Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

२०औँ एसियाडमा युवा स्टारको चमक, खेलाडी बस्ने शैलीदेखि चीनको दबदबासम्म

२०औँ एसियाडमा युवा स्टारको चमक, खेलाडी बस्ने शैलीदेखि चीनको दबदबासम्म

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । ओलम्पिकपछिको सबैभन्दा ठूलो खेलकुद मेला एसियाली खेलकुदको २०औँ संस्करण आगामी महिना जापानमा सुरु हुँदैछ। सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोया क्षेत्रमा आयोजना हुने प्रतियोगितामा करिब १५ हजार खेलाडी तथा अफिसियल सहभागी हुने अपेक्षा गरिएको छ।

एसियाडको तयारी अन्तिम चरणमा पुगिरहेका बेला टोकियोमा मंगलबार खेलकुदको मसाल प्रज्वलन गरिएको छ। यही कार्यक्रम बिहीबार सन् १९९४ को एसियाली खेलकुद आयोजना गरेको हिरोसिमामा पनि हुनेछ। त्यसपछि शनिबार दुवै मसाललाई एकै ठाउँमा ल्याएर नागोयासम्म टर्च ¥याली आयोजना गरिनेछ।

आइची–नागोया एसियाड आयोजक कमिटीका सहमहासचिव काजुहिरो यागीले प्रतियोगिता नजिकिएसँगै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँले आइची–नागोया एसियाड जापानको मात्र नभई सम्पूर्ण एसियाले उत्साहका साथ मनाउने बताउनुभएको छ।

खेलाडीलाई प्लेयर्स भिलेजको सट्टा जहाज र कन्टेनरमा आवास

यसपटकको एसियाडमा खेलाडीको आवास व्यवस्थाले पनि चर्चा पाएको छ। आयोजकले परम्परागत ‘प्लेयर्स भिलेज’को सट्टा उच्चस्तरीय होटल, क्रुज जहाज तथा काठका कन्टेनर शैलीका अस्थायी आवास प्रयोग गर्ने भएको छ।

लागत घटाउने उद्देश्यले आयोजकले इटालियन क्रुज जहाज कोस्टा सेरेना भाडामा लिएको छ। करिब ४ देखि ५ हजार खेलाडी उक्त जहाजमा बस्नेछन्। जहाजमा ५७१ क्याबिन, सातवटा स्विमिङ पुल तथा आठ रेस्टुरेन्टसहित विभिन्न सुविधा छन्।

त्यसैगरी थप करिब २ हजार खेलाडी तथा अफिसियललाई नागोयाको गार्डेन पियर क्षेत्रमा काठका ढुवानी कन्टेनर शैलीका अस्थायी आवासमा राखिनेछ। बाँकी खेलाडीलाई होटलमा राख्ने व्यवस्था गरिएको छ।

केही खेल टोकियोमा पनि

२०औँ एसियाली खेलकुदका अधिकांश खेल आइची–नागोया क्षेत्रमा हुने भए पनि केही महत्वपूर्ण इभेन्ट टोकियोमा आयोजना गरिनेछ। पौडी, डाइभिङ र इक्वेस्ट्रियनका केही प्रतिस्पर्धा टोकियोमा हुनेछन्।

युवा स्टारमाथि विशेष नजर

यसपटकको एसियाडमा कम उमेरमै विश्व खेलकुदमा आफ्नो प्रभाव देखाइसकेका केही युवा खेलाडीमाथि विशेष नजर रहनेछ।

फिलिपिन्सकी युवा टेनिस खेलाडी अलेक्ज्यान्द्रा इला, भारतका १५ वर्षीय क्रिकेटर वैभव सूर्यवंशी तथा चीनकी पौडी खेलाडी यु जिदी प्रमुख आकर्षणका रूपमा रहनेछन्।

इलाले यसै महिना वासिङ्टन ओपनको उपाधि जितेकी छन्। त्यस्तै, सूर्यवंशीले निकै कम उमेरमै विश्व क्रिकेटमा प्रतिभाशाली खेलाडीका रूपमा आफ्नो पहिचान बनाइसकेका छन्।

चीनकी पौडी खेलाडी यु जिदीले गत वर्ष २०० मिटर इन्डिभिजुयल मेड्लीमा एसियाली कीर्तिमान कायम गरेकी थिइन्। उनी अक्टोबरमा १४ वर्ष पुग्नेछिन्। जापानमा युबाट एकभन्दा बढी स्वर्ण पदकको अपेक्षा गरिएको छ।

अङ्क तालिकामा चीनकै दबदबा रहने अनुमान

आगामी एसियाडमा पनि चीनले पदक तालिकामा शीर्ष स्थान कायम गर्ने अपेक्षा गरिएको छ। पछिल्लो संस्करण ह्वाङजाउ एसियाडमा चीनले २०१ स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गरेको थियो।

दोस्रो स्थानमा रहेको जापानभन्दा चीनले झन्डै चार गुणा बढी स्वर्ण पदक जितेको थियो। त्यसैले यसपटक पनि चीनलाई एसियाडको सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ।

स्रोत : एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार