Oct 25 2026 | २०८३, कार्तिक ८, गते

Oct 25 2026 | २०८३, कार्तिक ८, गते

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

नेपाल सम्वत् ११४६, कौलाथ्वः १४, चतुर्दशी (८ कार्तिक २०८३, २५ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार प्रथम महिला सविता पौडेलसहित भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्नुभएको छ।

भक्तपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नवदुर्गा मन्दिरमा अपराह्न पुग्नुभएका राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयवासीले स्वागत गरेका थिए। राष्ट्रपति पौडेलको आगमनका अवसरमा मन्दिर परिसरमा परम्परागत रूपमा पूजाअर्चनाका क्रममा प्रस्तुत गरिने सांस्कृतिक नृत्यसमेत प्रदर्शन गरिएको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकन गर्नुका साथै नवदुर्गा भवानीको दर्शन र पूजाअर्चना गर्नुभयो। उहाँले नवदुर्गाका पुजारी, नाइके तथा देवगणलाई दक्षिणासमेत प्रदान गर्नुभयो।

भक्तपुरको नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नौ देवीको पूजा गर्ने परम्परा छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मन्दिरमा बडादसैँका अवसरमा विशेष पूजाआजा गरिन्छ।

पूजाअर्चनापछि राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गर्नुभएको थियो।

नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको नवदुर्गा मन्दिर भक्तपुरको महत्त्वपूर्ण धार्मिक सम्पदाका रूपमा परिचित छ। यहाँ मनाइने विभिन्न जात्रा, पर्व तथा सांस्कृतिक गतिविधिले नेवार समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक परम्परालाई जीवन्त राख्न योगदान पुर्‍याउँदै आएका छन्।

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। राष्ट्रपति पौडेलको यस भ्रमणले धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरता र ऐतिहासिक सम्पदाप्रतिको सम्मानलाई प्रतिबिम्बित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार