ढोका पाइताः, लिङ्गो, खड्ग, गोरखनाथ र दहीजात्रामार्फत जीवन्त बन्दै तौथलीको मौलिक संस्कृति
नेपाल सम्वत् ११४७, कौलाथ्वः १० दशमी, (४ कार्तिक २०८३, २१ अक्टोबर, २०२६) बुधबार, बाँपिझ्याला। देशभर विजयादशमीका दिन दसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गरी पर्व मनाइरहँदा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, तौथलीमा भने एकादशी जात्राको रौनक छाएको छ। नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र तान्त्रिक परम्परासँग जोडिएका ढोका पाइताः (पायः), लिङ्गो जात्रा, खड्ग जात्रा, गोरखनाथ जात्रा तथा दहीजात्राले तौथलीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएका छन्।
पुर्खौँदेखि चल्दै आएको यस जात्रामा देवी दुर्गाले महिषासुर दानवमाथि विजय प्राप्त गरेको धार्मिक आख्यानलाई विभिन्न पूजाआजा, तान्त्रिक विधि, परम्परागत बाजागाजा, मोहनी भजन र सामूहिक उत्सवमार्फत प्रस्तुत गरिन्छ। जात्रा धार्मिक अनुष्ठानमा मात्र सीमित छैन, यो स्थानीय गुठीयार खलकबीचको सहकार्य, सामाजिक एकता र नेवारी सभ्यताको जीवन्त प्रतिबिम्बसमेत हो।
तौथलीमा दसैँसँग सम्बन्धित जात्राका गतिविधि फूलपातीदेखि नै सुरु हुने परम्परा छ। त्रिपुरासुन्दरी भगवतीको आराधना र विभिन्न धार्मिक विधिसँगै जात्राका चरण अघि बढ्छन्। दाछेमि, ढोकछेमि, पुरानछेमि, डोबरछेमि, टारछेमि, कोरछेमि, गुलधुमि, पिस्करमि, थामि र वर्णामिलगायतका स्थानीय गुठीयार खलकको सहभागितामा सम्पन्न हुने यी विधिले पुर्खाबाट हस्तान्तरण हुँदै आएको सांस्कृतिक ज्ञान र परम्परागत अनुशासनलाई निरन्तरता दिँदै आएका छन्।
नवमीका दिन त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा सरकारी राँगाको पूजा गरिन्छ। राँगाको टाउकोलाई महिषासुरको प्रतीकका रूपमा लिने परम्परा छ। एकादशीका दिन विशेष तान्त्रिक विधिअनुसार उक्त राँगाको टाउको छेदन गरिन्छ। यसलाई देवी दुर्गाले महिषासुरको वध गरी अधर्ममाथि धर्म र असत्यमाथि सत्यको विजय प्राप्त गरेको धार्मिक मान्यतासँग जोडेर हेरिन्छ।
तौथलीको एकादशी जात्राको प्रमुख आकर्षणमध्ये त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट छवटा लिङ्गो निकाल्ने परम्परा पनि एक हो। परम्परागत विधिअनुसार लिङ्गोहरूलाई निर्धारित स्थान हुँदै डबलीसम्म पुर्याइन्छ। लिङ्गो नचाउने परम्परागत कार्य लिसङ्खुपाखर गाउँपालिका–५, वर्णाका तामाङ गुठीयारले सम्पन्न गर्ने परम्परा रहेको छ।
डबलीमा लिङ्गो पुर्याएपछि विभिन्न गुठीयार खलकले आ–आफ्नो परम्पराअनुसार सगुन दिने तथा लुगाफाटो र शृङ्गार सामग्री चढाउने विधि पूरा गर्छन्। यी अनुष्ठानले देवीप्रतिको श्रद्धा, गुठीयार खलकबीचको सम्बन्ध र सामुदायिक एकतालाई अभिव्यक्त गर्छन्।
एकादशीका दिन हुने महिषासुरको प्रतीकात्मक वध जात्राको महत्त्वपूर्ण धार्मिक अनुष्ठान हो। दाछेमि मूल पुजारीबाट उक्त विधि सम्पन्न भएपछि अन्य पुजारी, धामी तथा गुरु गोरखनाथसँग सम्बन्धित परम्पराअनुसार तान्त्रिक अनुष्ठान अघि बढाइन्छ।
स्थानीय धार्मिक विश्वासअनुसार गाउँबस्तीमा दैत्य तथा दानवीय शक्तिको प्रवेश रोक्न बाटोघाटो बार्ने विधिसमेत गरिन्छ। यसलाई गाउँको सुरक्षा, अशुभ शक्तिको निवारण र समुदायको कल्याणको कामनासँग जोडिन्छ।
धार्मिक आख्यान, तान्त्रिक मान्यता र स्थानीय विश्वासको समिश्रणले तौथलीको जात्रालाई विशिष्ट बनाएको छ। यी विधि पुस्तौँदेखि स्थानीय समुदायले संरक्षण गर्दै आएका सांस्कृतिक परम्परा हुन्।
गोरखनाथसँग सम्बन्धित तान्त्रिक विधि सम्पन्न भएपछि ‘मोहनी मे’ अर्थात् मोहनी भजन गाउने परम्परा छ। ‘जय जय महादेव’को भाकासहित गाइने यस मौलिक भजनले जात्राको वातावरणलाई भक्तिमय बनाउँछ। मोहनी मे तीनपटक गाउने परम्परालाई पनि विशेष महत्त्व दिइन्छ।
मोहनी भजनपछि दुर्गा भवानीको शक्ति र विजयको प्रतीकका रूपमा नवदुर्गाका नौवटा खाँडा नचाइन्छन्। खाँडालाई देवीको शक्ति, साहस र विजयको प्रतीक मानिन्छ। महिषासुरको प्रतीकात्मक वधदेखि मोहनी भजन र खाँडा नाचसम्मका विधिले देवी दुर्गाको विजयको धार्मिक आख्यानलाई स्थानीय संस्कृतिसँग जोड्छन्।
लिङ्गो डबलीमा पुर्याएपछि सगुन दिने परम्परागत विधि सम्पन्न हुन्छ। त्यसपछि सुरु हुने दहीजात्रा तौथलीको एकादशी उत्सवको सबैभन्दा उल्लासपूर्ण पक्षमध्ये एक हो।
दहीजात्राका क्रममा सहभागीहरूले दही बोकेर एकअर्कामा छ्यापाछ्याप गर्दै उत्सव मनाउँछन्। परम्परागत बाजागाजाको धुन, स्थानीय बासिन्दाको उत्साह र सामूहिक सहभागिताले गाउँका बस्ती तथा सडकहरूलाई जात्रामय बनाउँछ।
स्थानीय परम्परामा दहीलाई शुभता, प्रसाद र धार्मिक आस्थाको प्रतीकका रूपमा लिइन्छ। दही छ्याप्ने चलनलाई देवीको विजयको खुसी, आपसी सद्भाव र सामूहिक उल्लासको अभिव्यक्तिका रूपमा पनि बुझिन्छ। जात्रामा गुठीयार, स्थानीय बासिन्दा, आफन्त तथा आगन्तुकको सहभागिताले तौथलीको सामाजिक र सांस्कृतिक जीवनलाई थप जीवन्त बनाउँछ।
देशका अधिकांश स्थानमा विजयादशमीकै दिन दसैँको मुख्य उत्सव मनाइँदा तौथलीमा एकादशीका दिन विशेष जात्रा मनाइनु यस क्षेत्रको सांस्कृतिक विशिष्टता हो। ढोका पाइताः, लिङ्गो जात्रा, खड्ग जात्रा, गोरखनाथ जात्रा र दहीजात्रा एकअर्कासँग जोडिएका धार्मिक तथा सांस्कृतिक परम्परा हुन्।
फूलपातीदेखि सुरु हुने जात्राका गतिविधि, नवमीमा सरकारी राँगाको पूजा, एकादशीमा महिषासुरको प्रतीकात्मक वध, छवटा लिङ्गो नचाउने परम्परा, बाटोघाटो बार्ने तान्त्रिक विधि, मोहनी मे, नवदुर्गाका नौ खाँडाको नाच र अन्त्यमा दहीजात्रासम्मका गतिविधिले तौथलीको समृद्ध सांस्कृतिक विरासतलाई उजागर गर्छन्।
बदलिँदो समय र आधुनिक जीवनशैलीका बीच यस्ता मौलिक परम्पराको संरक्षण, अभिलेखीकरण र प्रचारप्रसार आवश्यक छ। स्थानीय गुठी, गुठीयार खलक, समुदाय, संस्कृतिविद् र सम्बन्धित निकायबीच सहकार्य गरी जात्राको इतिहास तथा विधिलाई व्यवस्थित रूपमा अभिलेख राख्न सके भावी पुस्तामा यो सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न सहज हुनेछ।
तौथलीको एकादशी जात्रा केवल धार्मिक उत्सव होइन, पुर्खाले सुम्पिएको इतिहास, आस्था र सभ्यताको जीवन्त पहिचान हो। यसले नेपालको सांस्कृतिक विविधतालाई समृद्ध बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परा र सामाजिक पहिचानसँग जोड्ने काम गर्छ। त्यसैले यस अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नु स्थानीय समुदाय मात्र नभई समग्र समाजको साझा दायित्व हो।
भेषबहादुर श्रेष्ठ, तौथली, सिन्धुपाल्चोक ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij
