बाँपीझ्याला, काठमाण्डौं । यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।
धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । “पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले भन्नुभयो ।
विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस्तै पानी परे यस वर्ष असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण–९ का किसान रोशन गिरी बताउनुहुन्छ ।
कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार नलाग्दै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् ।
सूर्यविनायक नगरपालिका(८ नंखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाइँदा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैन, यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो, मल नपाए यस वर्ष उत्पादन घट्छ ।”
समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभए धानको उत्पादन आधा घट्नेमा चिन्ता व्यक्त गर्छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।
धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने बताउनुहुन्छ, कृषि प्राविधिक हरिकृष्ण नेपाल । उहाँले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले धान रोप्न र हिलो सम्याउने प्रविधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताउनुभयो ।
विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले पनि छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताउनुभयो ।
किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी लागे पनि मल नपाउँदा दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन किसानले माग गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij