Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

पत्रकार सन्तोष गौतमलाई धम्की दिएको घटनाप्रति प्रेस सेन्टरको आपत्ति

पत्रकार सन्तोष गौतमलाई धम्की दिएको घटनाप्रति प्रेस सेन्टरको आपत्ति

नेपाल सम्वत् ११४७, कछलाथ्वः ५, पञ्चमी (२८ कार्तिक २०८३, १४ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । प्रेस सेन्टर नेपालले गण्डकी प्रदेशका उपाध्यक्ष तथा पत्रकार सन्तोष गौतमलाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

प्रेस सेन्टर नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकार गौतमको पेशागत मर्यादामा आँच पुग्ने गरी सार्वजनिक टिप्पणी गरिएको तथा धम्कीपूर्ण अभिव्यक्ति दिइएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको हो।

पत्रकार गौतमले सार्वजनिक सरोकारको विषयमा सामाजिक सञ्जालमार्फत व्यक्त गरेको टिप्पणीप्रति असहमति जनाउँदै बेनी नगरपालिका–६, अर्थुङ्गेका भगवान पौडेलले आफ्नो फेसबुक पेजमार्फत ‘दिन गन्नुहोला’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको प्रेस सेन्टरले जनाएको छ। साथै, उहाँको पत्रकारिताको निष्ठामाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा लाञ्छना लगाइएकोप्रति पनि संगठनले आपत्ति जनाएको छ।

कुनै पनि विषयमा पत्रकारले व्यक्त गरेको विचार वा टिप्पणीप्रति असहमति भए कानुनी तथा वैधानिक बाटोबाट प्रतिवाद गर्न सकिने भए पनि व्यक्तिगत धम्की र मानसिक त्रास सिर्जना गर्नु स्वीकार्य नहुने प्रेस सेन्टरको भनाइ छ।

पत्रकार गौतमले आफ्नो जिउज्यानको सुरक्षा माग गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदनसमेत दिएको उल्लेख गर्दै संगठनले उहाँको व्यक्तिगत तथा पेशागत सुरक्षाको पूर्ण प्रत्याभूति गर्न प्रहरी प्रशासनसँग माग गरेको छ।

प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चनद्वारा २८ कात्तिक २०८३ मा जारी विज्ञप्तिमा पत्रकारलाई धम्क्याउने, समाचार लेख्न दबाब दिने र पेशागत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कार्य प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख छ।

संगठनले पत्रकारमाथि हुने धम्की, दुर्व्यवहार र हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारले निर्भयतापूर्वक आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण निर्माण गर्न राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

Press-centre.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार