प्राचीन सहर भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको प्रसिद्ध खड्ग जात्रा सम्पन्न भएको छ। नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजयादशमीको समापनसँग जोडिएको यस जात्रा प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन मनाइन्छ। दिनभर सञ्चालन हुने खड्ग जात्राले देवी दुर्गा र दैत्य महिषासुरबीचको युद्ध, देवताहरूको विजय तथा दुष्ट शक्तिमाथि सत्यको विजय भएको पौराणिक कथालाई जीवन्त रूपमा प्रस्तुत गर्छ।
दोलखाको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको खड्ग जात्रा राजकुलेश्वर मन्दिरबाट बिहानै सुरु भई विभिन्न टोल, मन्दिर, डबली तथा ऐतिहासिक स्थल हुँदै पुनः राजकुलेश्वरमै पुगेर समापन हुन्छ। परम्परागत बाजागाजा, विशेष वेशभूषा, खड्ग नृत्य र युद्धको अभिनयले भरिपूर्ण यस जात्रामा स्थानीयवासी तथा विभिन्न स्थानबाट आएका दर्शनार्थीको सहभागिता रहने गर्छ।
खड्ग जात्राको धार्मिक आधार देवी दुर्गाले महिषासुर नामक शक्तिशाली असुरको वध गरेको पौराणिक कथासँग सम्बन्धित छ। हिन्दू धार्मिक मान्यताअनुसार महिषासुरले कठोर तपस्या गरी ब्रह्माबाट पुरुषले मार्न नसक्ने वरदान प्राप्त गरेका थिए। आफूलाई अजेय ठानेपछि उनले देवताहरूलाई पराजित गर्दै स्वर्गलोकसमेत कब्जा गरे र तीनै लोकमा अत्याचार मच्चाउन थाले।
महिषासुरको अत्याचारबाट त्रसित देवताहरूले ब्रह्मा, विष्णु र महेश्वरसँग सहायता मागे। त्यसपछि त्रिदेवसहित अन्य देवताहरूको दिव्य शक्तिको समन्वयबाट देवी दुर्गाको उत्पत्ति भएको धार्मिक कथन छ। देवी दुर्गा र महिषासुरबीच नौ दिनसम्म भीषण युद्ध भयो। अन्ततः देवी दुर्गाले महिषासुरको वध गरी देवता तथा समस्त संसारलाई उनको अत्याचारबाट मुक्त गराइन्।
यसै विजयको सम्झनामा दोलखामा नवरात्रभर देवी दुर्गाको पूजाआराधना गर्ने र विजयादशमी मनाउने परम्परा रहिआएको छ। दोलखाको खड्ग जात्राले भने यही पौराणिक घटनालाई पात्र, नृत्य, खड्ग र युद्धका विभिन्न दृश्यमार्फत प्रत्यक्ष प्रदर्शन गर्छ। यहाँको जात्राको विशेषता भनेको महिषासुर वधको कथालाई स्थानीय देवदेवी, मन्दिर र परम्परागत पात्रहरूसँग जोडेर प्रस्तुत गर्नु हो।
खड्ग जात्राको प्रारम्भिक चरणमा माथिल्लो बिहार्छे, तल्लो बिहार्छे र डाँडथोक टोलबाट एक–एक जना योद्धा विशेष वेशभूषा र फूलमालासहित कोटछें टोलस्थित राजकुलेश्वरमा पुग्छन्। परम्पराअनुसार यी योद्धाहरू राजाको निमन्त्रणामा युद्धमा सहभागी हुन आएका पात्रका रूपमा प्रस्तुत हुन्छन्।
त्यसपछि राजा, उनका दुई अंगरक्षक, भगवती तथा अन्य योद्धासहितको समूह राजकुलेश्वर पुग्छ। नक्छे टोलका याकरगन नामक पात्रले देवताहरूको सेनाको सेनापतिको भूमिका निर्वाह गर्छन्। सबै योद्धाले परम्परागत जामा, सुरुवाल, पगडी र पटुका लगाउनुका साथै हातमा खड्ग अर्थात् तरबार बोकेका हुन्छन्। भगवतीको हातमा भने ढाल र विशेष प्रकारको बन्चरो हुन्छ। जसको भुमीका कोट्छे खलकले गरेको हुन्छ ।
राजकुलेश्वरमा विधिपूर्वक पूजाआराधना गरी विजयको कामना गरिन्छ। पुजारीले तरबारको पूजा गरेर योद्धाहरूलाई वितरण गरेपछि याकरगनको नेतृत्वमा युद्ध यात्रा सुरु हुन्छ। राजकुलेश्वरको चोकमा परम्परागत बाजाको तालमा युद्ध नृत्य प्रस्तुत गरिन्छ। त्यसपछि देवताहरूको सेना विभिन्न टोल हुँदै अगाडि बढ्छ।
बहिर टोल, नक्छे टोलको बौद्ध स्तूप, कोटछें, गुरकोट र टसिचा टोललगायत स्थानमा प्रस्तुत गरिने नृत्यले देवता र असुरबीचको युद्धको दृश्यलाई पुनःस्मरण गराउँछ। जात्रामा प्रयोग गरिने पोशाक, खड्ग, झण्डा र बाजागाजाले यसको ऐतिहासिक तथा सांस्कृतिक विशिष्टता झल्काउँछन्।
खड्ग जात्राको अर्को महत्वपूर्ण चरण टसिचा टोलपछि सुरु हुन्छ। यहाँबाट याकरगन तीन जना योद्धासहित पिंगल टोल पुगेर देवी बालकुमारीसँग युद्धमा सहयोग माग्छन्। देवी बालकुमारीले सहयोग स्वीकार गरेपछि आफ्ना योद्धाहरूलाई देवताहरूको सेनामा सहभागी गराउँछिन्। यसपछि युद्धको अभिनय थप उत्साहका साथ अगाडि बढ्छ।
रास्नीको उकालोमा पुगेपछि योद्धाहरूले दानवको प्रतीकका रूपमा सजाइएको माटोको भाँडोलाई प्रहार गर्दै महिषासुरको वधको दृश्य प्रस्तुत गर्छन्। त्यसपछि लिस्टोल र भीमसेन डबली हुँदै उनीहरू भीमेश्वर मन्दिर पुग्छन्।
भीमेश्वर मन्दिरमा अघिल्लो दिन बलि चढाइएका तीनवटा भैंसीलाई प्रतीकात्मक रूपमा प्रहार गरी असुरमाथिको विजयको अभिनय गरिन्छ। त्यसपछि याकरगन र केही योद्धा मन्दिरभित्र प्रवेश गरी भगवान् भीमेश्वरको मूर्तिसामु नृत्य र पूजाआराधना गर्छन्। भीमेश्वरको आशीर्वाद लिएपछि उनीहरू देवी त्रिपुरासुन्दरी भगवतीको सहयोग लिन देवीकोट मन्दिरतर्फ प्रस्थान गर्छन्।
देवीकोट मन्दिरमा याकरगनले ‘भूत कोठा’ भनिने अँध्यारो कोठामा प्रवेश गरी लुकेका राक्षसको खोजी गर्ने दृश्य पनि जात्राको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिन्छ। यसले असत्यमाथि विजय प्राप्त गर्न दुष्ट शक्तिको खोजी र विनाश गर्नुपर्ने प्रतीकात्मक सन्देश दिन्छ।
खड्ग जात्रामा भटिङ्खारा र याकरगन दुई प्रमुख पात्र हुन्। याकरगनले सुरुमा देवताहरूको सेनापतिको भूमिका निर्वाह गर्छन् भने त्रिपुरासुन्दरी भगवतीको आशीर्वादपछि भटिङ्खारा महिषासुर वध गर्ने प्रमुख योद्धाका रूपमा अगाडि आउँछन्।
स्थानीय परम्पराअनुसार देवी त्रिपुरासुन्दरी भगवतीले आफ्नो शक्ति भटिङ्खारालाई प्रदान गरी महिषासुरको वध गर्न पठाउँछिन्। यसरी भटिङ्खारालाई देवीको शक्तिबाट सुसज्जित योद्धाका रूपमा प्रस्तुत गरिन्छ। उनको विशेष वेशभूषा, शरीरमा लगाइने भैंसीको आन्द्राको माला, निधारको टीका र हातमा रहेका खड्गले पात्रलाई भयङ्कर तथा शक्तिशाली स्वरूप प्रदान गर्छन्।
भटिङ्खाराका चार हात भएको दृश्य देखाउन पछाडि बसेका सहयोगीले एक हातमा डमरु र अर्को हातमा घण्टी बजाउने परम्परा छ। उनी बटुक भैरवको मूर्तिको काखमा बसेर मातृस्वरूपा भगवतीको आशीर्वाद लिन्छन्। मन्दिरमा विभिन्न अनुष्ठान पूरा भएपछि भटिङ्खारा र याकरगनसहितका योद्धाहरू युद्धका लागि बाहिर निस्कन्छन्।
भटिङ्खारा मन्दिरबाट बाहिर निस्किएपछि क्रोधित मुद्रामा खड्ग नचाउँदै दानवसँग युद्ध गरिरहेको अभिनय गर्छन्। देवी दुर्गाको प्रतीकका रूपमा प्रस्तुत हुने पात्रले उनलाई युद्धमा मार्गदर्शन र प्रोत्साहन दिन्छन्। यस चरणमा याकरगन र भटिङ्खाराको संयुक्त नेतृत्वमा देवताहरूको सेनाले राक्षसहरूको खोजी गर्दै विभिन्न टोल परिक्रमा गर्छ।
दुङ्गल टोलस्थित नाट्येश्वर मन्दिर हुँदै योद्धाहरूको समूह अगाडि बढ्छ। त्यहाँ भजन गायकहरूको समूहसमेत सहभागी हुन्छ। केही योद्धा भजनको तालमा र केही परम्परागत बाजागाजाको धुनमा नृत्य गर्दै बहिर टोलस्थित चक्कर अर्थात् मण्डपमा पुग्छन्।
चक्करमा याकरगन, भटिङ्खारा र अन्य योद्धाहरूले मण्डपको चार कुनामा रहेर नृत्य गर्छन्। अघिल्लो दिन बलि चढाइएको भैंसीलाई प्रतीकात्मक रूपमा प्रहार गर्दै महिषासुर वधको कथालाई थप जीवन्त बनाइन्छ। त्यसपछि जात्राको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण चरण ‘छेर प्वाले’ अर्थात् राक्षसको शिर काट्ने स्थानमा पुग्छ।
त्यहाँ देवताहरूको सेनाले चक्रब्यूह बनाएर विशाल भैंसीको रूप धारण गरेको महिषासुरलाई चारैतिरबाट घेर्छ। सुरुमा राजकुलेश्वरका भगवती र याकरगनले तथा त्यसपछि अन्य योद्धाहरूले महिषासुरको प्रतीकका रूपमा राखिएको भैंसीको टाउकोमा खड्ग प्रहार गर्छन्। अन्ततः भटिङ्खाराले महिषासुरको शिर काटेर वध गरेको अभिनय गर्छन्।
यसरी जात्राको मुख्य कथा देवताहरूको विजय र असुरी शक्तिको पराजयसँगै टुङ्गिन्छ। यो दृश्यले सत्य, धर्म र न्यायको विजय हुने तथा अन्याय र अत्याचारको अन्त्य निश्चित हुने सन्देश प्रवाह गर्छ।
महिषासुरको वधपछि जात्रामा बजाइने बाजाको धुन परिवर्तन गरी विजयको प्रतीक ‘सगुन बाजा’ बजाइन्छ। त्यसपछि याकरगनको सेनाले भटिङ्खारा र उनको सेनालाई दुङ्गल टोलस्थित बौद्ध स्तूपमा तथा देवी बालकुमारीको सेनालाई पिंगल टोलमा ‘लशखश’ भनिने परम्परागत विधिबाट बिदाइ गर्छ।
बिदाइको समयमा दुवै पक्षका योद्धाहरू दुई विपरीत पङ्क्तिमा उभिएर बोल्नुको सट्टा आँखा र हातका संकेतबाट एकअर्काप्रति कृतज्ञता व्यक्त गर्छन्। यो दृश्यले देवताहरूबीचको आत्मीयता, सहकार्य र विजयमा पु¥याएको योगदानप्रति सम्मान प्रकट गरेको मानिन्छ।
त्यसपछि जात्रामा सहभागी त्रिपुरासुन्दरीबाट निस्कीएका देवगण भटीङ्खार त्रिपुरासुन्दरी फर्कन्छ भने त्यसै गरी अन्य देवगणहरु राजकुलेश्वर फर्कन्छन्। त्यहाँ विशेष अनुष्ठान गरिन्छ। भगवती र उनका सिपाहीहरूले राजकुलेश्वरअगाडि राखिएको कुभिन्डोलाई खड्गले प्रहार गर्छन्। राक्षसको अवशेष अझै बाँकी हुन सक्ने मान्यतासँग जोडिएको यस विधिमा कुभिन्डोका टुक्रा लिन जात्रा हेर्न आएका मानिसहरूबीच उत्साह देखिन्छ।
स्थानीय जनविश्वासअनुसार कुभिन्डोका टुक्रा खुवाउँदा बाँझो गाई वा बाख्रासमेत गर्भवती हुन सक्छन्। यसले जात्रामा धार्मिक आस्था, कृषि तथा पशुपालनसँग जोडिएका लोकविश्वाससमेत समेटिएको देखाउँछ।
यसरी बिहान राजकुलेश्वरबाट सुरु भएको खड्ग जात्रा दिनभर विभिन्न टोल र मन्दिरको परिक्रमा गरी साँझ पुनः राजकुलेश्वरमै पुगेर सम्पन्न हुन्छ। जात्राको समापनसँगै दोलखामा बडादसैँको धार्मिक उत्सवले पनि पूर्णता पाउँछ।
प्राचिन शहर भीमेश्वर नगर दोलखा नेपालको प्राचीन नेवार बस्तीमध्ये एक हो। यहाँ आफ्नै मौलिकता रहेको नेपाल (नेवार) भाषा, पुराना मठ–मन्दिर, परम्परागत बस्ती, देवदेवीका जात्रा, बाजागाजा र धार्मिक अनुष्ठानले यस क्षेत्रको समृद्ध सांस्कृतिक इतिहासलाई प्रतिबिम्बित गर्छन्। भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी भगवती, बालकुमारी र राजकुलेश्वरजस्ता धार्मिक स्थलसँग जोडिएको खड्ग जात्रा दोलखाको सामूहिक सांस्कृतिक स्मृतिको महत्वपूर्ण हिस्सा हो।
यस जात्राको विशेषता पौराणिक कथालाई पुस्तक वा प्रवचनमा मात्र सीमित नराखी स्थानीय पात्र, ऐतिहासिक स्थल र सामुदायिक सहभागितामार्फत पुस्तौँदेखि हस्तान्तरण गर्दै आउनु हो। जात्रामा सहभागी प्रत्येक पात्रको निश्चित भूमिका हुन्छ। कुन टोलबाट योद्धा आउने, कुन मन्दिरमा पूजा गर्ने, कहाँ युद्ध नृत्य देखाउने र कहाँ महिषासुरको वध गर्ने भन्ने परम्परागत क्रमले जात्राको मौलिकता कायम राखेको छ।
खड्ग जात्रा धार्मिक आस्थाको अभिव्यक्ति मात्र नभई दोलखाको अमूर्त सांस्कृतिक सम्पदासमेत हो। यसले स्थानीय समुदायबीच सहकार्य, एकता, परम्पराप्रतिको सम्मान र सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ। आधुनिक समयको परिवर्तनका बाबजुद यस्ता जात्रा निरन्तर सञ्चालन हुनु स्थानीयवासीको सांस्कृतिक चेतना र परम्पराप्रतिको समर्पणको उदाहरण हो।
बडादसैँको एकादशीका दिन दोलखा पुग्ने श्रद्धालु तथा पर्यटकले भीमेश्वर र त्रिपुरासुन्दरी भगवतीको दर्शनसँगै दिनभर चल्ने खड्ग जात्राको अनौठो दृश्य अवलोकन गर्ने अवसर पाउँछन्। पौराणिक कथाको नाटकीय प्रस्तुति, परम्परागत बाजागाजा, विशेष वेशभूषा र धार्मिक अनुष्ठानले खड्ग जात्रालाई नेपालको मौलिक सांस्कृतिक सम्पदामध्ये विशिष्ट बनाएको छ।
प्राचीन शहर भीमेश्वर नगर दोलखाको ऐतिहासिक पहिचान र स्थानीय समुदायको जीवन्त परम्पराका रूपमा रहेको खड्ग जात्राको संरक्षण, अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो। यसले धार्मिक आस्थाको निरन्तरतासँगै नेपालको विविधतापूर्ण सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउन सक्छ।
यसै गरी दिन प्रतिदिन यस जात्रा लगायत दोलखाका अत्य महत्वपुर्ण जात्राहरु लोप हुने अवस्थामा रहेकोले यसको संरक्षणको लागि विशेषतः स्थानिय निकायको ध्यान पुग्नु आवश्यकता रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij
