Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

दोस्रो हारसँगै दबाबमा नेपाल ‘ए’, बंगलादेशसँग ९ विकेटले पराजित

दोस्रो हारसँगै दबाबमा नेपाल ‘ए’, बंगलादेशसँग ९ विकेटले पराजित

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ११ एकादशी (७ भाद्र २०८३, २३ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला ।  अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार डार्विनस्थित मारारा स्टेडियममा भएको खेलमा नेपाल ‘ए’ बंगलादेश हाई पर्फर्मेन्स (एचपी) टोलीसँग ९ विकेटले पराजित भएको हो।

पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाउन असफल भयो। नेपालले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेश एचपीले १०.२ ओभरमै एक विकेट गुमाएर पूरा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्रै बनायो। नेपाली टोलीको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे। भुर्तेलबाहेक नेपाली ब्याटिङमा उल्लेख्य योगदान हुन सकेन।

नेपालका सात खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान अनिलकुमार शाह र पवन सर्राफ खाता खोल्न नपाउँदै आउट भए। तृतराज दासले ६, कुशल मल्लले १ र लोकेश बमले २ रन बनाए। साहब आलमले ११ रन बनाए भने विपिन खत्री ११ रनमा अविजित रहे। रिजन ढकालले १० रन बनाए।

नेपालको सुरुआत नै निकै खराब रह्यो। १३ रनमै पाँच महत्वपूर्ण विकेट गुमाएपछि टोली ठूलो दबाबमा परेको थियो। भुर्तेलले एक छेउ सम्हाल्दै इनिङ्स अघि बढाए पनि अर्को छेउबाट साथ पाउन सकेनन्। १५.२ ओभरमा उनी आउट हुँदा नेपालले ७५ रनमा आठ विकेट गुमाइसकेको थियो। त्यसपछि पनि नेपालले ठूलो स्कोर बनाउन सकेन।

बंगलादेशको बलिङमा मोहम्मद रुवेल सबैभन्दा प्रभावकारी देखिए। उनले चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए। उनले नेपालका कप्तान अनिल, कुशल मल्ल, लोकेश बम र कुशल भुर्तेलका महत्वपूर्ण विकेट लिए। रोहनत दौला, रिपोन मोन्डोल र समिउन बसिरले समान एक विकेट लिए।

१०० रनको लक्ष्य पछ्याएको बंगलादेशले आक्रामक सुरुआत गर्‍यो। ओपनर हबिबुर रहमान सोहन ७ रनमा आउट भए पनि त्यसपछि सिसन आलम र अरिफुल इस्लामले सहज रूपमा रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए।

सिसन आलमले २९ बलमा अविजित ५२ रन बनाए। उनले तीन चौका र चार छक्का प्रहार गरे। अरिफुल इस्लाम २७ बलमा तीन चौका र एक छक्कासहित ३४ रनमा अविजित रहे। नेपालका लागि एकमात्र विकेट साहब आलमले लिए। उनले ३.२ ओभरमा २७ रन खर्चिए।

लगातार दुई खेलमा पराजित भएपछि नेपाल ‘ए’का लागि प्रतियोगिताको आगामी खेलहरू निकै महत्वपूर्ण बनेका छन्। प्रतियोगिताको आधिकारिक तालिकाअनुसार नेपालले अगस्ट २४ मा होबर्ट हुरिकान्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा एचएच किङ्समेन र अगस्ट २९ मा भिक्टोरिया एकेडेमीसँग खेल्नेछ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध १२२ रन बनाए पनि स्ट्राइकले १५ ओभरमै लक्ष्य पूरा गर्दै ८ विकेटको जित निकालेको थियो।

सिनियर राष्ट्रिय टोली एसिया कप छनोटमा व्यस्त रहेका कारण नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी प्रतियोगितामा सहभागिता जनाएको हो। नेपालले यसपटक सिनियर टोलीका लागि खेलिसकेका अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बमलगायत खेलाडीलाई ‘ए’ टोलीमा समेटेको छ। लगातार दुई हारपछि अब नेपाल ‘ए’ले आगामी खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्दै प्रतियोगितामा पुनरागमन गर्नुपर्ने चुनौती छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार