बाँपीझ्याला, काठमाण्डौं, बीबीसी । दुई देशबीचको तनाव गहिरिँदै गएको बेला अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङ सोमबार भर्चुअल बैठक बस्दै छन् । दुई महाशक्तिले स्कटल्यान्डको ग्लास्गो वार्तामा जलवायु परिवर्तन सम्बोधन गर्न गएको साता एउटा संयुक्त घोषणा गर्दै धेरैलाई चकित पारेका थिए । तर, ताइवानमा सैन्य टकरावको बढ्दो चिन्ताले उनीहरूको मतभेदलाई प्रष्ट देखाएको छ ।
दुई नेताको तेस्रो बैठकले थुप्रै कठिन विषयहरूको सम्बोधन गर्नेछ । साइबर सुरक्षा, व्यापार र परमाणु अप्रसारलगायत विषयमा छलफल हुने बताइएको छ ।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा ह्वाइट हाउसले दुई नेताले अमेरिका र चीनबीचको प्रतिस्पर्धा जिम्मेवारपूर्वक व्यवस्थापन गर्नुको साथसाथै स्वार्थ मिल्ले विषयमा मिलेर काम गर्ने विषयमा छलफल गर्ने जनाएको थियो ।
यसअघि, दुई नेताबीच दुईपटक वार्ता भएको छ । दुवैले दुई देशबीचको सम्बन्धमा उतारचढाव रहेको स्वीकार गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले पनि सम्बन्धलाई सही बाटोमा फर्काउन अमेरिकासँग काम गर्न तयार रहेको बताएका थिए । सहकार्य मात्र एक उपयुक्त विकल्प भएको उनको भनाइ थियो ।
बाइडन के चाहन्छन् ?
बैठकबाट अपेक्षा कम छ । तर, बैठक हुनु नै आफैँमा एक प्रमुख उपलब्धि हो । विगत केही वर्षयता चिसिएको अमेरिका–चीन सम्बनधलाई सुधार्न दुवै पक्ष चाहन्छन् ।
दुई नेताबीचको वार्तामा ताइवान प्रमुख एजेन्डा बन्ने सम्भावना छ । बेइजिङले ताइवानमा सैन्य दबाबलाई तीव्र पार्ने इच्छा देखाइरहेको बेला चिनियाँ राष्ट्रपति सीले त्यहाँ शान्ति कायम गर्ने वाचा गरून् भन्ने बाइडन बाइडन चाहन्छन् ।
यो बैठक बाइडनका निम्ति द्विपक्षीय सम्बन्धका लागि अमेरिकी प्रशासनको चीन रणनीति स्थिर रूपरेखा हुनसक्छ भनी चिनियाँ राष्ट्रपति सीलाई विश्वस्त गराउने अवसर पनि हुनेछ । बाइडनको चीन ‘डक्ट्रिन’लाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अवस्था, आवश्यकता र बाध्यताअनुसार प्रतिस्पर्धी, सहयोगी र प्रतिद्वन्द्वी हुने भनी पहिले नै प्रष्ट पारेका थिए । “हुनुपर्ने बेला प्रतिस्पर्धी, हुन सक्ने बेला सहयोगी र हुनैपर्ने बेला प्रतिद्वन्द्वी,” उनले भनेका थिए ।
तर, बेइजिङले कूटनीतिक सम्बन्धको विवादका बुँदाहरूबाट जलवायु कार्यजस्ता सहकार्यका मुद्दाहरूलाई अलग गर्न नसकिने प्रष्ट पारेको छ । “यदि, ओएसिस (मरुद्यान) मरुभूमिले घेरिएको छ भने ढिलोचाँडो मरुभूमिकरण हुनेछ,” चिनियाँ विदेशमन्त्री वाङ यीले सेप्टेम्बरमा भनेका थिए ।
के यो वार्ताले ‘मरुभूमि’मा पानी ल्याएर आगो निभाउनेछ ?
सी के चाहन्छन् ?
चिनियाँ राष्ट्रपति अमेरिकी समकक्षीसँग जुममा बस्ने तयारी गर्दैगर्दा दुई शब्दहरू ‘ताइवान र वार्ता’ले चीनको चिन्ताहरूको सारांश व्यक्त गर्छन् ।
चीनको पूवी तटमा रहेको टापु, आफ्नै प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिको साथ, एसियाबाहिरका धेरैका लागि अस्पष्ट मुद्दाजस्तो देखिन्छ ।
तर, बेइजिङका लागि ताइवान एक विद्रोही प्रान्त हो । बेइजिङ सधैँ ताइवानलाई मातृभूमिसँग पूर्ण रूपमा पुनर्मिलन गर्न चाहन्छ । सी चिनफिङले यसलाई अपरिहार्यताको रूपमा लिएका छन् ।
तर, केही हप्तापहिले अमेरिकी राष्ट्रपति बाइडनले यदि चीनले आक्रमण गरे ताइवानको रक्षा गर्ने वाचा गरेका थिए । आफ्नो मूल्यको बारेमा अमेरिकी प्रतिबद्धता प्रष्ट देखिन्छ । सीले स्पष्टीकरण चाहनेछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij