Oct 15 2026 | २०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

दोलखा भीमेश्वर गुठीको अधिवेशन कार्तिक मसान्तभित्र गरिने, खड्ग जात्राको निरन्तरताबारे चिन्ता

दोलखा भीमेश्वर गुठीको अधिवेशन कार्तिक मसान्तभित्र गरिने, खड्ग जात्राको निरन्तरताबारे चिन्ता

नेपाल सम्वत् ११४६, कौलाथ्वः ४, चौथी (२८ असोज २०८३, १४ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरस्थित दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले वडा दसैँ २०८३ को अवसरमा शुभकामना आदानप्रदान, आर्थिक विवरण प्रस्तुतीकरण तथा आगामी नीति र कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा समितिको अधिवेशन आगामी कार्तिक मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

chiya.jpg

मङ्गलबार बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानीय सरोकारवाला, बुद्धिजीवी तथा भक्तजनहरूको उपस्थिति रहेको थियो। समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्तिक मसान्तभित्र अधिवेशन गर्ने प्रतिबद्धता

कार्यक्रममा गुठी व्यवस्थापन समितिले हालसम्मको आर्थिक विवरण प्रस्तुत गर्दै आर्थिक पारदर्शिता र संस्थाको आगामी योजनाबारे जानकारी गराएको थियो। समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले आर्थिक पक्ष, आगामी नीति तथा कार्यक्रमबारे विस्तृत जानकारी दिँदै २०८३ साल कार्तिक मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनमार्फत गुठी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने, स्थानीय सरोकारवालाको सहभागिता बढाउने तथा मन्दिरको धार्मिक र सांस्कृतिक परम्पराको संरक्षणमा जोड दिने विषयमा समेत छलफल भएको थियो।

ऐतिहासिक खड्ग जात्राको निरन्तरताबारे चिन्ता

कार्यक्रममा दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको खड्ग जात्राको निरन्तरताबारे गम्भीर छलफल भएको छ। विजयादशमीको भोलिपल्ट मनाइने परम्परागत खड्ग जात्रा सञ्चालनमा पछिल्लो समय चुनौती थपिँदै गएको सहभागीहरूले औँल्याएका छन्।

जात्रामा खड्ग समात्ने तथा विभिन्न परम्परागत भूमिका निर्वाह गर्ने अग्रज पुस्ताका व्यक्तिहरू उमेर र स्वास्थ्य समस्याका कारण सक्रिय हुन नसक्ने अवस्था बढ्दै गएको छ। अर्कोतर्फ, युवा पुस्ता वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेशिने क्रम बढ्दा परम्परा धान्ने जनशक्तिको अभाव हुन थालेको विषयमा चिन्ता व्यक्त गरिएको थियो।

दोलखाको ऐतिहासिक सांस्कृतिक धरोहरका रूपमा रहेको खड्ग जात्रालाई निरन्तरता दिन नयाँ पुस्तालाई आकर्षित गर्ने, परम्परागत सीप र जिम्मेवारी हस्तान्तरण गर्ने तथा जात्रा सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्ने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

मन्दिर र गुठी संरक्षणमा स्थानीय सरकारको सहयोग रहने

कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष स्टालिन श्रेष्ठले भीमेश्वर मन्दिरको धार्मिक, ऐतिहासिक र सांस्कृतिक गरिमा जोगाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले गुठी व्यवस्थापनका गतिविधि तथा सांस्कृतिक परम्पराको संरक्षणमा स्थानीय सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूले दसैँको शुभकामना आदानप्रदान गर्दै गुठीको संरक्षण, व्यवस्थापनमा पारदर्शिता र आगामी अधिवेशनलाई सफल बनाउन सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए।

समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा भीमेश्वर मन्दिरको धार्मिक महत्त्व, गुठी व्यवस्थापनको भावी दिशा र दोलखाको मौलिक संस्कृति संरक्षणका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

दोलखाको ऐतिहासिक पहिचानसँग जोडिएको भीमेश्वर मन्दिर र खड्ग जात्राजस्ता परम्पराको संरक्षणका लागि गुठी व्यवस्थापन समिति, स्थानीय सरकार, बुद्धिजीवी र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार