Oct 16 2026 | २०८३, आश्विन ३० गते

Oct 16 2026 | २०८३, आश्विन ३० गते

अब घरमै आइपुग्ने नेपाल टेलिकमको सिमकार्ड, हुलाकमार्फत सेवा सुरु

अब घरमै आइपुग्ने नेपाल टेलिकमको सिमकार्ड, हुलाकमार्फत सेवा सुरु

नेपाल सम्वत् ११४६, कौलाथ्वः ४, चौथी (२८ असोज २०८३, १४ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । सरकारले सरकारी सेवालाई डिजिटल तथा नागरिकमैत्री बनाउने उद्देश्यले नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड घरमै उपलब्ध गराउने ‘हुलाक–सिम सेवा’ सुरु गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयबाट उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिएर आवश्यक कागजात पेस तथा भुक्तानी गरेपछि हुलाक सेवामार्फत आफ्नो इच्छाएको स्थानमा सिमकार्ड प्राप्त गर्न सक्नेछन्। सिमकार्डका लागि ९० रुपैयाँ र डेलिभरी शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ लाग्नेछ। भुक्तानी बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेबाट गर्न सकिनेछ।

सेवाग्राहीले आवेदन गर्दा आफ्नो व्यक्तिगत विवरण, नजिकको ठेगाना, फोटो तथा नागरिकता वा राहदानीको प्रतिलिपि पेस गर्नुपर्नेछ। नेपाल टेलिकमले कागजात प्रमाणीकरण गरी आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिनेछ। त्यसपछि सम्बन्धित हुलाक कार्यालयमार्फत सिमकार्ड पठाइनेछ। सिमकार्डको डेलिभरी अवस्थासमेत अनलाइनबाट ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ।

सरकारले सहरी क्षेत्रमा आवेदन स्वीकृत भई भुक्तानी भएको करिब दुई घण्टाभित्र र ग्रामीण क्षेत्रमा तीन दिनभित्र सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखेको छ। सेवाको शुभारम्भका क्रममा मन्त्री तिमिल्सिनाले अनलाइन आवेदन दिएपछि करिब आधा घण्टामै मन्त्रालयमा सिमकार्ड प्राप्त गर्नुभएको थियो।

मन्त्री तिमिल्सिनाले नागरिकले चाहेकै स्थानमा सरकारी सेवा उपलब्ध गराउन सके समय र खर्च दुवै बचत हुने बताउँदै सिमकार्ड वितरणको समय अझ छोट्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवासमेत अनलाइन प्रणालीमा आबद्ध गर्न आग्रह गर्नुभयो।

सरकारले हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले हुलाक–सिम सेवालाई टेलिकमको सिम वितरण प्रणालीमा नयाँ सुरुआतका रूपमा व्याख्या गर्दै यसको दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले हुलाक कर्मचारीलाई आवश्यक तालिम तथा अभिमुखीकरण दिनुपर्नेमा समेत जोड दिनुभयो।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले नयाँ सेवाबाट सहरदेखि दूरदराजसम्मका नागरिकलाई सहज रूपमा सिमकार्ड प्राप्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

‘हुलाक–सिम सेवा’ कार्यान्वयनमा आएसँगै सिमकार्ड लिन टेलिकम कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र सरकारी सेवालाई प्रविधिमैत्री, सहज तथा नागरिकको पहुँचमा पुर्‍याउने प्रयासले थप गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार