Nov 19 2026 | २०८३, मंसिर ३, गते

Nov 19 2026 | २०८३, मंसिर ३, गते

अमेरिकामा उडान अवरोधको असर तेस्रो दिनसम्म, १० हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा उडान अवरोधको असर तेस्रो दिनसम्म, १० हजारभन्दा बढी उडान प्रभावित

नेपाल सम्वत् ११४७, कछलाथ्वः ७, सप्तमी (३० कार्तिक २०८३, १६ नोभेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । अमेरिकामा शुक्रबार देखिएको प्राविधिक समस्याका कारण देशभरको हवाई सेवा अवरुद्ध भएपछि त्यसको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ। आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्।

उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन्। यसअघि शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए।

अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन्। तर विमान र चालक दल (क्रु) निर्धारित स्थानमा नरहेकाले उडान सेवा पूर्ण रूपमा नियमित हुन केही समय लाग्ने उनको भनाइ छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै मन्त्री डफीले विमान र चालक दलको व्यवस्थापन मिलाउन समय लाग्ने बताएका छन्।

के कारणले रोकिएको थियो उडान ?

शुक्रबार अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) को एयर ट्राफिक कन्ट्रोल (एटीसी) प्रणालीमा प्रयोग हुने सञ्चार नेटवर्कमा प्राविधिक समस्या देखिएपछि देशभरका विमानस्थलबाट हुने उडान रोकिएको थियो। करिब पाँच घण्टासम्म कायम रहेको उक्त प्रतिबन्धले अमेरिकी हवाई यातायात प्रणालीमा ठूलो अवरोध सिर्जना गरेको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार पुराना तामाका तारलाई फाइबर अप्टिक प्रविधिमा रूपान्तरण गर्ने क्रममा नयाँ राउटर जडान गरिएको थियो। अर्कान्सास राज्यको एल डोराडोस्थित एफएएको एक केन्द्रमा जडान गरिएको राउटरबाट असामान्य रूपमा ठूलो संख्यामा डाटा प्रवाह हुन थालेपछि सञ्चार नेटवर्क प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यातायातमन्त्री डफीका अनुसार उक्त राउटरले प्रत्येक चारदेखि पाँच सेकेन्डमा एक हजारभन्दा बढी कनेक्सन प्रयास गरिरहेको थियो। यसले एयर ट्राफिक कन्ट्रोल केन्द्रहरूमा सञ्चार तथा राडार प्रणालीमा समस्या उत्पन्न गराएको थियो।

विमान चालक र एयर ट्राफिक कन्ट्रोलरबीचको सञ्चार प्रभावित हुन थालेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै एफएएले देशभर उडान रोक्ने निर्णय गरेको थियो।

एफएएका अनुसार टेक्सासको अमारिलो र अर्कान्सासको एल डोराडोस्थित उपकरणबाट नेटवर्कमा समस्या फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। समस्या उत्पन्न गराउने राउटरको प्रसारण क्षमता बन्द गरिएको छ भने सावधानीस्वरूप त्यस्तै प्रकृतिका अन्य करिब ६० वटा राउटरमा पनि उक्त सुविधा बन्द गरिएको छ।

यद्यपि प्राविधिक खराबीको वास्तविक कारण तथा उपकरणको त्रुटि वा जडान गर्ने ठेकेदार कम्पनीको कमजोरीमध्ये कुन जिम्मेवार थियो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

साइबर आक्रमणको प्रमाण भेटिएन

अमेरिकी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा साइबर आक्रमण वा बाह्य हस्तक्षेपको कुनै प्रमाण फेला नपरेको बताएका छन्।

यातायातमन्त्री डफीले पनि यो घटना साइबर आक्रमणका कारण भएको प्रमाण नभेटिएको बताएका छन्। एफएए र त्यसको नेटवर्क सेवा प्रदायक कम्पनी एलथ्रीह्यारिसले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छन्।

शुक्रबार उडान रोक्ने निर्णय हुँदा अमेरिकी आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए। अमेरिकी अधिकारीहरूका अनुसार ती सबै विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।

उडान रोकिएको समयमा केही विमानलाई अन्य विमानस्थलतर्फ मोडिएको थियो भने केहीले आफ्नो गन्तव्यसम्मको यात्रा पूरा गरेका थिए। विमानस्थलमा रहेका यात्रु भने घण्टौँसम्म अलपत्र परेका थिए। कतिपय यात्रु विमानभित्रै रोकिएका थिए भने कतिपयले विमानस्थलमै रात बिताउनुपरेको थियो।

यसको असर अमेरिका बाहिरका उडानमा समेत परेको थियो। युरोप र बेलायतबाट अमेरिकातर्फ आउने तथा अमेरिकाबाट बाहिरिने केही अन्तर्राष्ट्रिय उडानसमेत रद्द भएका थिए।

हवाई प्रणाली आधुनिकीकरण गर्न ५० अर्ब डलर माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई यातायात नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि कंग्रेससँग थप बजेट स्वीकृत गर्न आग्रह गरेका छन्।

ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अहिले प्रयोग भइरहेको हवाई नियन्त्रण प्रणालीका धेरै उपकरण ५० वर्ष पुराना रहेको उल्लेख गर्दै तिनको एकैपटक आधुनिकीकरण गर्नुपर्ने बताएका छन्।

यातायातमन्त्री डफीले पनि एटीसी प्रणालीको पूर्ण स्तरोन्नतिका लागि ५० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्। यसअघि उनले ३० अर्ब डलर बजेट माग गरेका थिए।

सन् २०२५ मा कंग्रेसले हवाई यातायात नियन्त्रण प्रणाली सुधारका लागि १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो। तर उक्त रकममध्ये करिब ११ अर्ब डलर अझै खर्च हुन बाँकी रहेको भन्दै विपक्षी डेमोक्रेटिक सांसदहरूले थप बजेट माग्नुको औचित्यमाथि प्रश्न उठाएका छन्।

डफीले भने यसअघि स्वीकृत रकम निश्चित पूर्वाधार सुधारका लागि मात्र छुट्याइएको र हवाई क्षेत्र व्यवस्थापन गर्ने नयाँ सफ्टवेयर निर्माणका लागि पर्याप्त बजेट नभएको बताएका छन्।

अमेरिकी उड्डयन प्रणालीमा पुरानो प्रविधि, उपकरणको समस्या तथा एयर ट्राफिक कन्ट्रोलरको अभाव लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ। पछिल्लो घटनाले अमेरिकी हवाई यातायात प्रणालीको प्राविधिक कमजोरी र आधुनिकीकरणको आवश्यकतालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार