नेपाल सम्वत् ११४६, कौलाथ्वः १४, चतुर्दशी (८ कार्तिक २०८३, २५ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर पुगेर भगवान् शिवको दर्शन गर्ने चाहना धेरैको हुन्छ। तर, कठिन भौगोलिक अवस्था, लामो यात्रा, उमेर र महँगो खर्चका कारण सबैका लागि प्रत्यक्ष तीर्थयात्रा सहज छैन। यस्तो अवस्थामा नेपालगञ्जबाट सञ्चालन हुने माउन्टेन फ्लाइट कैलाश मानसरोवर क्षेत्रको हवाई दृश्यावलोकन गर्न चाहने श्रद्धालुका लागि आकर्षक विकल्प बन्दै गएको छ।
श्री एयरलाइन्सले नेपालगञ्जबाट सञ्चालन गर्दै आएको माउन्टेन फ्लाइटमार्फत हिमाली क्षेत्रको दृश्यावलोकन गर्ने यात्रुको आकर्षण बढ्दै गएको पर्यटन व्यवसायीले बताएका छन्। विशेषगरी ज्येष्ठ नागरिक, लामो र कठिन यात्रा गर्न नसक्ने तथा प्रत्यक्ष तीर्थयात्राका लागि आवश्यक खर्च जुटाउन कठिन हुने श्रद्धालुका लागि यो सेवा उपयोगी माध्यम बनेको छ।
रिचा ट्रेक तथा टच कैलाश टुर एन्ड ट्राभल्सका नेपालगञ्जस्थित स्थानीय प्रतिनिधि विष्णु रावतका अनुसार हालसम्म करिब पाँचदेखि छ हजार जनाले माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर क्षेत्रको दूरदर्शन गरिसकेका छन्। उनका अनुसार शनिबार मात्रै श्री एयरलाइन्सका सातवटा उडानमार्फत रिचा ट्रेक, टच कैलाश टुर एन्ड ट्राभल्स र पथिल ट्राभल्सबाट आएका तीन सय भारतीय पर्यटकले हिमाली क्षेत्रको दृश्यावलोकन गरेका थिए।
“उमेर ढल्किएका र लामो यात्रा गर्न नसक्ने व्यक्तिहरूलाई पनि भगवान् शिवको दर्शन गर्ने अवसर दिनु यसको मुख्य उद्देश्य हो। प्रत्यक्ष रूपमा त्यहाँ पुग्न नसक्नेहरूले तुलनात्मक रूपमा कम खर्चमा दूरदर्शन गर्न पाउनु राम्रो माध्यम बनेको छ,” रावतले बताउनुभयो।
माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर क्षेत्रको दूरदर्शन गर्न नेपाली नागरिकले २० हजार रुपैयाँ खर्च गर्नुपर्ने रावतले जानकारी दिनुभयो। भारतीय पर्यटकका लागि भने प्याकेजअनुसार झ्यालछेउको सिटमा ८८ हजार रुपैयाँ र अन्य सिटमा ४८ हजार नेपाली रुपैयाँ शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो।
भारतीय पर्यटकका लागि उपलब्ध प्याकेजमा भारतको लखनउ विमानस्थलदेखि नेपालगञ्जसम्मको यात्रा, नेपालगञ्जमा दुई रातको बसाइ, माउन्टेन फ्लाइट तथा लखनउ फर्किने व्यवस्था समावेश रहेको उहाँले जानकारी दिनुभयो।
रावतका अनुसार कैलाश मानसरोवरसम्म पुगेर प्रत्यक्ष तीर्थयात्रा गर्न भारतीय श्रद्धालुले करिब दुई लाख ५० हजारदेखि दुई लाख ८० हजार भारतीय रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा तुलनात्मक रूपमा कम समय र खर्चमा हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिने भएकाले माउन्टेन फ्लाइटप्रति पर्यटकको आकर्षण बढेको उहाँको भनाइ छ।
कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीका लागि भगवान् शिवसँग जोडिएको महत्त्वपूर्ण धार्मिक गन्तव्य हो। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम मानिने यस क्षेत्रको दर्शन गर्ने चाहना बोकेका श्रद्धालुका लागि हवाई दृश्यावलोकनले नयाँ सम्भावना खोलेको छ।
यद्यपि, माउन्टेन फ्लाइटबाट गरिने दूरदर्शन र कैलाश मानसरोवर पुगेर गरिने प्रत्यक्ष तीर्थयात्रा फरक अनुभव हुन्। हवाई यात्राबाट हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिए पनि तीर्थस्थलमा पुगेर पूजा, प्रार्थना तथा अन्य धार्मिक अनुष्ठान गर्ने अवसर प्राप्त हुँदैन। साथै, मौसम, दृश्यता र उडान मार्गका आधारमा यात्रुले देख्न पाउने दृश्य फरक पर्न सक्छ।
नेपालगञ्जबाट सञ्चालन हुने माउन्टेन फ्लाइटले धार्मिक आस्था र हिमाली पर्यटनलाई जोड्दै यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा योगदान पुर्याउने सम्भावना बोकेको छ। भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालन हुने यस्ता सेवाले नेपालगञ्जमा होटल, यातायात, ट्राभल्स तथा अन्य पर्यटनसम्बन्धी व्यवसायलाई समेत लाभ पुर्याउन सक्छन्।
तर, यस सेवालाई थप व्यवस्थित र विश्वसनीय बनाउन उडानको नियमितता, प्याकेजको स्पष्ट मूल्य, यात्रुले प्राप्त गर्ने सुविधा तथा मौसमका कारण उडान प्रभावित हुँदा अपनाइने व्यवस्थाबारे पारदर्शी जानकारी उपलब्ध गराउनु आवश्यक छ।
समग्रमा, नेपालगञ्जबाट सञ्चालन हुने कैलाश मानसरोवर क्षेत्रको माउन्टेन फ्लाइट प्रत्यक्ष तीर्थयात्रा गर्न नसक्ने श्रद्धालुका लागि हिमाली क्षेत्रको दृश्यावलोकन गर्ने वैकल्पिक माध्यम बन्दै गएको छ। उचित व्यवस्थापन र प्रभावकारी प्रचारप्रसार गर्न सके यसले नेपालगञ्जलाई धार्मिक तथा हिमाली पर्यटनको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउन सक्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij