Nov 05 2026 | २०८३, कार्तिक १९, गते

Nov 05 2026 | २०८३, कार्तिक १९, गते

५९ एलपी ग्यास उद्योग मर्जर गर्ने तयारीमा निगम

५९ एलपी ग्यास उद्योग मर्जर गर्ने तयारीमा निगम

नेपाल सम्वत् ११४७, कौलागाः ९, नवमी (१७ कार्तिक २०८३, ३ नोभेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका ५९ वटा एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढाएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई एकीकृत गर्न लागिएको निगमले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा अघि बढाइएको यस प्रक्रियाअन्तर्गत निगमले गत बिहीबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै मर्जर नीतिअनुसार कार्ययोजना बनाउन आग्रह गरेको छ।

निगमका एलपी ग्यास तथा एभिएसन विभाग प्रमुख एवं निर्देशक वीनितमणि उपाध्यायले उद्योगहरू गाभिँदा ग्यासको बिक्री तथा वितरण प्रणाली व्यवस्थित, सहज र उपभोक्तामैत्री हुने बताउनुभयो।

हाल एउटै उद्योगका विभिन्न ब्रान्डका सिलिन्डर बजारमा हुँदा उपभोक्तालाई साटासाट गर्न समस्या हुने गरेको छ। सिलिन्डर साट्दा विक्रेताले अतिरिक्त रकम लिने गरेको गुनासोसमेत आउने गरेको छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले सरकारको मर्जर निर्णय स्वागतयोग्य रहेको बताउनुभयो। उहाँले उद्योग गाभ्दा लाग्ने करमा छुटको व्यवस्था गर्नुपर्ने मागसमेत गर्नुभएको छ।

निगमका अनुसार दुई वर्षअघि एचपी र त्रिवेणी ग्यास उद्योग गाभिएर अहिले एचपी ब्रान्डबाट कारोबार भइरहेको छ। पछिल्लो समय नेपाल ग्यास र एचपी ग्यास तथा राजधानी, नेपाल र गण्डकी ग्यास उद्योगले पनि आपसमा गाभिन निगममा आवेदन दिएका छन्।

मर्जर प्रक्रिया कार्यान्वयनमा आएपछि ग्यास उद्योगको ब्रान्ड व्यवस्थापन र वितरण प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार