Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर नगरपालिकाको वडा कार्यालय निर्माणले ढाकिने भो साँस्कृतिक आगन !

भीमेश्वर नगरपालिकाको वडा कार्यालय निर्माणले ढाकिने भो साँस्कृतिक आगन !

प्राचीन शहर दोलखाको आँगनहरू दिनप्रतिदिन मासिँदै गएको छ । डबलीहरू एकएक गर्दै भासिँदै गएको छ, विरोधका आवाजहरू कुनाकाप्चातिर उकासिंदै गएको छ । आन्तरीक मिलो मतियारका पारखीहरू हतासिंदै आएका छन् । न मयार्दाले गतिशील पाएको छ । न त इमान्दारको इमानमा चेतनशील पाएको छ । बोल्नेको पिठो बिकेको छ नबोल्नेको चामल कुहएिको छ ।

जहाँ हरेक खालका मानवीय धारणाहरू प्रस्फुटित हुन्छ, चेतनाको झ्याली पिटिन्छ, तर संस्कृतिमाथि विकृतिको धावा बोल्दा न विरोधका आवाज निस्किन्छ न त परम्परा जोगाउने गतिविधिको प्रशंसा नै गरिन्छ ।

प्रसङ्ग भीमेश्वर नगरपालिका वडा नं. २ को नव निर्मित भवनको हो । पहिलेको पञ्चायत भवन रहेको घर २०७२ सालको विनाशकारी भूकम्पको कारण दोलखाको त्यो पञ्चायत भवन समयको पविर्तन संगसंगै राणाशासन, शाहशासन, लोकतान्त्रिक शासनमा आएर पछि गाविस भवनमा परिणत भयो । जस्ताको छानाले छाएको त्यो कार्यालय भवनमा गाउँका मुद्धामामिला हेर्ने र सुनुवाइ गर्ने न्यायालय मात्र भएन, त्यहाँ संस्कृति र परम्परा जोगाउने भजनमण्डल पनि बनेको थियो । दलिन भाँच्चिए पनि, पर्खाल बाङ्गिए पनि घाँसका पोथ्राले पर्खाल ढाकिए पनि जसोतसो त्यो भवनले हरेक तरिकाबाट दोलखाको शोभा बढाइदिएको सर्वविदितै छ ।

त्यही पञ्चायत भवनको दलानमा कहिले कचहरीको काम हुन्थ्यो, कहिले स्वास्थ्यसेवाको अस्पताल बन्थ्यो, कहिले बालमन्दिर पाठशालाको काम हुन्थ्यो, कहिले हाथ्वँ राख्ने प्रदर्शनीकक्ष हुन्थ्यो । अझ कहिलेकाहिँ त दर्शककक्ष पनि हुने गथ्र्यो । यतिमात्र होइन कहिलेकाहिँ त काञ्जिहाउसको काम पनि हुन्थ्यो । जे जस्तो भएपनि त्यो भवनको गौरवपनको बयान गरेर साध्य नै नहोला । अझ त्यस भवनको सामुन्ने भएको आँगनमा सभा हुन्थ्यो, जात्रा हुन्थ्यो, खेल हुन्थ्यो, बिस्कुन सुकाउने आँगन हुन्थ्यो ।

त्यो भवनको नजिकै रहेको श्यामनारायण मन्दिरको प्राङ्गगणमा दोलखाका हरेक ऐतिहासिक, सामाजिक, राजनीतिक, धार्मिक नाटक साँस्कृतिक नृत्यहरू मञ्चनहुँदा त्यही भवनकै आँगनमा बसेर सुकुल ओछ्याएर दर्शकहरू भरिभराउ हुन्थे । हरेक हिलेजात्राको अवसरमा लाखे नचाउने मूख्य चोकको रुपमा परिभाषित भएको त्यो ठाउँ अब नरहनेभो । यसैमा दुःख व्यक्त गर्छन स्थानिय दोलखावासी ।

फराकिलो र गहकिलो भाषणले ओतप्रोत भएको त्यो ठाउँमा संकीर्ण र संकुचित मानसिकता कसरी उत्पन्न भयो । लोभ र लालचले कसरी डेरा जमायो, सोचेर ल्याउँदा पनि मन कुँडिएर आउँछ, हृदय छियाछिया भएर आउँछ, त्यही भवन अनि चौर अघिल्तिरको रानीपोखरीकोे इतिहासलाई यही पञ्चायतले उजागर पारेको थियो । तर अहिले नयाँ वडा कार्यालय भवन निर्माण हुन लाग्दा फराकिलो मनले भरिएको दिग्गजहरूको शहरमा बिचार संगसंगै ऐतिहासिक ठाउँ नै सांघुरिंदै गएको छ । यो तितो तर यर्थात यही छ ।

पहिलेकै जस्तै तीनकोठाको भवन निर्माण गराएर माथि दुईतला थपेर बनाउँदा पनि कार्यालय सञ्चालन गर्न यथेष्ट पुगिहाल्थ्यो होला । दुईवटा कोठा तल जमीन सतहमा बनाएर एउटा कोठालाई भर्याङको भाग छोड् बनाए पनि उत्तम हुन्थ्यो होला । आँखिर अगाडि ९ फिट बढाएर दोब्बर कोठा बनाउन खोज्नुको औचित्य के हो र ? न त त्यहाँ इजलासको जरुरीछ, न त व्यापारी प्रयोजनमा प्रयोग गर्न सकिन्छ । न त भाडामा लगाउन त्यस्तो कुनै ठूला ठूला विद्यालय, महाविद्यालय अनि कल कारखाना नै छ । न त त्यस्तो सभा सम्मेलन गर्न नै खाँचो परेको छ । नजिकै त्यत्रो विशाल राजकुलेश्वर आधारभूत विद्यालय छ । जहाँ सभाकक्ष, मञ्चनकक्ष डङ्डङ्ती खाली परेको छ । यो हामीलाई थाहा भएकै कुरा हो ।


पुरानै ठाउँमा आफ्नै जग्गामा वडा कार्यालय निर्माण गर्न खोज्नु खुसीको कुरा हो । तर सार्वजनिक सम्पत्ति भनेर पुरातात्विक श्यामसुन्दरमा रहेको श्यामनारायणको मन्दिर र धार्मिक नृत्यनाटक देखाइने ऐतिहासिक डबली नै छेकिने गरि खालि ठाउँ भनेर वडाकार्यालयको भवन निर्माण गर्न जग खनेर पनि पिलर ठड्याउँदा पनि रैथानेहरू मुखमा दही जमाएर कानमा तिलको तेल हालेर बसेको देख्दा अचम्म लाग्छ । के त्यत्ति कुराको प्रतिवाद गर्न पनि परदेसिएका दोलखाली नै ओइरो लाग्नु पर्ने हो र ?

दोलखाकै हितका लागि केही कार्यक्रम गर्न खोज्दा कुनाकुनामा गौँडागौँडामा बसेर विवादित तर्क पैmलाउनेहरूले ती साँस्कृतिक बाटो, माटो र पाटोको अधिकारको लागि आवाज उठाउन नसक्नुको कारण के हो त ? कतै आन्तरीक मिलोमतोमा एकता भएको कारणले त होइन ? होइन भने अहिले बन्न लागेको वडा कार्यालय भवनले दोलखाको ऐतिहासिक परिसर रानीपोखरी, दर्बार क्षेत्र, श्यामनारायण मन्दिर र डबलीको अस्तित्वलाई धरापमा पार्न खोजेका छन्, त्यो तल्लो टोलको श्यामसुन्दर परिसर मात्रलाई अवरोध गर्न खोजेको होइन कि सिङ्गो दोलखाको अस्तित्वलाई नै आँखा चिम्लेर धराशायी बनाउन खोजेका छन् भन्दा फरक नपर्ला ।

यदि यतिबेला सबैजना कानमा तेल हालेर मुखमा दही जमाएर बस्ने हो भने सिङ्गो दोलखाको मठ मन्दिर चैत्य स्तूपा हाथ्वँ र बज्रतारा (राजा)को मूर्ति विलय भए जस्तै हराएर जानेछ । यसमा दोष वडाकार्यालय र नगरपालिकाको मात्र होइन तमाम हामी दोलखाबासीको हो भनेर महशुस गर्न जरुरी छ ।

केही छलफल, केही कार्यक्रममा उपस्थित हुन सञ्चारबाट बारम्बार सूचना सम्प्रेषण गर्दा पनि हामीलाई बोलाएकै छैन भनेर मून्टो बटारेर हिँड्ने, यो ठाउँलाई अघिपछि सँधै हेर्ने हामी नै हौँ, दुई दिन काठमाडौंबाट आएर मोबाइलले फोटो खिँचेर प्रचारमुखी बन्नु छैन भनेर खिल्लि उडाउनेहरूले सम्पदा संस्कृतिको सम्पत्तिमाथि अदृश्य शक्तिले हस्तक्षेप गर्दा किन मौन ? के त्यो कार्यको रोकथाम गर्न पनि रास्नीमा बुग्द्यउ तान्नलाई भीड ओइराए जस्तै बाहिरैबाट गाडी रिजर्भ गरेर ल्याउनुपर्ने हो र ? चेतना कहिले आउने ???

यो लेख हामीले वडा कार्यालय बनेको विरोधमा यहाँ प्रस्तुत हुन खोजिएको चाही पक्कै होईन । सार्वजनिक मठ–मन्दिरको अस्थित्व जोगाउनुको सट्टा विलय जाने अवस्थामा पुगेको हुदाँ पनी किन हामी दोलखावासी मौन छौं ? जमिन कोठा दुईकोठा बनाएर पहिलो तल्लादेखि अर्को थप कोठा निकालेको भएपनी हुन्थ्यौ भन्ने स्थानिय वासिन्दाहरुको गुनासो रहन्दा रहन्दै पनी किन सुनुवाई भएन ? यो विषयमा हामी सम्पूर्ण दोलखावासीले ठण्डा दिमागले सोच्नु पर्छ जस्तो लाग्छ । सार्वजनिक सम्पतीको उपयोग गर्नेबेलामा हामीले सार्वजनिक रुपमा सर–सल्लाह गरेर नै गर्दा राम्रो हुन्छ होला । यसको लागि स्थानिय निकायको वडा प्रमुख र नगर प्रमुखज्यूले आवश्यक पहल गर्नु पर्ने देखिन्छ ।

(हाम्रो कलम स्थानिय वासिन्दाको गुनासोको आधारमा यर्थाथ परक)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार