Oct 16 2026 | २०८३, आश्विन ३० गते

Oct 16 2026 | २०८३, आश्विन ३० गते

दोलखामा खसी–बोका मेला सम्पन्न, १४७ किसान सहभागी, उत्कृष्ट किसान पुरस्कृत

दोलखामा खसी–बोका मेला सम्पन्न, १४७ किसान सहभागी, उत्कृष्ट किसान पुरस्कृत

नेपाल सम्वत् ११४६, कौलाथ्वः ४, चौथी (२८ असोज २०८३, १४ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । बाख्रापालन व्यवसायमा संलग्न किसानलाई प्रोत्साहन गर्दै पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले आयोजित बाख्रापालक किसान प्रोत्साहन तथा खसी–बोका मेला–२०८३ सम्पन्न भएको छ। मेलामा १४७ जना किसान सहभागी भएका थिए भने बिक्री तथा प्रदर्शनीका लागि २०५ वटा खसी–बोका राखिएका थिए।

goat.jpg

मेलामा २३ वटा खसी–बोका बिक्री भएका छन्। बिक्री भएका खसी–बोकाको कुल तौल ६०० किलोग्राम रहेको जनाइएको छ। किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले बिक्री भएको मासुको तौलका आधारमा प्रतिकिलोग्राम ४० रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको थियो।

मेलामा उत्कृष्ट बाख्रापालक किसानलाई पुरस्कृतसमेत गरिएको थियो। जसअन्तर्गत शिवराम कार्कीले प्रथम हुँदै १० हजार रुपैयाँ प्राप्त गर्नुभयो। त्यसैगरी, कमला श्रेष्ठले द्वितीय पुरस्कारस्वरूप ७ हजार रुपैयाँ, सुन्तली श्रेष्ठले तृतीय पुरस्कारबापत ४ हजार रुपैयाँ र दुर्गादेवी कार्कीले सान्त्वना पुरस्कारस्वरूप २ हजार रुपैयाँ प्राप्त गर्नुभयो।

मेलाको अवसरमा पशु स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमार्फत किसानका पशुको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श प्रदान गरिएको थियो।

ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि, पशुपन्छी तथा पशु सेवा कार्यालयका डा. मदन भण्डारी, भीमेश्वर नगरपालिकाको पशु शाखा प्रमुख डा. निसान दाहाल र श्याम खड्का मूल्याङ्कनकर्ताका रूपमा सहभागी हुनुभएको थियो।

मेलाले बाख्रापालक किसानलाई प्रोत्साहन गर्नुका साथै उत्पादित खसी–बोकाको बजारीकरण, पशु स्वास्थ्य सुधार र स्थानीय स्तरमा पशुपालन व्यवसायको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न तथा कृषि र पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार