Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

कांग्रेसको ‘हामी तयार छौं’ अभियान मंसिर १ देखि

कांग्रेसको ‘हामी तयार छौं’ अभियान मंसिर १ देखि

नेपाल सम्वत् ११४७, कछलाथ्वः ५, पञ्चमी (२८ कार्तिक २०८३, १४ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी, संगठन सुदृढीकरण र पार्टीको आन्तरिक रूपान्तरणलाई लक्षित गर्दै मंसिर १ गतेदेखि देशव्यापी रूपमा ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार सञ्चालन हुन लागेको अभियान एक महिनासम्म चल्नेछ । अभियान वडा तहसम्म विस्तार गरिने कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।

महामन्त्री पौडेलका अनुसार अभियानमार्फत लोकतन्त्रको रक्षा, पार्टी रूपान्तरण, संगठनको प्रभावकारिता वृद्धि र प्रतिपक्षीको भूमिका सशक्त बनाउने विषयलाई प्राथमिकता दिइनेछ । यसका लागि केन्द्रीय प्रतिनिधिहरू परिचालन गरी सबै जिल्ला, क्षेत्र र वडा तहमा संगठनात्मक गतिविधि सञ्चालन गरिनेछ ।

अभियानमा वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधिसहित झण्डै तीन लाख नेता–कार्यकर्तालाई परिचालन गर्ने कांग्रेसको तयारी छ । उनीहरूलाई पार्टीको नीति, विधान, जिम्मेवारी र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै संगठन सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइनेछ ।

अभियानका क्रममा उम्मेदवार छनोट प्रक्रिया, पार्टी सदस्यहरूको सहभागिता र अधिकार, १५औं महाधिवेशनबाट पारित नीतिगत तथा सांगठनिक निर्णयबारे समेत जानकारी गराइने महामन्त्री पौडेलले बताए ।

त्यसैगरी पार्टीको आन्तरिक कार्यशैली सुधार, बैठक सञ्चालनको विधि, मर्यादाक्रम, कार्यक्रम व्यवस्थापन र छलफललाई विषयकेन्द्रित बनाउने विषयलाई पनि अभियानमा समेटिनेछ ।

कांग्रेस सभापति गगनकुमार थापाले यसअघि कात्तिक १२ गते पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा मंसिर महिनाभर विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए ।

सभापति थापाले अभियानमार्फत पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्ने, उनीहरूका गुनासा सुन्ने र विश्वास फर्काउने लक्ष्यसमेत राखिएको बताएका थिए । त्यसका लागि नेता तथा कार्यकर्तालाई गाउँ, वडा र टोलसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिएका थिए ।

कांग्रेसले ‘हामी तयार छौं’ अभियानलाई आगामी स्थानीय तहको निर्वाचनको तयारीसँगै पार्टी संगठनलाई नयाँ सोच र संकल्पका साथ अघि बढाउने महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार