Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

दोलखामा फेर प्रथा स्मरण पर्व हुने

दोलखामा फेर प्रथा स्मरण पर्व हुने

बाँपीझ्याला, दोलखा । प्राचीन तथा ऐतिहासिक कृषि क्षेत्रले ढाकिएको भू–भाग दोलखामा परम्परागत फेर प्रथालाई स्मरण गरेर पर्वको रुपमा मनाउने भएको छ । जनशक्ति र श्रोतका अभावका कारणले मासिँदै र हराउँदै गएको दोलखाको पुरानो फेर प्रथा परम्परालाई आगामी वर्षदेखि जिवन्त राख्ने उद्देश्यका साथ मनाउन लागिएको यो अविस्मरणीय कार्यक्रमको लागि दोलखाका तत्कालीन राजकुलेश्वर निम्न माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं निजामति सरकारी शिक्षक संघसंग सम्बद्ध व्यक्तित्व हर्क बहादुर श्रेष्ठज्यूको संयोजकत्वमा १३ सदस्यीय् समिति गठन गरिएको छ भनी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।

यही साउन महिनाको १५ गते देखि २१ ग्तेको बिचमा हुने सो कायैक्रमको अन्तिम टुंगो पर्सिसम्म हुने र नेपालकै वरिष्ठ जलविज्ञ इन्जिनियर आदरणीय आत्माकृष्ण श्रेष्ठको आत्मइच्छा अनुसार दोलखामा कृषि क्रान्ति गर्न अत्यन्तै जरुरी भएकोले पनि यस कार्यक्रमले विशेष सकृय पहल थालिनेछ भनेर राजकुलेश्वर निम्न माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हर्कबहादुर श्रेष्ठले बताउनु भएको छ ।

दोलखा जिल्ला बागमती प्रदेश हुनु पहिले जनकपुर अञ्चलको ६ वटा जिल्लामध्ये सबैभन्दा माथिल्लो उत्तरी पहाडी भू–भागमा परेको हिमाली क्षेत्रको रुपमा चिन्न सकिन्छ । पूर्वमा सोलुखुम्बु जिल्ला, दक्षिणमा रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला र उत्तरमा चीनको तिब्बत सिमानाको बीचमा रहेको दोलखा जिल्लालाई भौगोलिक हिसाबले विश्वकै समय सूचक हिम श्रृङ्खला गौरीशंकरको काखमा रहेको यो नेपालकै प्राचीन नेवार, थामी, तामाङ, शेर्पा र गुरुङ जस्ता विविध मंगोलयिन जातिहरूको समिश्रण बस्तीको रूपमा लिन सकिन्छ । साथै बाह्मण, क्षेत्री लगायतका जातीहरुको पनी बसोबास रहेको छ ।

प्राचीन किँरातकालीन सभ्यतादेखि नै नेपालको विभिन्न ठाउँमा छरिएर रहेका अनेक जातजाति र विविध संस्कृति परम्परालाई नियालेर हेर्न खोज्दा अधिकांश ठाउँहरूमा अनुकरणीय संस्कृति र संस्कार देखिए पनि दोलखामा परापूर्व कालदेखि नै एउटै खालको संस्कार र संस्कृतिले निरन्तरता पाइआएको देखिन्छ, त्यसमध्ये पनि नामैले दोलखा जिल्ला भनेर चिनिने दोलखाको मूल थलोको रुपमा प्रचलित अभयपुर शहर हो हालको भीमेश्वर नगरपालिका वडा नं. २ अन्तर्गतको दोलखा ।

उत्तरमा दामराङ सुस्पा, पूर्वमा पिखुती दोल्ती खोला, दक्षिणमा तामाकोशी नदी र शहरपा पहाड, पश्चिममा अँधेरी खोला र चरिकोट यति चार किल्ला भित्र रहेको छ वडा नं. २ प्राचिन शहर दोलखा । यही परिवेश भित्र छरिएर रहेका खेतका अधिकांश फाँटहरूमा दोलखाली नेवारहरूको साँस्कृतिक एवं धार्मिक गुठी अन्तर्गत र नीजि रुपमा खेतीपाती भएको थियो, अद्यपि छँदैछ । ती खेतहरुमा एकताका अझ भनौं, करीब एक दुई दशक पहिले सम्म दोलखामा धान र गहुँको खेती निरन्तर रुपमा अघि बढिरहेकै थियो ।

दोलखामा असारे रोपाइँको बेलामा एउटा अलग्गै खालको चलन चलेको छ, जुन चलन अनुसार आ–आफ्ना टोल छिमेकीको समुह मिलेर असारमा धान रोप्ने रोपाउने प्रचलन थियो यसलाई स्थानीय भाषामा ‘फेर च्वइँरि’ भन्ने गन्छि । अर्थात फेर बस्ने यसको मूल तात्पर्य हो प्रत्येक दिन फेरिफेरिकन पालैपालो धान रोप्नको निमित्त खेतमा काम गर्ने एक समुहगत संगठन हो । यसबेला खेतमा धान रोप्न दुई पटक काम गरिन्छ ।

यो फेर बस्ने समुहमा ६ जनाको समुह देखि १५–१६ जना सम्म पनि हुनसक्छ, जसमा एकजना प्रमुख व्यक्ति हुन्छ जसलाई ‘नाइके’को रुपमा चुनिन्छ, अर्को एकजना बेला बेलामा विश्राममा प्यास मेटाउने व्यक्ति हुन्छ, अर्थात् पहिलो र दोश्रोपटक गरेर जाँड् खुवाउने गरिन्छ, जसलकाई स्थानीय भाषामा ‘सुरील’ भन्ने गरिन्छ ।

यो सुरील भन्ने शब्दलाई परिभाषित गर्नुपर्दा जाँडको घ्याम्पो समेत बोक्नुपरेको कारणले घाम र पानीबाट असर नपरोस् भनेर थुन्सेमा बोकाइन्छ । त्यसको साथमा अन्य खानेकुरामा तिहुन तरकारी समेत नपोखाइकन बोक्न सहज होस् भन्ने हेतुले थुन्सेमा राखेर बाकिँदा सुरक्षित हुन्छ । यस थुन्सेलाई स्थानीय नेवारी भाषामा ‘सुरी’ भनिन्छ । यसैले यो सुरी बोक्ने मान्छेलाई ‘सुरील’ भनिएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
अर्को एकजना बिहान खेतसम्म गोरुहरू घरघरबाट संकलन गरेर खेतसम्म लाने र बेलुका खेतबाट घरसम्म पुर्याउने गर्ने गोठालो हुन्छ, जसलाई स्थानीय भाषामा ‘सा ग्वाठाला’ भनिन्छ । यसरी यो फेर समुहमा विभिन्न नाममा कार्य विभाजन गरिएको हुन्छ, जस्तो कि आली लाउने, बाँझो फोर्ने, गोरु जेत्ने, कान्ला कोर्ने, बाउसे गर्ने, फल्याक जोत्ने, पाटो सम्याउने आदि कार्य वभिाजन हुन्छ ।


दोलखामा धान रोपाइँका लागि एउटै खेतमा दुईपटक काम गरिन्छ, पहिलो पटकको काम बिना पानीको आधारमा बाँझो पल्टाउने यसलाई स्थानीय भाषामा ‘बाँलाइ’ भनिन्छ । दोश्रो पटक पानी लाएर जोतखन गरेर धान रमेपाइँ गराइन्छ ।

यसलाई स्थानीय भाषामा ‘या पिइरि’ भनिन्छ । सबैको पालो समाप्त भएपछि अन्तिममा जसको खेतको पालोमा धान रोपाइँ गरिन्छ, त्यो दिनलाई समापनको रुपमा विधि पूर्वक रमाइलो संग समापन गरिन्छ, यो दिन अन्तिममा आलीवालाहरूले आ–आफ्नो कोदालीमा पूजाआजा गरि त्यसलाई जुधाएर यसवर्षको रोपाइँ सकिएको सूचना सूचित गर्दै हिलो छ्यापेर खेल्दै समापन गर्ने गरिन्छ ।

तर मुलुकभर बढ्दै गएको जनसंख्याको कारणले खेतका फाँट विभाजित हुँदै गयो, जङ्गल पनि मासिँदै गयो र बस्ती बढ्दै गयो । समयको परिवर्तित वातावरण संगै हरेक वस्तु पदार्थको मूल्य वृद्धि हुँदै जानु तर आम्दानीको श्रोतको कमिको कारणले र जनश्रोतको अभावको कारणले हिजोआज दोलखामा यो फेर प्रथा लगभग लोप नै हुने अवस्थामा पुगेको छ ।
केही केही खेतहरूमा रोपाइँ त चलेको छ तर पर्मको हिसाबले मात्र चलेको कुरा थाहा हुन आएको छ । विशेष शुत्रबाट आउको खबर अनुसार गत वर्ष १४ समुहको फेर खलकले धान रोपाइँ गरेका थिए भने यसवर्ष जम्मा चार समुहमात्र फेरको समुह बनाएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार