Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

दोलखालाई बागमतीको राजधानी बनाउने अभियानमा पर्यटन व्यवसायी

दोलखालाई बागमतीको राजधानी बनाउने अभियानमा पर्यटन व्यवसायी

नेपाल सम्वत् ११४६, गुंल्लागाः ६, षष्ठी (१८ भाद्र २०८३, ३ सेप्टेम्वर २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। जिल्लाका पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्दै दोलखालाई बागमती प्रदेशकै प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने विषयलाई सभाले प्राथमिकतामा राखेको छ।

hotel1.jpg

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले साधारण सभाको उद्घाटन गरेका हुन्। चरिकोटमा आयोजित कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले दोलखा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा र साहसिक पर्यटनका हिसाबले अत्यन्तै सम्भावनायुक्त जिल्ला रहेको बताए। यहाँका पर्यटकीय गन्तव्यलाई एउटै पर्यटन सञ्जालमा जोडेर पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकमैत्री सेवा विस्तार गर्न सके जिल्लाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो योगदान पुर्‍याउन सक्ने उनीहरूको भनाइ थियो।

कालिन्चोकदेखि शैलुङसम्म, जिरीदेखि रोल्वालिङसम्म तथा गौरीशंकर, भीमेश्वर, तामाकोशी, बिगु र लाप्चीलगायत क्षेत्रलाई पर्यटनको एकीकृत गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सभाले जोड दिएको छ। पर्यटकलाई छोटो समयका लागि आउनेभन्दा जिल्लाका विभिन्न गन्तव्यमा केही दिन बस्ने वातावरण बनाउन पर्यटन प्याकेज र पूर्वाधार निर्माण आवश्यक रहेको व्यवसायीहरूले बताएका छन्।

सभाले दोलखालाई बागमती प्रदेशको प्रमुख पर्यटन केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा प्रदेश राजधानी घोषणाको अभियानलाई समेत अघि बढाउने विषयमा जोड दिएको छ। जिल्लाको भौगोलिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर प्रदेश तथा संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको छ।

संघका अध्यक्ष कुमार श्रेष्ठले दोलखाको पर्यटन विकास अब केवल निजी व्यवसायीको प्रयासबाट सम्भव नहुने भन्दै तीनै तहका सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच बलियो सहकार्य आवश्यक रहेको बताए। उनले पर्यटन पूर्वाधार, सडक तथा यातायात, होटलको गुणस्तर, पर्यटकको बसाइ अवधि र प्रभावकारी प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए।

उनका अनुसार दोलखामा पर्यटनको सम्भावना प्रशस्त भए पनि त्यसलाई आर्थिक गतिविधिसँग जोड्ने गरी योजनाबद्ध काम हुन सकेको छैन। स्थानीय उत्पादन, मौलिक कला–संस्कृति र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने उनले बताए।

सभामा होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवसायीको क्षमता अभिवृद्धि, सीपमूलक तालिम, डिजिटल प्रविधिको प्रयोग तथा आधुनिक पर्यटन प्रवर्द्धनका उपाय अपनाउने विषयमा समेत छलफल भएको थियो।

साधारण सभाले संघको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्ययोजनासमेत तय गरेको छ। पर्यटन प्रवर्द्धन, व्यवसायीको हकहित संरक्षण, पर्यटकीय पूर्वाधार विकास, प्रचारप्रसार विस्तार तथा पर्यटक आगमन बढाउने कार्यक्रमलाई आगामी कार्यकालको प्राथमिकतामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार