Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र उल्लासमय बन्दै

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र उल्लासमय बन्दै

नेपाल सम्वत् ११४७, कछलाथ्वः ४, चौथी (२७ कार्तिक २०८३, १३ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला, महोत्तरी । दीपावली पर्व सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको रौनक बढेको छ । कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु भएको चारदिने छठ पर्वका लागि महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको हो ।

आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा परिचित छठको तयारीमा स्थानीयवासी जुटेका छन् । घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने नदी, पोखरी तथा धार्मिक महत्त्वका जलाशयको सरसफाइ र छठघाट निर्माणले तीव्रता पाएको छ । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने गीतसङ्गीतले मिथिलाको वातावरण छठमय बनेको छ ।

पर्वलाई व्यवस्थित र आकर्षक बनाउन स्थानीय युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय भएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी घर सजाउने, भित्ता लिपपोत गर्ने तथा रङरोगन गर्ने काम भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएपछि गाउँबस्तीमा पर्वको रौनक थपिएको छ । धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।

छठको आगमनसँगै स्थानीयवासीको दैनिकीसमेत पर्वकेन्द्रित बनेको छ । घरायसी कामकाज, भेटघाट र पारिवारिक कुराकानीदेखि बजार किनमेलसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो ।

मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरीदेखि पूजामा आवश्यक विभिन्न सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा बिक्रीका लागि ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो ।

त्यस्तै, बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खालगायत परम्परागत सामग्रीको माग पनि बढेको छ । माटोबाट बनाइने दियो, दही जमाउने छ्याँची, पूजाका सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत भाँडाको बिक्रीसमेत बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्परा रहेकाले बाँस तथा माटाका सामग्रीको विशेष महत्त्व रहेको छ ।

यसैबीच, घरघरमा छठको मुख्य प्रसाद ठकुवा र भुसुवा बनाउने चटारो सुरु भएको छ । गृहिणीहरू चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । कतिपय घरमा अझै पनि ढिकी र जाँतोमा अन्न कुट्ने तथा पिँध्ने परम्परा कायम छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने चलन छ ।

भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठ पर्वमा निष्ठा र पवित्रता सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँका अनुसार छठको तयारीमा सरसफाइदेखि प्रसाद निर्माणसम्म प्रत्येक काममा विशेष सावधानी र शुद्धता अपनाइन्छ ।

मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाउने परम्परा छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । दोस्रो दिन व्रतालुले दिनभरि उपवास बसेर साँझ प्रसाद ग्रहण गर्ने ‘खरना’ विधि सम्पन्न गर्छन् । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ ।

धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको सन्देश दिने पर्वका रूपमा पनि छठको विशेष महत्त्व छ । यस पर्वमा पुराना मनमुटाव र विभेद बिर्सेर सबै समुदायका मानिस एउटै छठघाटमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर एकै ठाउँमा बसेर पूजा गर्ने संस्कारले आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई बलियो बनाउँदै आएको छ ।

सूर्यदेव र षष्ठीदेवीको उपासनाबाट परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याण हुने धार्मिक विश्वासका साथ मनाइने छठ पर्वले मिथिला क्षेत्रको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई समेत जीवन्त राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार