Oct 25 2026 | २०८३, कार्तिक ८, गते

Oct 25 2026 | २०८३, कार्तिक ८, गते

संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध मजबुत बनाउन नेकपाको दुईमहिने जागरण अभियान

संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध मजबुत बनाउन नेकपाको दुईमहिने जागरण अभियान

नेपाल सम्वत् ११४६, कौलाथ्वः १३, त्रयोदशी (७ कार्तिक २०८३, २४ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण तथा सरकारका जनविरोधी गतिविधिविरुद्ध जनमत निर्माण गर्ने उद्देश्यले आज कात्तिक ७ गतेदेखि दुईमहिने जागरण अभियान सञ्चालन गर्ने भएको छ।

गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णयअनुसार अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।

नेकपाका नेता तथा केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)का अनुसार अभियान आगामी निर्वाचन, पार्टीको राष्ट्रिय महाधिवेशन, संगठन सुदृढीकरण, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षामा केन्द्रित हुनेछ।

पार्टीले गत असोज २५ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गरिने उल्लेख गरेको छ।

नेकपाको सूचना तथा सञ्चार प्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतले जागरण अभियान पार्टीलाई जनतासँग अझ नजिक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार अभियानमार्फत संगठन सुदृढीकरण, निर्वाचन तथा महाधिवेशनको तयारी र विपद् प्रभावित क्षेत्रमा पुनर्स्थापनाका कामलाई प्राथमिकता दिइनेछ।

अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी कमिटी तथा नेता–कार्यकर्ता परिचालित हुनेछन्। केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरूलाई विभिन्न जिल्लाको समन्वय गर्ने जिम्मेवारीसमेत दिइएको छ। उनीहरूले सम्बन्धित प्रदेश र जिल्लाका पार्टी कमिटीसँग समन्वय, अनुगमन तथा मार्गदर्शन गर्दै अभियानका कार्यक्रम अघि बढाउनेछन्।

अभियानअन्तर्गत पार्टी कमिटी तथा जनवर्गीय संगठनको समायोजन, संगठित सदस्यता नवीकरण र विस्तार, बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गरिनेछ। साथै, जनतासँगको सम्बन्ध सुदृढ बनाउन जनकेन्द्रित कार्यक्रम, सांस्कृतिक गतिविधि, श्रम तथा जनसेवाका कार्यक्रम पनि सञ्चालन गरिने पार्टीले जनाएको छ।

त्यसैगरी, जनताका दैनिक समस्या र माग संकलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने, विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने र राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार तथा सुशासनका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षाजस्ता समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री, मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी तथा अन्य सरोकारवाला निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएको छ।

नेकपाले स्थानीय अवस्था, जनताको आवश्यकता र सम्बन्धित तहका पार्टी कमिटीको निर्णयअनुसार अभियानका कार्यक्रमलाई लचिलो रूपमा सञ्चालन गर्ने जनाएको छ।

अभियानको उद्देश्य र कार्ययोजनाबारे जानकारी दिन पार्टीले आज दिउँसो २ः३० बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले अभियानबारे जानकारी दिनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार