Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

एउटै गाउँका १३ सहित १४ जनाको मृत्यु, सुन्दरपुर शोकमा

एउटै गाउँका १३ सहित १४ जनाको मृत्यु, सुन्दरपुर शोकमा

नेपाल सम्वत् ११४७, कछलाथ्वः ४, चौथी (२७ कार्तिक २०८३, १३ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको भीषण हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १४ जनाको शव आज शुक्रबार गाउँ ल्याइने भएको छ । मृतक सबैको पोस्टमार्टम सम्पन्न भएपछि शव सर्लाही ल्याउन लागिएको हो ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार मृतक १४ जनाकै पोस्टमार्टम राति नै सम्पन्न भएको छ । मृतकका परिवारले पाउने क्षतिपूर्तिका विषयमा शुक्रबार बिहान छलफल भइरहेको र त्यसपछि शव लिएर सर्लाही प्रस्थान गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना र कविलासी नगरपालिकाका एक जना गरी १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुन्दरपुरका अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती २८ वर्षीया पुनम यादव, उहाँका छोरीहरू ५ वर्षीया दीपिका, ७ वर्षीया दीक्षा र १० वर्षीया अनुकुमारी तथा भाइहरू २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादव रहेका छन् ।

त्यस्तै, हायस चालक कविलासी नगरपालिका–८, अगर्बाका ३० वर्षीय रवीशङ्करकुमार मण्डल तथा यात्रुहरू सुन्दरपुरका ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुवोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय रामप्रसाद राय यादव (छोटु राय) को पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

एउटै गाउँका १३ जनाको एकै दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । छठ पर्वका कारण अन्यत्र उत्सव र उल्लास छाइरहेका बेला सुन्दरपुरमा भने मृतकका परिवार र आफन्तको रुवाबासीले गाउँ शोकमग्न बनेको छ ।

मृतकहरूको शव सर्लाही ल्याएपछि सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष यादवका अनुसार सुन्दरपुरका १३ जनाको एकै स्थानमा सामूहिक अन्त्येष्टि गरिनेछ ।

छठ पर्व मनाउन सर्लाहीबाट यात्रु बोकेर काठमाडौँतर्फ गएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हायस बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो । गाडी सडकबाट करिब ५०० मिटर तल अप्ठ्यारो भिरमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका सुन्दरपुरकै तीन वर्षीय सुजन यादवलाई काठमाडौँ, ३१ वर्षीय देवेन्द्र यादवलाई भरतपुर र १४ महिनाका सुदीप यादवलाई काठमाडौँ रेफर गरिएको छ । त्यस्तै, ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव हेटौँडामा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशङ्का व्यक्त गर्नुभएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको हायस बुधबार राति सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो । काठमाडौँमा यात्रु ओरालेलगत्तै पुनः सुन्दरपुरका यात्रु लिएर सर्लाही फर्कने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा हायस पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घटनापछि चक्रघट्टा गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार