नेपाल सम्वत् ११४६, कौलाथ्वः १३, त्रयोदशी (७ कार्तिक २०८३, २४ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ भगवतीस्थित १३ तले आकाशदेवी ताराखसे मन्दिर स्थानीय मन्दिर व्यवस्थापन समिति तथा समुदायलाई हस्तान्तरण गरिएको छ। स्थानीय हिरामणी न्यौपानेले आफ्ना स्वर्गीय बुवा बलभद्र न्यौपाने र आमा डिलकुमारी न्यौपानेको स्मृतिमा व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको मन्दिर दसैँको देवी विसर्जनको अवसर पारेर हस्तान्तरण गरिएको हो।
एच.एन. बिल्डर्सका व्यवस्थापकसमेत रहनुभएका न्यौपानेले पुरानो मन्दिर जीर्ण भएपछि मन्दिर व्यवस्थापन समितिको निर्णय र आग्रहअनुसार आफ्नै लगानीमा नयाँ मन्दिर निर्माण गराउनुभएको हो। धार्मिक आस्था, विश्वास र सामाजिक सद्भावलाई संरक्षण गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो।
‘समाजमा अझै पनि धार्मिक आस्था र विश्वासकै कारण सामाजिक सद्भाव कायम छ। मन्दिरको गरिमा जोगाउँदै धार्मिक पर्यटनसँग समेत जोड्ने उद्देश्यले मन्दिर निर्माण गरेको हुँ,’ न्यौपानेले भन्नुभयो।
मन्दिरको दीर्घकालीन व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले न्यौपानेले बुवा बलभद्र र आमा डिलकुमारीको नाममा ५१ हजार रुपैयाँको ‘बलभद्र–डिलकुमारी अक्षयकोष’ स्थापना गर्ने घोषणा पनि गर्नुभएको छ।
स्थानीय जनविश्वासअनुसार आकाशबाट तारा खसेर खाल्डो बनेको स्थानमा नाग उत्पन्न भएपछि उक्त ठाउँमा क्रमशः मन्दिर निर्माण गरी आकाशदेवीको पूजाआराधना सुरु गरिएको हो। पछि १३ तले मन्दिर निर्माण भएपछि यो क्षेत्र पर्यटकीय आकर्षणका रूपमा समेत परिचित हुँदै गएको स्थानीय प्रदीप पाण्डेले बताउनुभयो।
पाण्डेका अनुसार मन्दिरमा दसैँका दस दिन विशेष पूजाआराधना गरिन्छ भने सरायँ र कृष्णाष्टमीका अवसरमा भव्य मेला लाग्ने गर्दछ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मन्दिरले स्थानीय परम्परा संरक्षण गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ।
मन्दिर व्यवस्थापन समितिका सदस्य टामलाल पाण्डेले न्यौपाने परिवारले गरेको सामाजिक तथा धार्मिक योगदानको प्रशंसा गर्नुभयो। समाजमा धनसम्पत्ति भएका धेरै व्यक्ति भए पनि त्यसलाई सामाजिक हितमा खर्च गर्ने मन सबैमा नहुने उल्लेख गर्दै उहाँले न्यौपाने परिवारले ठूलो रकम खर्चेर १३ तले मन्दिर निर्माण गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो।
‘पैसा र मन दुवै भएकाले लाखौँ रुपैयाँ खर्चेर १३ तले मन्दिर निर्माण सम्भव भएको हो। आकाशदेवीको आशीर्वादसँगै स्थानीयवासीले पनि न्यौपाने परिवारको यो योगदानलाई ठूलो गुनका रूपमा लिएका छन्,’ उहाँले भन्नुभयो।
मन्दिर हस्तान्तरणका अवसरमा मन्दिर व्यवस्थापन समितिले मन्दिर निर्माणमा योगदान पुर्याएको भन्दै न्यौपाने परिवारलाई सम्मानसमेत गरेको थियो।
व्यक्तिगत लगानीमा धार्मिक सम्पदाको संरक्षण, सामुदायिक हित र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने न्यौपाने परिवारको पहल स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij
