Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

सत्य र तथ्यका पक्षमा निरन्तर कलम चलाउने पत्रकार भवानी खड्का सम्मानित

सत्य र तथ्यका पक्षमा निरन्तर कलम चलाउने पत्रकार भवानी खड्का सम्मानित

नेपाल सम्वत् ११४६, गुंल्लागाः ०९, नवमी (२० भाद्र २०८३, ०५, सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । विभिन्न विषम परिस्थिति, जीवनका कठिन चुनौती र संघर्षका बाबजुद दोलखाका सत्य, तथ्य, सुशासन तथा सामाजिक न्यायका पक्षमा निरन्तर कलम चलाउँदै आएकी अन्नपूर्ण पोस्टकी दोलखा संवाददाता भवानी खड्का सम्मानित भएकी छन्।

नेपाल प्रेस युनियन दोलखाको १०औँ जिल्ला अधिवेशनको अवसरमा खड्कालाई ‘भीमबहादुर तामाङ स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि अजयबाबु शिवाकोटीले खड्कालाई कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो।

नेपाली राजनीतिमा निष्ठा, सादगी, निर्भीकता र उच्च लोकतान्त्रिक मूल्य–मान्यताका अद्वितीय प्रतीकका रूपमा स्मरण गरिने स्वर्गीय भीमबहादुर तामाङको नाममा स्थापित पत्रकारिता पुरस्कारबाट खड्का सम्मानित भएकी हुन्।

पत्रकार खड्काले लामो समयदेखि दोलखाका समग्र सामाजिक, राजनीतिक, विकास, सुशासन तथा नागरिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आएकी छन्। जिल्लाका दुर्गम क्षेत्रदेखि स्थानीय तहसम्मका नागरिकका समस्या, विकास निर्माण, सार्वजनिक सेवा प्रवाह तथा सामाजिक विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएकी खड्काको पत्रकारिताप्रतिको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको नेपाल प्रेस युनियन दोलखाले जनाएको छ।

पत्रकारिता क्षेत्रमा विभिन्न चुनौती र प्रतिकूल परिस्थितिका बीच पनि आफ्नो पेशागत जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै खड्काले जिल्लाका नागरिकका आवाजलाई सार्वजनिक बहसमा ल्याउने काम गर्दै आएकी छन्। विशेषगरी सुशासन, सामाजिक न्याय, नागरिक अधिकार र जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयमा उनको पत्रकारिता केन्द्रित हुँदै आएको छ।

सम्मान ग्रहण गर्दै पत्रकार खड्काले प्राप्त सम्मानले आफूलाई आगामी दिनमा अझ जिम्मेवार र तथ्यपरक पत्रकारिताका लागि प्रेरणा मिलेको बताएकी छन्। उनले पत्रकारिताको माध्यमबाट समाजका आवाजलाई निरन्तर उठाउँदै सत्य र तथ्यको पक्षमा आफ्नो कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपाल प्रेस युनियन दोलखाले पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक योगदान पुर्‍याउने सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ। **‘भीमबहादुर तामाङ स्मृति पत्रकारिता पुरस्कार’**ले पत्रकारलाई निष्पक्ष, निर्भीक र जिम्मेवार पत्रकारिताका लागि थप प्रेरित गर्ने अपेक्षा गरिएको छ।

दोलखाको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार खड्कालाई प्रदान गरिएको यस सम्मानलाई जिल्लाको पत्रकारिता क्षेत्रमा महिला पत्रकारको निरन्तर सक्रियता र योगदानको सम्मानका रूपमा समेत लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार