Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

देवी एक भक्त अनेक - प्रसङ्ग दक्षिणकाली मन्दिर

देवी एक भक्त अनेक - प्रसङ्ग दक्षिणकाली मन्दिर


मनमा देवीको दर्शन गर्न जाने र आफ्नो सदिच्छा पुरा होस्, स्वास्थ, शिक्षा, धनलाभ, पुत्रलाभ, सफल जीवन, सफल प्रेमको शुभकामनाको पुकार गर्ने उद्देश्यले मन्दिर जानेहरूको ताँती लाग्ने एउटा धार्मिक स्थल हो दक्षिणकाली मन्दिर जुन फर्पिङ बजार नजिकैको खोँचमा रहेको छ । विशेषतः मंसिर, माघ, फागुन, बैशाख महिनामा अत्यन्तै घुइँचो लाग्छ दर्शनार्थीहरूको ।

सो मन्दिरमा मनोकामना मात्रै होइन , आफ्नो काम कर्म सिद्ध भएपछि पनि मन प्रसन्न भएर पूजा गर्ने क्रममा कोही गाडी पूजा गर्न त्यहाँ पु्ग्छन् त कोही विवाह सिद्धको लागि सिउँदो भर्न पनि पुग्ने गर्छन् भने कोही भाकल सिद्धको लागि पनि पुग्छन् ।

सो मन्दिरमा स्थानीय व्यवस्थापन समितिले भक्तजनहरूलाई सुविधा होस्, पूजा गर्न सहज होस् भनेर जति प्रयास गरेको देखिन्छ त्यसको लागि धन्यवाद दिन कञ्जुस्याइँ गर्नु स्वाभाविक नहोला, बत्ती बाल्ने ठाउँ, बलि दिएको बोका या अन्य पशुपंक्षि सफा गर्ने ठाउँ, मन्दिरमा पुग्नको लागि पंक्ति मिलाउन बनाईएको मार्ग सबैमा सकारात्मक पक्ष देखिन्छ ।

अझ ठाउँ ठाउँमा सशुल्क नै भएपनि शौचालयको व्यवस्था गरिएकोमा त्यहाँको समिति धन्यवादको पात्र बनेको छ तर यति हुँदाहुँदै पनि त्यहाँको समितिले विभिन्न स्टलहरू राखेर सूचना समेत टाँसेर ठाउँ ठाउँमा छाना भएको पिकनिक स्पटहरू राखिए पनि केही गुनासो गर्नुपर्ने आवश्यक देखिन्छ । जस्तो कि स्वयं सेवकमा अनुशासनको कमि, स्टलहरूमा डस्टपिनको व्यवस्था नहुनु, शौचालयमा सफाइ कमि, बजार व्यवस्थापनमा

मूल्य निर्धारणको कमि, गाडी पार्किङमा संकट आदि कुराहरू केही खट्किएको पाईन्छ ।

त्यस्तै भक्तजनहरूमा पनि सामञ्जस्यताको कमि, स्थानीयहरूको हैकमवादीपन, धैर्यताको कमि, बलजफत गरेर समस्या देखाएर मन्दिर प्रवेश गर्न खोज्नु उचित नहोला, कैयौं कामको सफलताको लागि भगवतीको शरणमा दर्शन गर्न जने तर ढाँटेर, छलेर, शक्तिश्रोत लाएर नियम विपरित मन्दिर प्रवेश गर्नुले पवित्र मन र वचनमा खोट लाउन वाध्य हुनु पर्ला कि ?

एउटा कुरा दक्षिणकाली माताको मन्दिरमा शनिवार अधिक मात्रामा भीड लाग्नु अस्वाभाविक नहोला, किनकि अधिकांश भक्तजनहरू कार्यालय, संस्था, विद्यालयसंग सम्बन्धित व्यक्तिहरू भएको कारणले पनि यस्तो हुन्छ । तर स्वच्छ र पवित्र मनले देवीको दर्शन गर्न जाने नै भएपछि धैर्य हुन जान्नु पर्ने हो, किन ढाँटेर जबर्जस्ति गर्नु ?

अर्को कुरा करीब ९०% प्रतिशत भक्तजनहरू नेपाली नै जाने गरेका छन् भने त्यहाँ रहेका होटल व्यवसायीहरूले र बाटोको दायाँबायाँ पूजाका सामान र खाद्य पदार्थ लगायत, अन्य वस्तुहरूको मूल्य अधिक महँगो गर्नु किन ? कि ६ दिनसम्म सुनसान हुनुपरेको कारणले एकैदिनमा रकम असुल्न खोजेका त होइनन् ? भन्ने प्रश्न नउठ्लान् भन्न सकिन्न !!

अन्तमा अधिकांश भक्तजन लगायत हेर्न र घुम्न जानेहरूको लागि दक्षिणकाली माताको प्रार्थना र पूजा गर्नको लागि शनिवारको दिन भन्दा बिहीबारको दिन उत्तम फलदायी हुन्छ भन्ने कुराको ज्ञान हुन जरुरी छ भन्नेतिर विशेष ध्यान जावस् । जय दक्षिणकाली माता !!

बालकृष्ण श्रेष्ठ “पासा”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार