Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्लास्टिक टनेलमा गोलभेडा खेती गर्दै आत्मनिर्भर बन्दै दोलखाकी लिलामाया श्रेष्ठ

प्लास्टिक टनेलमा गोलभेडा खेती गर्दै आत्मनिर्भर बन्दै दोलखाकी लिलामाया श्रेष्ठ

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः७ षष्ठी (५ साउन, २०८३, २१ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । पछिल्लो समय गाउँमै बसेर आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउने कृषकहरूको संख्या बढ्दै गएको छ। यही क्रममा दोलखाको बिगु गाउँपालिका–५ स्याङ्खुकी लिलामाया श्रेष्ठ व्यावसायिक गोलभेडा खेतीमार्फत आत्मनिर्भर कृषकका रूपमा परिचित हुनुभएको छ।

कालिदेवी जनजागरण कृषक समूहकी अगुवा कृषक तथा ग्रामीण विकास टुकी संघसँग आबद्ध टुकी सदस्यसमेत रहनुभएकी श्रेष्ठले प्लास्टिक टनेल प्रविधिको प्रयोग गरी गोलभेडा उत्पादन गर्दै आउनुभएको छ। परम्परागत खेती प्रणालीभन्दा फरक ढंगले आधुनिक प्रविधि अपनाएर खेती गर्दा उत्पादन बढ्नुका साथै आम्दानीसमेत राम्रो हुन थालेको उहाँको अनुभव छ।

श्रेष्ठले उत्पादन गरेको गोलभेडा स्थानीय बजारमा मात्र नभई स्याङ्खु, खार्तललगायतका क्षेत्रका बजारसम्म पुर्‍याएर बिक्री–वितरण गर्दै आउनुभएको छ। गाउँमै उत्पादन भएको ताजा तरकारीको माग बढ्दै गएपछि खेती विस्तार गर्ने उत्साहसमेत बढेको उहाँ बताउनुहुन्छ।

उहाँका अनुसार गोलभेडा खेतीबाट घरायसी आवश्यकता पूरा गर्न सहज भएको छ भने नियमित आम्दानीको स्रोतसमेत बनेको छ। कृषि व्यवसायलाई निरन्तरता दिँदै उत्पादन वृद्धि गर्ने र थप क्षेत्रफलमा खेती विस्तार गर्ने योजना रहेको श्रेष्ठले बताउनुभएको छ।

समूहका अन्य कृषक पनि गोलभेडा खेतीमा आकर्षित

लिलामाया श्रेष्ठ आबद्ध कालिदेवी जनजागरण कृषक समूहका अन्य १० जना कृषक सदस्यहरूले समेत प्लास्टिक टनेलभित्र गोलभेडा खेती सुरु गरेका छन्। समूहमा आबद्ध कृषकहरूले उत्पादन गरेको गोलभेडा स्थानीय गाउँघरका बजारसँगै छिमेकी गाउँ आलम्पुसम्म पुर्‍याएर बिक्री गर्दै आएका छन्।

समूहगत रूपमा खेती गर्दा अनुभव आदानप्रदान गर्न, प्राविधिक ज्ञान लिन र बजार व्यवस्थापन गर्न सहज भएको कृषकहरूको भनाइ छ। यसले गाउँका अन्य किसानलाई समेत व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गरेको छ।

परियोजनाको सहयोगले खेतीमा सहजता

गोलभेडा खेती विस्तारका लागि ग्रामीण विकास टुकी संघ र सिभिन नेपालद्वारा सञ्चालित ओसेलप परियोजनाबाट सहयोग प्राप्त भएको छ। परियोजनाले कृषकहरूलाई आवश्यक कृषि सामग्री उपलब्ध गराउनुका साथै आधुनिक खेती प्रविधिबारे जानकारी र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।

परियोजनामार्फत कृषकहरूलाई शिल्पुलिन प्लास्टिक, आवश्यक कृषि सामग्री तथा माटोको गुणस्तर सुधारका लागि कृषि चुन उपलब्ध गराइएको छ। यसका साथै समय–समयमा कृषि प्राविधिकहरूले खेतमै पुगेर रोग नियन्त्रण, उत्पादन व्यवस्थापन र खेती प्रविधिबारे आवश्यक परामर्श दिने गरेका छन्।

स्थानीय सरकारबाट उत्कृष्ट कृषक सम्मान

कृषि क्षेत्रमा गरेको योगदानको मूल्यांकन गर्दै बिगु गाउँपालिकाले लिलामाया श्रेष्ठलाई उत्कृष्ट कृषकका रूपमा छनोट गरेको छ। गाउँपालिकाले उहाँलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरेको हो।

कृषक श्रेष्ठले प्राप्त सहयोग, प्राविधिक ज्ञान र आफ्नै मेहनतलाई उपयोग गर्दै गोलभेडा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाइरहनुभएको छ। उहाँको सफलताले ग्रामीण क्षेत्रमा कृषि व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

स्थानीय उत्पादन बढाउने, कृषकको आम्दानी वृद्धि गर्ने र गाउँमै रोजगारी सिर्जना गर्ने अभियानमा लिलामाया श्रेष्ठजस्ता कृषकहरूको भूमिका महत्वपूर्ण बन्दै गएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार