ऐतिहासिक एवं प्राचीन सहर भीमेश्वर नगरी दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित वडा कार्यालयमा नेवारी परम्परा र विधिअनुसार विशेष झण्डा पूजा सम्पन्न भएको छ। नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था तथा ऐतिहासिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित पूजामा वडाको सुख, शान्ति, प्रगति र समृद्धिको कामना गरिएको थियो।
कुनै समय स्वतन्त्र राज्यका रूपमा रहेको ऐतिहासिक दोलखा नगरीको समृद्ध सांस्कृतिक विरासतलाई जीवन्त राख्ने उद्देश्यले सम्पन्न झण्डा पूजाले स्थानीय सरकार, सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था तथा समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
नेवारी परम्पराअनुसार विधिपूर्वक सम्पन्न पूजाका क्रममा पूजास्थललाई परम्परागत शैलीमा सजाइएको थियो। धार्मिक विधि र सांस्कृतिक रौनकले भरिएको पूजा समारोहले प्राचीन दोलखा नगरीको मौलिक पहिचान तथा सांस्कृतिक महत्त्वलाई झल्काएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पूजा समारोहमा भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, कार्यपालिका सदस्य मुना श्रेष्ठ, वडा कार्यालयका कर्मचारी, वडाभित्र रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा भीमेश्वर नगरपालिकाका कर्मचारी एवं अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्थानीय परम्पराअनुसार स्वागत गर्नुका साथै प्रसाद वितरण गरिएको थियो।
प्राचीन दोलखा नगरीको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परालाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, यस्ता गतिविधिले स्थानीय समुदायबीच एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्दै वडाको समग्र विकासका लागि सबै पक्षलाई एकजुट बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij