नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सदस्यता नवीकरण तथा विस्तार अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित दुई दिने कार्यशाला आजदेखि सुरू भएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओली ले गरेका छन्।
लामो समयपछि पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीको उपस्थितिलाई एमाले वृत्तमा विशेष रूपमा हेरिएको छ। कार्यशालामा देशभरका पार्टी संगठनसँग सम्बन्धित जिम्मेवार नेताहरू, प्रदेश तथा जिल्ला तहका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ।
एमालेले पछिल्लो समय संगठन विस्तार, सदस्यता नवीकरण र नयाँ सदस्य भित्र्याउने अभियानलाई प्राथमिकतामा राख्दै आएको छ। सोही अभियानलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन कार्यशालाको आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सदस्यता व्यवस्थापन, संगठन सुदृढीकरण, पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने रणनीतिबारे छलफल हुने बताइएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछिका राजनीतिक घटनाक्रमका कारण अध्यक्ष ओली लामो समय सार्वजनिक तथा पार्टी गतिविधिबाट टाढा रहेका थिए। यस अवधिमा उनको स्वास्थ्य उपचारसमेत गरिएको थियो। स्वास्थ्य लाभपछि उनी पुनः सक्रिय रूपमा पार्टी गतिविधिमा फर्किएका हुन्।
कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले संगठन नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै सदस्यता विस्तार र संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले पार्टीलाई जनतासँग अझ निकट बनाउँदै संगठनात्मक एकता, अनुशासन र सक्रियतालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सदस्यता नवीकरण प्रक्रिया, नयाँ सदस्य भर्ना अभियान, डिजिटल अभिलेखीकरण, संगठनात्मक व्यवस्थापन तथा आगामी राजनीतिक कार्ययोजनाबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको एमालेले जनाएको छ।
फोटोः एमाले सचिवालय
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij