नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । ललितपुर महानगरपालिकाले आपत्कालीन अवस्थाका बिरामीलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
सोमबार आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त निःशुल्क सेवाको औपचारिक शुभारम्भ गरेकी हुन्।
सेवा शुभारम्भ गर्दै मन्त्री मेहताले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएर ललितपुर महानगरपालिकाले उदाहरणीय कामको सुरुआत गरेको बताइन्। सामान्य एम्बुलेन्स सेवामा पारामेडिक्स रहने भए पनि मेडिकल अफिसरसहितको एम्बुलेन्स सेवा विश्वका सीमित देशमा मात्रै रहेको उल्लेख गर्दै उनले ललितपुरको पहललाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरिन्।
उनले आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ अत्यन्त महत्वपूर्ण हुने बताइन्। ट्राफिक जामलगायतका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था थप जटिल बन्न सक्ने भन्दै उनले घटनास्थलमै स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार दिन सकेमा गम्भीर क्षति न्यूनीकरण गर्न सकिने बताइन्।
ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा अघि बढाएका यस्ता कार्यक्रमलाई मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री मेहताले व्यक्त गरिन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा अस्पताल पुग्नुअघि बिरामीलाई प्रदान गरिने प्रि–हस्पिटल केयर सुधारका लागि महत्वपूर्ण पहल भएको बताए।
चिकित्सकसहितको एम्बुलेन्स सेवा नयाँ अवधारणा भएको उल्लेख गर्दै उनले विश्वका सीमित देशमा मात्रै यस्तो व्यवस्था रहेको दाबी गरे। ललितपुर महानगरपालिकाले यस्तो सेवा सुरु गर्नु सराहनीय भएको उनको भनाइ छ।
डा. प्रधानका अनुसार साउन महिनामा मात्रै महानगरपालिकासँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जना बिरामीले सेवा लिएका छन्। तीमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहर भ्रमणका क्रममा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा सुरु गर्ने अवधारणा अघि बढाइएको बताए।
उनका अनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट असारमा प्रस्ताव पारित गरी आवश्यक बजेट व्यवस्थापन गरिएको थियो। श्रावण १ गतेदेखि नै सेवा सञ्चालन गर्ने योजना रहे पनि आवश्यक तयारी तथा कार्यविधि निर्माण गर्न समय लागेकाले सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको हो।
नगरप्रमुख महर्जनले सेवा सञ्चालनका क्रममा देखिने समस्या तथा त्रुटिलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
महानगरपालिकाका अनुसार चिकित्सकसहितको एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ। आपत्कालीन अवस्थामा बिरामीलाई घटनास्थलमै आवश्यक प्रारम्भिक उपचार प्रदान गर्नुका साथै आवश्यकताअनुसार थप उपचारका लागि अस्पताल पुर्याइनेछ।
उक्त सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ। एम्बुलेन्समा चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ।
बिरामी वा आफन्तको इच्छाअनुसार रोजेको अस्पतालसम्म पुर्याउने व्यवस्था समेत गरिएको महानगरपालिकाले जनाएको छ। सेवा निःशुल्क भएकाले आपत्कालीन अवस्थामा रहेका बिरामीलाई समयमै उपचारको पहुँच पुर्याउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij