राग ऐतिकासिककालीन नेवार जाती, लिच्छवी वंश देखि बिंडो थामेर बसेका तामाङ, किरातकालीन सभ्यता देखिका थामी जाती यस भित्रका मुख्य बासिन्दाको रुपमा स्थापित हुर्दै आएको हामीले पाउँछौं । यसै गरी उनीहरुको मौलिक भाषा र सभ्यता अनि सस्कार, रीतिरिवाज नेपालको इतिहासको प्रारम्भको रूपमा लिइएको छ । तर त्यही जातीको भाषा, लिपि, सभ्यता र संस्कृतिप्रति भीमेश्वर नगरपालिकाको ध्यान नपुग्नुको कारण किन हो भनेर यहाँको स्थानिय वासिन्दाहरुले प्रश्न उब्जाएको पाईन्छ । के अहिलेका जन प्रतिनिधिहरूको दोलखाको आदिवासी जनजाति प्रति केही उत्तरदायित्व छैन र ? यो जुन कुरा हामीले उठाएका छौं त्यो नगरपालीका र सम्वन्धीत वडाका प्रतिनिधीहरुलाई दोष दिन भनेको पक्कै होईन । यो यर्थातपरक भएकोले खबरदारी मात्र गरेको हो ।

यहाँ रहेका हरेक जातजातिको आ–आफ्नै संस्कृती र परम्परा रहेको छ जसले आफ्नै मौलिक पहिचान बोकेको पाईन्छ । जुन कुरालाई चाहेर पनि आर्थिक स्रोतको अभावका कारण निरन्तरता दिन सकिरहेका छैनन् ।

यसै गरी पौराणिक मौलिक संगीत साधन र साधकलाई नियमित सञ्चालन गर्न सकिरहेका छैनन्, पुराना र प्राचीनता झल्काउने जात्राहरू औपचारिकतामा मात्र सीमित भएका छन् । नेवार, तमाङ, थामी, गुरुङ र शेर्पा जातीको भेषभुषा र वाद्यवादकको अभावले खुलेर जात्रामात्रा सञ्चालन गर्न कष्टकर छ । यसका लागि आवश्यक संयन्त्रको व्यवस्था गरेर प्रशिक्षण दिलाउने काम पनि त नगरपालिकाको होईन र ? होइन भने सिङ्गो परिवेशलाई भीमेश्वर नगरपालिका भित्र समेटिनुको के अर्थ रह्यो र ?

दोलखाको मौलिकता र प्राचीनताले नै हामी दोलखावासी हुनुमा गर्व लाग्छ यसै गरी यस भित्र बसोबास गर्ने नेवार जातिले बोल्ने नेवारी भाषा र दोलखा भिमेश्वरले दोलखाको भिन्न पहिचान दिन सफल भएको छ । जुन कुरा ईतिहासदेखि बर्तमानसम्म आईपुग्दाका ज्वलन्त उदाहरणहरु धेरैभन्दा धेरै छन् । जुन तथ्यलाई यस संग सम्वन्धीत भएर अध्ययनकर्ता र शोधकर्ताले यही कुरालाई अगाडी सारेर अगाडी आएको पाईन्छ । दोलखाको नेवारी भाषा नै ऐतिहासिक भाषा र लिपि प्राचीनताको प्रतीक हो भनेर भाषणमा मात्रै सिमीत राख्ने कि यसलाई निरन्तर राख्न केही पहल कदम चाल्ने हो भनेर वडा नं. २ का जनप्रतिनिधिले पनि मुख खोल्ने ? यसको जवाफ कसले दिने ?

प्राचिन शहर दोलखा संगै नगरपालीकाको राङराङ थली, डोकथली राम्पा र फुलपा तिरका थामीहरूको भूमे जात्रा, झाँक्री जात्रा, दिलढुङ्गाको धान्य पूर्णिमा जात्रा र मारुनी नृत्यले थामीहरूको संस्कृति र परम्परालाई कति आकर्षक चहक दिएको थियो तर अहिले आएर ती चाडपर्व र जात्रामात्राहरु किन लोप हुँदै गए ? त्यसलाई जिवन्त राख्ने अभियान नगरपालिकाले गर्न जरुरी छ की छैन त ? त्यसका लागि पनि त स्थानीय निकायले बजेटको अवधारणा ल्याउनु पया थियो होईन र ?

प्राचिन शहर दोलखामा विशेषगरी वडा नं २ मात्र नभएर वडा नं. १ देखि ९ नं वडासम्म नै तामाङ बस्तीहरू छरिएर रहेका छन् ती तामाङ समुदायको पनि आफ्नै खालको मौलिक पहिचान रहेको छ । तामाङ सेलो नृत्य तथा गायन क्षेत्रमा तामाङ झण्डै दोब्बर अगाडि देखिन्छ । जुन तमाङ समुदायलाई उनीहरुको मातृभाषा र संस्कृती अनी परम्परा बचाउन अहिले धौधौ परेको देखिन्छ ।

जसरी हुन्छ नेपाली (खस भाषा) बोल्न बाध्य पारेको देखिन्छ । आफ्नो मातृभाषा बोल्नु पैतृक र नैसर्गिक अधिकार हो । भावी पुस्ताले ती भाषालाई नभुलोस् भनेर शिक्षा र जागरणयुक्त जनमुखी कार्यक्रम ल्याएर नगरपालिकाले पारित गरेको शिक्षाको लागि छुट्याइएको २८ करोड चानचुनको बजेटले नगरपालीका भित्रको प्राचिन शहर दोलखा अनी यस भित्र रहेका विभिन्न जातजातिका धर्म संस्कृती, भाषा, लिपि र साँस्कृतिक परम्परागत विषयलाई पनि समेट्ने काम गर्दै आन्तरीक बाह्य पर्यटकहरुलाई आमन्त्रणको लागि बढवा दिने कार्य हुनेछ भन्ने अभिलाषाका साथ केही धारणालाई यहाँहरुको माझमा राखी बिट मार्ने अनुमति माग्दै विदा भयौँ । जय भिमेश्वर, जय दोलखा ।

https://youtu.be/7__5uizqYrQ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार