Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दोलखा भीमेश्वर भेटी बक्सबाट रु ३ लाख ६ हजार ५७१ संकलन

दोलखा भीमेश्वर भेटी बक्सबाट रु ३ लाख ६ हजार ५७१ संकलन

नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल दोलखा भीमेश्वर मन्दिरको भेटी बक्सबाट रु ३ लाख ६ हजार ५ सय ७१ संकलन भएको छ। दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले मन्दिरमा भक्तजनहरूले चढाएको भेटी रकम गणना गरी सार्वजनिक गरेको हो।

समितिद्वारा जारी मुचुल्काअनुसार २०८३ साल असोज ५ गते मन्दिर परिसरमा भेटी बक्स खोली रकम गणना गरिएको थियो। उक्त रकम २०८३ साल श्रावण २३ गतेदेखि असोज ५ गतेसम्म भक्तजन तथा दर्शनार्थीहरूले चढाएको भेटीबाट संकलन भएको जनाइएको छ।

रकम गणना गर्दा रु १ हजार दरका १९ थान नोटबाट रु १९ हजार, रु ५०० दरका ३८ थान नोटबाट रु १९ हजार, रु १०० दरका ६५६ थान नोटबाट रु ६५ हजार ६ सय, रु ५० दरका १ हजार १५५ थान नोटबाट रु ५७ हजार ७५०, रु २० दरका २ हजार ३७२ थान नोटबाट रु ४७ हजार ४४०, रु १० दरका ५ हजार २६१ थान नोटबाट रु ५२ हजार ६१० तथा रु ५ दरका ९ हजार ९६ थान सिक्का तथा नोटबाट रु ४५ हजार ४८० संकलन भएको विवरणमा उल्लेख छ। यसका अतिरिक्त भारतीय मुद्रा ७५ रुपैयाँ पनि भेटी बक्समा प्राप्त भएको समितिले जनाएको छ।

भेटी बक्स खोल्ने तथा रकम गणना गर्ने कार्य दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठको रोहवरमा सम्पन्न भएको थियो। पारदर्शिता र विश्वसनीयता कायम गर्न गणना प्रक्रियामा सशस्त्र प्रहरी बल तथा इलाका प्रहरी कार्यालय भीमेश्वरका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। उपस्थित सरोकारवालाहरूले गणना गरिएको रकमको विवरण प्रमाणित गरेका छन्।

दोलखा भीमेश्वर मन्दिर नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। विशेषगरी दशैँ, तिहार, रामनवमी, जनैपूर्णिमा तथा विभिन्न पर्वका अवसरमा यहाँ देशका विभिन्न जिल्लासहित विदेशबाट समेत भक्तजन दर्शनका लागि आउने गर्दछन्। मन्दिरमा दैनिक रूपमा चढाइने भेटी, पूजा सामग्री तथा धार्मिक अनुष्ठानबाट प्राप्त सहयोग रकम मन्दिरको संरक्षण, व्यवस्थापन, धार्मिक गतिविधि सञ्चालन तथा आवश्यक पूर्वाधार मर्मतसम्भारमा खर्च गरिँदै आएको छ।

गुठी व्यवस्थापन समितिका सचिव तथा अधिवक्ता राजेन्द्रनारायण श्रेष्ठले भक्तजनहरूको आस्था, श्रद्धा र विश्वासबाट प्राप्त हुने भेटी रकमको सदुपयोग गर्दै मन्दिर व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताए। उनले संकलित रकम नियमानुसार लेखा प्रणालीमा अभिलेखीकरण गरी धार्मिक, सांस्कृतिक तथा संरक्षणसम्बन्धी कार्यमा खर्च गरिने जानकारी दिए।

समितिले भक्तजनहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मन्दिरको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार