
बाँपीझ्याला, काठमाण्डौं । परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रूपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
बाबुबाजेले गरेको कृषिको तुलनामा किवी खेतीले राम्रो फाइदा भएको यहाँका किसान बताउँछन् । अन्य खेतीबाट भन्दा किवी खेतीबाट पाँच गुणाभन्दा बढी फाइदा लिएको पूर्वखोला–२, जल्पाकी किसान मीनादेवी कवरमगरले भन्नुभयो, ‘मकै, कोदो, गहुँ तथा तोरी लगाउने बारीमा अहिले किवीका बोट लगाएका छौँ, किवीबाट पाँच गुणासम्म फाइदा हुने रहेछ ।’
किवी खेती गर्न उत्साहित भएका यहाँका किसानलाई उपयुक्त भूगोल र हावापानीले साथ दिएको छ । मकै लगाउँदा बाँदरको आक्रमण सहनुपर्ने र मकै नफल्ने समस्या थियो, पूर्वखोला–२, का वडा अध्यक्ष नीरबहादुर सारुले भन्नुभयो, ‘किवी खेती लगाएपछि किसानलाई बाँदरको समस्या पनि हट्यो, फाइदा पनि राम्रै भयो ।

सात वर्षअघि गाउँका केही युवाले किवी खेती गरेपछि त्यसको सिको गर्दै जल्पाका महिलाले सामूहिक किवी खेती सुरु गरेका वडा अध्यक्ष सारुले बताउनुभयो । किवी खेतीबाट राम्रो फाइदा भएपछि जल्पाका महिलाले एक हजार किवीका बोट विस्तार गरेका छन् । किवी खेतीका लागि पूर्वखोला गाउँपालिकाले आवश्यक तालिम, बीउ तथा प्राविधिक सहयोग गरेको छ ।
दुई वर्षअघि लगाएको किवीले यो वर्षदेखि नै फल दिन थालेको किसान बताउँछन् । एक पटक लगाएपछि पुन पटक–पटक दुःख गर्नु नपर्ने, बजारको खासै समस्या नहुने, अन्य खेतीबाट भन्दा राम्रो फाइदा लिन सकिने किसानको भनाइ छ ।
जिल्लाको माथागढी गाउँपालिकाका किसान समेत किवी खेतीमा आकर्षित भएका छन् । जिल्लाको बहादुरपुर, कसेनीको ओलेस, रहबासलगायतका स्थानमा किसानले परम्परागत खेती छाडेर किवी लगाउन थालेका छन् ।
पुस्तौँदेखि मकै, कोदो र फापरको खेती गरेका यहाँका किसान अहिले किवीबाट राम्रो फाइदा लिएको बताउँछन् । अन्य खेतीबाट भन्दा किवी खेतीबाट नसोचेको फाइदा भएको माथागढी–३, ओलेसका अगुवा किसान कृष्ण सारुले बताउनुभयो ।

पहिले आफूले मात्र गाउँमा किवी खेती गरेको बताउँदै सारुले पछिल्लो समय गाउँका अन्य किसानले मकै खेती छाडेर किवी खेती गर्न थालेको बताउनुभयो । स्वस्थ एउटा किवीको बोटले दुई÷तीन वर्षभित्रै आठदेखि दश किलोसम्म फल दिने किसान बताउँछन् ।
उत्पादन भएको किवी प्रतिकिलो ४०० देखि ६०० रुपियाँसम्ममा तानसेन र बुटवलमा बिक्री हुने गरेको यहाँका किसानको भनाइ छ । यो वर्ष ओलेसबाट मात्रै बीस क्विन्टल किवी विक्री भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij