Oct 27 2026 | २०८३, कार्तिक १०, गते

Oct 27 2026 | २०८३, कार्तिक १०, गते

ब्राजिलमा लुलाको पुनरागमन, चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

ब्राजिलमा लुलाको पुनरागमन, चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

नेपाल सम्वत् ११४६, कौलाथ्वः १५, पूर्णीमा (९ कार्तिक २०८३, २६ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको विवरण सार्वजनिक भएको छ। पहिलो चरणको निर्वाचनमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेको समाचारमा उल्लेख छ।

ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले कुल सदर मतको ५१.८ प्रतिशत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन्। फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्।

निर्वाचन परिणामअनुसार लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व गर्नेछन्। पहिलो चरणको निर्वाचनमा बोल्सोनारोले अग्रता हासिल गरेका थिए। तर, दोस्रो चरणमा लुलाले पुनरागमन गर्दै विजय हासिल गरेको विवरणमा जनाइएको छ।

सन् १९८९ मा ब्राजिलमा प्रजातान्त्रिक निर्वाचन प्रक्रिया पुनः सुरु भएयता पहिलो चरणमा अग्रता हासिल गर्ने उम्मेदवार नै दोस्रो चरणमा पनि विजयी हुँदै आएका थिए। सन् २०२६ को निर्वाचनमा लुलाको जितसँगै उक्त क्रम पहिलोपटक तोडिएको समाचारमा उल्लेख छ।

ट्रम्पको राजनीतिक रणनीतिलाई धक्का?

लुलाको विजयलाई ल्याटिन अमेरिकी राजनीतिमा दक्षिणपन्थी शक्तिको प्रभाव विस्तार गर्ने प्रयासका लागि चुनौतीका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाभियो बोल्सोनारोलाई समर्थन गर्दै आएका थिए।

अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा बोल्सोनारोले अग्रता हासिल गरेपछि ट्रम्पले त्यसलाई ठूलो जितका रूपमा व्याख्या गरेका थिए। तर, दोस्रो चरणमा लुलाले बाजी मारेपछि ब्राजिलको राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ।

लुला यसअघि पनि ब्राजिलको राष्ट्रपति बनिसकेका नेता हुन्। नयाँ कार्यकालमा उनले संसद्मा बोल्सोनारोको लिबरल पार्टीको बलियो उपस्थितिका बीच सरकार सञ्चालन गर्नुपर्ने चुनौती रहनेछ। त्यसका साथै सार्वजनिक ऋण नियन्त्रण, आर्थिक स्थायित्व कायम र मुलुकको आर्थिक विकासलाई गति दिने विषय उनका प्रमुख चुनौती हुने अनुमान गरिएको छ।

समर्थकद्वारा लोकतन्त्रको जितका रूपमा स्वागत

निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा साओ पाउलोको प्रसिद्ध पाउलिस्टा एभिन्युमा लुलाका सयौँ समर्थक भेला भएका थिए। उनीहरूले लुलाको तस्बिर अंकित रातो झन्डा बोकेर मतगणनाको परिणाम हेरेका थिए।

लुलाको विजयपछि उत्साहित समर्थकहरूले निर्वाचन परिणामलाई लोकतन्त्रको जितका रूपमा व्याख्या गरेका छन्। उनको पुनरागमनले ब्राजिलको आन्तरिक राजनीति मात्र नभई ल्याटिन अमेरिकी क्षेत्रको राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार