नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १२, द्वादसी (८ भाद्र २०८३, २४ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक हुन नसकेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि राजनीतिक दलहरूले सरकारमा पुगेपछि आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको बताएका छन्।
२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्यायबाट वञ्चित भएको उनको भनाइ छ।
थापाले विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन्। यसपटक पनि विषय प्रतिबद्धतामै सीमित नरहोस् भन्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।’
थापाले सरकारमा जानुअघि गरिने राजनीतिक प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय लामो समयदेखि उठ्दै आए पनि हालसम्म त्यसले ठोस निष्कर्ष पाउन सकेको छैन।
उनले विगतका सरकारबाट हुन नसकेको कामलाई वर्तमान सरकारका लागि पनि बहाना बनाउन नहुने उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेर सत्यतथ्य बाहिर ल्याउन र पीडितलाई न्यायको बाटो सुनिश्चित गर्न आग्रह गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij