Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

पाटनमा ऐतिहासिक कार्तिक नाच सुरु, १२ दिनसम्म विभिन्न लीला प्रदर्शन गरिने

पाटनमा ऐतिहासिक कार्तिक नाच सुरु, १२ दिनसम्म विभिन्न लीला प्रदर्शन गरिने

नेपाल सम्वत् ११४७, कछलाथ्वः ५, पञ्चमी (२८ कार्तिक २०८३, १४ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । मल्लकालीन कला, संस्कृति, धार्मिक आस्था र नाट्य परम्पराको अनुपम धरोहरका रूपमा रहेको पाटनको ऐतिहासिक कार्तिक नाच शुक्रबार साँझदेखि सुरु भएको छ। पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा सुरु भएको नाच आगामी मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ।

कार्तिक नाच संरक्षण समितिका अनुसार यस वर्ष १२ दिनसम्म हरेक दिन साँझ ७ बजे नाच प्रदर्शन गरिनेछ। कात्तिक २७ देखि सुरु भएको नाचमा भगवान् विष्णुका विभिन्न अवतार, श्रीकृष्णका लीला तथा धार्मिक आख्यानलाई नृत्य र नाट्यकलामार्फत जीवन्त रूपमा प्रस्तुत गरिँदैछ।

नेपाल संवत् ७६१ (विसं १६९७) मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गराउनुभएको यस नाचलाई नेपालको प्राचीन र मौलिक नाट्य परम्परामध्ये एक महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको कार्तिक नाचले पुस्तौँदेखि पाटनको सांस्कृतिक पहिचानलाई जोगाउँदै आएको छ।

यस वर्षको प्रस्तुतिमा भक्त सुरदास प्याखं, माधवानल लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण तथा दधि लीलालगायतका नाच समावेश गरिएका छन्। यी प्रस्तुतिमार्फत धार्मिक कथा, पौराणिक प्रसङ्ग र परम्परागत नाट्यशैलीलाई दर्शकमाझ प्रस्तुत गरिनेछ।

कार्तिक नाचको संरक्षण, संवर्द्धन र दीर्घकालीन निरन्तरताका लागि संरक्षण समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यसमेत अघि सारेको छ। साथै, नाचलाई यसको ऐतिहासिक स्वरूपअनुसार २७ दिनसम्म सञ्चालन गर्ने तथा विश्वको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारी पनि भइरहेको समितिले जनाएको छ।

शताब्दीयौँ पुरानो कला, संस्कृति र नाट्य परम्परालाई जीवन्त राख्दै आएको कार्तिक नाचले नेपालको मौलिक सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार