नेपाल सम्वत् ११४६, कौलाथ्वः ३, तृर्तिया (२७ असोज २०८३, १३ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । कुवेतबाट नेपाल फर्किने हवाई टिकट बनाइदिने भन्दै ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दीप ज्योति इन्टरनेसनल ट्राभल एण्ड टुर्स प्रा.लि. विरुद्ध प्रहरीमा उजुरी परेको छ।
दोलखाको कालिन्चोक गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौंको चाबहिल बस्ने केन्द्रबहादुर थामीले आफ्नी बहिनी बबिता थामीलाई ठगी गरिएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनमा उजुरी दिएका हुन्।
कुवेतमा वैदेशिक रोजगारीमा रहेकी बबिताले नेपाल फर्किनका लागि फेसबुक र ह्वाट्सएपमार्फत उक्त ट्राभल एजेन्सीसँग सम्पर्क गरेकी थिइन्। एजेन्सीका प्रतिनिधिले हवाई टिकट बनाउन ७५ हजार रुपैयाँ लाग्ने बताएपछि उनले असोज २३ गते कुवेतको नेशनल एक्सचेन्जमार्फत १३०.८०० कुवेती दिनार रकम भुक्तानी गरेकी थिइन्।
रकम प्राप्त भएपछि ट्राभल एजेन्सीले बबिताको नाममा अक्टोबर १२, २०२६ का लागि कुवेत एयरवेजको उडान नम्बर KU-393 उल्लेख गरिएको ई–टिकट ह्वाट्सएपमार्फत पठाएको थियो। तर, टिकटको आधिकारिकता जाँच गर्दा उक्त टिकट नक्कली भएको थाहा पाएपछि बबिताले सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्ने प्रयास गरेकी थिइन्। त्यसपछि उनीहरू सम्पर्कविहीन भएको उजुरीमा उल्लेख छ।
घटनामा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–३ मा कार्यालय रहेको दीप ज्योति इन्टरनेसनल ट्राभल एण्ड टुर्स प्रा.लि. तथा उक्त एजेन्सीसँग सम्बन्धित व्यक्तिलाई विपक्षी बनाइएको छ।
पीडितका दाजु केन्द्रबहादुर थामीले बैंक भुक्तानीको रसिद, नक्कली हवाई टिकट र ट्राभल एजेन्सीको विज्ञापनलगायतका प्रमाणसहित प्रहरीमा निवेदन दिएका हुन्। उनले घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गरी पक्राउ गर्न, कानुनबमोजिम कारबाही गर्न र ठगी भएको रकम फिर्ता गराउन माग गरेका छन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत ठगीका घटना हुन सक्ने भएकाले हवाई टिकट खरिद गर्दा सम्बन्धित एयरलाइन्स वा आधिकारिक ट्राभल एजेन्सीबाट टिकटको वैधता पुष्टि गर्न आवश्यक छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij