नेपाल सम्वत् ११४६, अनलागाः ९ नवमी (२६ जेष्ठ, २०८३, ९ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणसँगै उहाँले गृह प्रशासनलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा लामो समयदेखि चर्चामा रहेका तथा निष्कर्षमा पुग्न नसकेका विभिन्न काण्डहरूको अनुसन्धानलाई टुङ्गोमा पुर्याउने घोषणा गर्नुभएको छ।
पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले वि.सं. २०५८ सालमा भएको चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेको जानकारी दिनुभयो। नेपाली इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय घटनामध्ये एक मानिने उक्त घटनाको विषयमा थप अध्ययन तथा अनुसन्धान अगाडि बढाउने उद्देश्यले प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो।
मन्त्री गुरुङले पदभार ग्रहण गरेलगत्तै दरबार हत्याकाण्डको छानबिन प्रक्रिया पुनः अघि बढाउने, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त र स्रोत–साधन सम्पन्न बनाउने तथा हाल विभिन्न निकायमा अनुसन्धानका क्रममा रहेका मुद्दाहरूलाई शीघ्र निष्कर्षमा पुर्याउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ। उहाँले अनुसन्धान निकायहरूको क्षमता अभिवृद्धि गरी सत्यतथ्य पत्ता लगाउने कार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो।
यसैबीच, पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका फौजदारी मुद्दाहरूको विषयमा पनि सरकारले आवश्यक अध्ययन गर्ने मन्त्री गुरुङले जानकारी दिनुभयो। उहाँले ती मुद्दाहरूको कानुनी अवस्था, घटनाको प्रकृति तथा न्यायिक पक्षलाई ध्यानमा राख्दै उपयुक्त निर्णय गरिने स्पष्ट पार्नुभयो।
आफूमाथि विगतमा लगाइएका विभिन्न आरोपका विषयमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले ती आरोप तथ्यहीन रहेको दाबी गर्नुभयो। उहाँले आफू कुनै पनि व्यक्तिगत आरोपको सामना गर्न तयार रहेको उल्लेख गर्दै नेपाली चेलीबेटीमाथि हुने अन्याय, हिंसा र शोषणविरुद्ध भने सधैँ दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“ममाथि जस्तोसुकै आरोप लगाए पनि म सहन सक्छु, तर नेपाली चेलीबेटीलाई दुःख दिएको र उनीहरूमाथि अन्याय भएको म कदापि सहन सक्दिनँ,” उहाँले भन्नुभयो।
सञ्चारमाध्यमको भूमिकाबारे पनि धारणा राख्दै गृहमन्त्री गुरुङले तथ्यमा आधारित पत्रकारिताको आवश्यकता औँल्याउनुभयो। मिडिया ट्रायलका कारण कुनै पनि व्यक्ति अनावश्यक मानसिक दबाबमा पर्नु नहुने र त्यसले गम्भीर सामाजिक परिणाम निम्त्याउन सक्ने भन्दै सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।
गृह मन्त्रालयको नेतृत्व सम्हाल्दै मन्त्री गुरुङले सुशासन, कानुनी शासन, अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा नागरिकको विश्वास अभिवृद्धिलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँका प्रारम्भिक निर्णय र अभिव्यक्तिलाई लिएर राजनीतिक तथा प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij