Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

दोलखाको राम्पामा १० दिने हाते होजियारी तालिम सम्पन्न, प्रशिक्षार्थीका सामग्री प्रदर्शन

दोलखाको राम्पामा १० दिने हाते होजियारी तालिम सम्पन्न, प्रशिक्षार्थीका सामग्री प्रदर्शन

नेपाल सम्वत् ११४६, कौलाथ्वः १, प्रतिपदा (२५ असोज २०८३, ११ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२, राम्पास्थित श्री त्रिपुरासुन्दरी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालित १० दिने हाते होजियारी तालिम सम्पन्न भएको छ। असोज १६ गतेदेखि सुरु भएको तालिम घटस्थापनाका दिन आइतबार समापन गरिएको हो। तालिम समापनसँगै केन्द्रको साधारण सभा, उत्पादित सामग्रीको प्रदर्शनी तथा बडादसैँ र तिहारको शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको छ।

सिकाइ केन्द्रकी अध्यक्ष अनिता थामीको अध्यक्षता तथा भीमेश्वर नगरपालिका–२ का वडा सदस्य देवेन्द्र थामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सामाजिक अभियन्ता अजय प्रधान विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा त्रिपुरासुन्दरी आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रमिला थामी, केन्द्रकी पूर्वअध्यक्ष सन्तलक्ष्मी थामी, विवस सदस्य निशा थामी तथा मुख्य प्रशिक्षक दुर्गा श्रेष्ठ र सहायक प्रशिक्षक सन्तलक्ष्मी थामी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा केन्द्रकी परिचारिका (स्रोत व्यक्ति) दिलमाया थामीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उहाँले नै केन्द्रको साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मौसमी थामीले गर्नुभएको थियो।

तालिमका क्रममा सहभागी महिलाहरूले तयार पारेका टोपी, मफलर र मोजालगायत सामग्री समापन समारोहमा प्रदर्शनीका लागि राखिएको थियो। थामी समुदायका महिलाहरूले छोटो अवधिमै आकर्षक तथा गुणस्तरीय सामग्री तयार पारेको भन्दै अतिथिहरूले खुसी व्यक्त गरेका थिए। तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने मुख्य प्रशिक्षक दुर्गा श्रेष्ठ र सहायक प्रशिक्षक सन्तलक्ष्मी थामीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

यसैबीच, तालिम अवधिभर मेहनत र अनुशासनका साथ उत्कृष्ट प्रदर्शन गर्ने तीन जना सहभागीलाई बाँपिझ्याला डटकमका तर्फबाट विशेष उपहार प्रदान गरिएको थियो। प्रशिक्षार्थीका तर्फबाट अनुभव सुनाउँदै अबिना थामीले फुर्सदको समयलाई सदुपयोग गर्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।

शुभकामना मन्तव्यका क्रममा त्रिपुरासुन्दरी आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रमिला थामी, केन्द्रकी पूर्वअध्यक्ष सन्तलक्ष्मी थामी र प्रशिक्षक दुर्गा श्रेष्ठले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अघि बढ्न सहभागीहरूलाई सुझाव दिनुभयो।

विशिष्ट अतिथि अजय प्रधानले होजियारी सीपलाई आयआर्जनसँग जोड्न सके मात्रै तालिमको उद्देश्य पूरा हुने बताउनुभयो। कम लगानीमा सामग्री उत्पादन गरी आम्दानी गर्न सकिने भएकाले सिकेको सीपलाई निरन्तरता दिँदै व्यावसायिक रूपमा अघि बढ्न उहाँले सहभागीहरूलाई आग्रह गर्नुभयो।

प्रमुख अतिथि वडा सदस्य देवेन्द्र थामीले तालिम समापन गर्दै वडा कार्यालयले आगामी दिनमा पनि स्थानीय महिलाको सीप विकास र आत्मनिर्भरताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष अनिता थामीले सिकाइ केन्द्रको प्रगतिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

घटस्थापनाको अवसरमा आयोजित कार्यक्रममा बडादसैँ तथा तिहारको शुभकामना आदानप्रदानसमेत गरिएको थियो। स्थानीय कलाकार प्रतीक्षा थामीले आकर्षक नृत्य प्रस्तुत गरेर समारोहलाई थप मनोरञ्जनपूर्ण बनाएकी थिइन्।

सीमान्तकृत थामी समुदायका महिलाको सीप विकास, स्वरोजगार प्रवर्द्धन र आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित तालिमले सहभागीहरूलाई आफ्नै सीपमार्फत आयआर्जन गर्ने अवसर सिर्जना गरेको आयोजकको विश्वास छ। तालिमबाट सिकेको सीपलाई व्यावसायिक उत्पादन र बजारसँग जोड्न सके स्थानीय महिलाको आर्थिक सशक्तीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार