Nov 19 2026 | २०८३, मंसिर ३, गते

Nov 19 2026 | २०८३, मंसिर ३, गते

काठमाडौं महानगरमा सिल्भर भोलेन्टियरका लागि आवेदन खुला

काठमाडौं महानगरमा सिल्भर भोलेन्टियरका लागि आवेदन खुला

नेपाल सम्वत् ११४७, कछलाथ्वः ९, नवमी (२ मंसिर २०८३, १८ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवी रूपमा काम गर्न इच्छुक नागरिकका लागि ‘सिल्भर भोलेन्टियर’ (Silver Volunteer) बन्न आवेदन आह्वान गरेको छ।

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शहरी योजना आयोगको सचिवालयले सूचना जारी गर्दै स्वयंसेवकका रूपमा काम गर्न इच्छुक व्यक्तिहरूसँग निवेदन माग गरेको हो।

महानगरपालिकाका अनुसार शिक्षा क्षेत्र (सामुदायिक तथा गुठी विद्यालय आदि), स्वास्थ्य क्षेत्र (सामुदायिक स्वास्थ्य संस्था आदि), वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, शहरी सौन्दर्यीकरण, वातावरण व्यवस्थापन, सहकारी क्षेत्र, विपद् व्यवस्थापन, साना तथा घरेलु उद्योग, खाद्य गुणस्तर, फोहोरमैला व्यवस्थापन, स्थानीय कर अभियान तथा आकाशे पानी सङ्कलन र उपयोगजस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरिनेछ।

यसका लागि ४५ वर्ष उमेर पूरा भई ७५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिक, गैरआवासीय नेपाली तथा प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिकले आवेदन दिन सक्नेछन्।

महानगरपालिकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्न अनुरोध गरेको छ। आवेदन तथा यससम्बन्धी थप जानकारी महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।

इच्छुक व्यक्तिहरूले वेबसाइटमा उपलब्ध आवेदन लिङ्कमार्फत क्यूआर कोड स्क्यान गरी आवेदन विवरण भर्न सक्नेछन्।

महानगरपालिकाले अनुभवी तथा इच्छुक नागरिकको ज्ञान, सीप र अनुभवलाई सामाजिक सेवामार्फत उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलेन्टियर’ कार्यक्रम अघि बढाएको हो।

Notice-ktm.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार