नेपाल सम्वत् ११४७, कछलाथ्वः ४, चौथी (२७ कार्तिक २०८३, १३ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाली कांग्रेसको देउवा समूहले दोलखामा जिल्ला अधिवेशनको तयारी पूरा गरेको छ। शनिबार (कात्तिक २८ गते) सदरमुकाम चरिकोटमा आयोजना हुने जिल्ला अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको आयोजकले जनाएको छ।
चरिकोटमा अधिवेशनको सम्पूर्ण तयारी पूरा, सबै वडा र सात पालिकामा नेतृत्व चयन भइसकेको दाबी
अधिवेशनलाई लक्षित गर्दै चरिकोट बजारका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, ब्यानर तथा तुल राख्ने र प्रचार सामग्री टाँस्ने काम गरिएको छ। अधिवेशनको प्रचार–प्रसारका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरू सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममार्फत सक्रिय भएका छन्। विभिन्न स्थानमा प्रचार सामग्री राखिएसँगै चरिकोटमा अधिवेशनको माहोल बनेको छ।
दोलखामा जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रबाट इन्चार्जको जिम्मेवारी पाएका नेता कुन्दनराज काफ्लेले भिडियो सन्देश जारी गर्दै अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरेका छन्। उनले अधिवेशनलाई सफल बनाउन सबैलाई एकजुट भएर सहभागी हुन आग्रह गरेका छन्।
नेपाली कांग्रेसको संस्थापन पक्षले राष्ट्रिय महाधिवेशनसमेत सम्पन्न गरिसकेको अवस्थामा दोलखामा देउवा समूहले छुट्टै जिल्ला अधिवेशन गर्न लागेको हो। पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधिका बीच हुन लागेको यस अधिवेशनलाई जिल्लामा देउवा समूहको संगठनात्मक गतिविधिका रूपमा हेरिएको छ।
कांग्रेस देउवा समूहका दोलखा संयोजक ताराकुमार खड्काका अनुसार जिल्ला अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको छ। जिल्लाका सबै वडा र सातवटा पालिकामा अधिवेशनमार्फत नेतृत्व चयन भइसकेको उनले जानकारी दिएका छन्।
वडा तथा पालिकास्तरको संगठनात्मक प्रक्रिया सम्पन्न भइसकेपछि संघीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन र जिल्ला अधिवेशन गर्न लागिएको हो। निर्धारित कार्यक्रमअनुसार कात्तिक २८ गते शनिबार संघीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशनसँगै जिल्ला अधिवेशन पनि आयोजना हुनेछ।
दोलखा जिल्ला अधिवेशनको उद्घाटन महाधिवेशन आयोजक समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गर्ने कार्यक्रम तय भएको छ। अधिवेशनमा सहभागी हुन नेता कोइराला शुक्रबार नै सदरमुकाम चरिकोट आइपुगेका छन्।
अधिवेशनमा जिल्लाका विभिन्न तहका नेता, कार्यकर्ता, क्षेत्रीय तथा पालिकास्तरका प्रतिनिधि र पार्टीका शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
जिल्ला अधिवेशनमार्फत देउवा समूहले दोलखामा आफ्नो संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउँदै जिल्ला नेतृत्व चयन गर्ने तयारी गरेको छ। साथै, अधिवेशनले जिल्लामा समूहको आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसको संस्थापन पक्षले राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा दोलखामा हुन लागेको देउवा समूहको जिल्ला अधिवेशनलाई जिल्लाको पार्टीगत राजनीतिक गतिविधिका दृष्टिले चासोका साथ हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij