Nov 29 2026 | २०८३, मंसिर १३, गते

Nov 29 2026 | २०८३, मंसिर १३, गते

दोलखामा घटस्थापना, मालश्री धुनसँगै दसैंको रौनक सुरु

दोलखामा घटस्थापना, मालश्री धुनसँगै दसैंको रौनक सुरु

नेपाल सम्वत् ११४६, कौलाथ्वः १, प्रतिपदा (२५ असोज २०८३, ११ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैं आज घटस्थापनासँगै विधिवत् रूपमा सुरु हुँदैछ। नवदुर्गा भवानीको पूजा–आराधना गर्दै देवीदेवालय, मठमन्दिर तथा घरघरमा जमरा राख्ने परम्परासँगै दसैंको धार्मिक र सांस्कृतिक रौनक छाएको छ।

मालश्री बाजाको मधुर धुनसँगै पवित्र जल घडा, गाग्री र करुवामा भरेर देवीदेवताको मन्दिरमा पुर्‍याउने, विधिपूर्वक घटस्थापना गर्ने तथा जौ छरेर जमरा राख्ने चलन छ। यस अवसरमा कुलदेवताको आराधना गरी दसैंको सुरुवात गर्ने परम्परा रहिआएको छ।

Ghatasthapna3.jpg

प्राचीन सहर दोलखामा घटस्थापनाको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व छ। यहाँ गणेशटोलस्थित गणेश मन्दिरबाट सुरु हुने परम्पराअनुसार त्रिपुरासुन्दरी देवी (देक्वार), राजकुलेश्वर तलेजु भवानी मन्दिर, भीमेश्वर मन्दिरलगायत विभिन्न देवीदेवालय तथा स्थानीयवासीका कुलकुलायनमा चोखो र शुद्ध बालुवा राखेर जौ छर्ने गरिन्छ।

Ghatsthapna4.jpg

दोलखाको मल्लकालीन ऐतिहासिक पँधेरो तीनधारा राइतीमा घटस्थापनाका दिन पवित्र जल भर्ने विशेष परम्परा छ। स्थानीय पण्डितको उपस्थितिमा विभिन्न कुलदेव खलकका पुजारी, गुठियार तथा स्थानीय भद्रभलाद्मीहरू भेला हुन्छन्। पण्डितहरूले नवदुर्गाको मन्त्र उच्चारण गर्दै बगिरहेको धाराको पानीमा फूल र अक्षता अर्पण गरेपछि चोखो जल घडा तथा अन्य पात्रमा भर्ने चलन छ।

Ghatasthapnafe1.jpg

यस क्रममा त्रिपुरासुन्दरी, राजकुलेश्वर तलेजु भवानी र भीमेश्वर मन्दिरका मूल पुजारी तथा कुलमन्दिरका प्रमुख व्यक्ति (थाकती)हरूले पहिले जल भर्ने र त्यसपछि अन्य उपस्थितजनले जल थाप्ने परम्परा छ। यसरी संकलन गरिएको पवित्र जल आ–आफ्ना देवीदेवताको मन्दिरमा पुर्‍याएर घटस्थापनासहितका धार्मिक विधि सम्पन्न गरिन्छ।

दोलखामा प्रचलित यी परम्पराले स्थानीय धार्मिक आस्था, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिलाई जीवन्त राख्दै आएका छन्। मालश्री बाजाको धुन, पवित्र जलको स्थापना र जमरा रोपणसँगै यहाँ बडादसैंको उल्लास सुरु हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार