Nov 06 2026 | २०८३, कार्तिक २०, गते

Nov 06 2026 | २०८३, कार्तिक २०, गते

तिहारका लागि राष्ट्र बैंकका सुनचाँदीका सिक्का बजारमा

तिहारका लागि राष्ट्र बैंकका सुनचाँदीका सिक्का बजारमा

नेपाल सम्वत् ११४७, कौलागाः ११, एकादशी (१९ कार्तिक २०८३, ५ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाले सुन र चाँदीका विशेष सिक्का निष्कासन गरेको छ। धनतेरस र लक्ष्मी पूजाका अवसरमा सुनचाँदीका सिक्का किन्ने परम्परालाई ध्यानमा राखेर राष्ट्र बैंकले विभिन्न तौलका सिक्का बिक्रीमा ल्याएको हो।

राष्ट्र बैंकले निष्कासन गरेको सुनको असर्फी २.५ ग्राम तौलको रहेको छ। यसको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ तोकिएको छ। शुद्ध सुनबाट निर्मित यस असर्फीलाई धनतेरस तथा लक्ष्मी पूजाका अवसरमा खरिद गर्ने विशेष महत्त्व रहेको छ।

त्यस्तै, राष्ट्र बैंकले १० ग्राम तौलको चाँदीको सिक्का पनि बिक्रीमा ल्याएको छ। उक्त सिक्काको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ रहेको छ। सिक्कामा धनकी देवी लक्ष्मी र भगवान् श्रीगणेशका धार्मिक प्रतीक तथा आकर्षक आकृति कुँदिएका छन्।

नेपाली समाजमा तिहार र विशेषगरी धनतेरसका दिन सुन, चाँदी तथा धातुका सामग्री खरिद गर्नु शुभ मान्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। यही परम्पराअनुसार यस समयमा सुनचाँदीका सिक्का खरिद गर्नेहरू बढ्ने गरेका छन्।

राष्ट्र बैंकबाट निष्कासित यी सिक्काहरू धार्मिक आस्था, सांस्कृतिक महत्त्व तथा धनतेरसको परम्परासँग जोडिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार