नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८३, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल भीमेश्वर मन्दिरको गुठी व्यवस्थापन समितिभित्र देखिएको आन्तरिक विवाद अब औपचारिक रूपमा सार्वजनिक भएको छ। समितिको कार्यकाल समाप्त भइसक्दा पनि अधिवेशन तथा वार्षिक साधारण सभा नगरेको, आर्थिक गतिविधिलाई पारदर्शी नबनाएको तथा गुठी सञ्चालनमा मनोमानी गरेको आरोप लागेपछि भीमेश्वर नगरपालिका–२ वडा कार्यालयले हस्तक्षेप गर्दै तत्काल अधिवेशन गर्न निर्देशन दिएको हो।
परापूर्वकालदेखि गुठी सञ्चालनमा संलग्न गुठियारहरूले वडा कार्यालयमा बसेको बैठकमार्फत वर्तमान समितिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले समितिले समयमै अधिवेशन नगरेर संस्थागत प्रक्रिया अवरुद्ध गरेको, मन्दिरको आय–व्ययको विवरण गुठियार, स्थानीयवासी, बुद्धिजीवी तथा सर्वसाधारणसमक्ष सार्वजनिक नगरेको र केही व्यक्तिले एकलौटी ढंगले गुठी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्। उक्त बैठकमा गुठियारहरूले आफ्नो असन्तुष्टि माइन्युटमार्फत समेत अभिलेख गरेका छन्।
गुठियारहरूको गुनासो र बढ्दो विवादलाई मध्यनजर गर्दै भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले मिति २०८३ असार २९ गते चलानी नम्बर १५७० मार्फत भीमेश्वर गुठी व्यवस्थापन समितिलाई औपचारिक पत्र पठाउँदै यथाशीघ्र अधिवेशन तथा साधारण सभा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। पत्रमा गुठियारहरूको भावना सम्बोधन गर्दै संस्थागत असमझदारी अन्त्य गर्न उपयुक्त मिति र समय तोकी अधिवेशन आयोजना गर्न आग्रह गरिएको छ।
वडा कार्यालयको हस्तक्षेपलाई गुठियारहरूले सकारात्मक रूपमा स्वागत गरे पनि उनीहरूले वर्तमान समितिलाई स्पष्ट चेतावनी दिएका छन्। यदि वडा कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै समितिले अधिवेशन र साधारण सभा नगरी आलटाल गरेमा, भीमेश्वर मन्दिरमा दैनिक सञ्चालन हुँदै आएको पवित्र राजपूजा सहित कुनै पनि धार्मिक गतिविधिमा आफूहरू सहभागी नहुने तथा पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गुठियारहरूले गरेका छन्।
देश तथा विदेशका लाखौं भक्तजनहरूको आस्थाको केन्द्रका रूपमा रहेको भीमेश्वर मन्दिरमा दैनिक राजपूजा नै प्रभावित हुने अवस्था आउन सक्ने संकेतले स्थानीय समुदाय, धार्मिक अभियन्ता तथा सरोकारवालाहरूलाई चिन्तित बनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुठी व्यवस्थापनमा देखिएको विवादले मन्दिरको नियमित सञ्चालन र संस्थागत विश्वसनीयतामाथि समेत प्रश्न उठाएको स्थानीयको भनाइ छ।
यसअघि पनि वर्तमान समितिप्रति असन्तुष्टि जनाउँदै करिब एक महिनाअघि समिति सदस्य परशुराम जोशी र बुद्धिबहादुर आचार्यले पदबाट राजीनामा दिएका थिए। अर्का सदस्य बासु जोशीले समेत सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गरेका थिए। लगातार सदस्यहरूको बहिर्गमन र गुठियारहरूको विरोधपछि समितिमाथिको दबाब झनै बढेको छ।
अब वडा कार्यालयको औपचारिक निर्देशनपछि भीमेश्वर गुठी व्यवस्थापन समितिले अधिवेशनको मिति घोषणा गर्दै संस्थागत प्रक्रिया अघि बढाउँछ वा विवाद अझै लम्बिन्छ भन्ने विषयलाई दोलखावासी तथा गुठियारहरूले चासोका साथ हेरिरहेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij