नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा एउटा गम्भीर यथार्थ स्पष्ट देखिन्छ, यहाँ आन्दोलनले जति उचाइ हासिल गर्यो, त्यति नै धेरै फुट, गुट र नेतृत्व संघर्ष पनि भोग्नुपर्यो। यही कारणले नेपाली कम्युनिस्ट आन्दोलन एकातिर ऐतिहासिक परिवर्तनको वाहक बन्यो भने अर्कोतिर आफ्नै अन्तर्विरोधको भारीले कमजोर पनि बन्दै गयो।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन हुँदा यसको मूल उद्देश्य सामन्तवाद, निरंकुशता र वर्गीय शोषणविरुद्ध संघर्ष गर्नु थियो। तर तेस्रो महाधिवेशनसम्म आइपुग्दा पार्टी कसले चलाउने भन्ने प्रश्न नै मुख्य विवाद बन्न पुग्यो। विचार, संगठन र नेतृत्वबीच सन्तुलन कायम गर्न नसक्दा कम्युनिस्ट आन्दोलनभित्र विभाजनको बीउ त्यतिबेलै रोपिएको थियो।
चौथो महाधिवेशनपछि मोहन विक्रम र निर्मल लामा को नेतृत्वमा आन्दोलनले उल्लेखनीय उचाइ हासिल गर्यो। वर्गसंघर्ष, राष्ट्रियता र जनवादी राजनीतिक लाइनका कारण वाम आन्दोलन युवाहरूबीच अत्यन्त लोकप्रिय बन्यो। तर २०३९ सालमा पुनः फुट भयो। निर्मल लामाको एउटा धार र मोहनविक्रम सिंहको अर्को धार बनेपछि आन्दोलनको शक्ति विभाजित हुन पुग्यो।
त्यसपछि २०४२ सालको “पातलो मशाल” र “मोटो मशाल” विभाजन नेपाली कम्युनिस्ट आन्दोलनको अत्यन्त पीडादायी अध्याय बन्यो। “पातलो मशाल” को नेतृत्व मोहन विक्रम सिंहले गरे भने “मोटो मशाल” को नेतृत्व मोहन बैद्यले गरे। यो केवल संगठनात्मक फुट थिएन, यो कम्युनिस्ट आन्दोलनभित्र नेतृत्व, रणनीति र राजनीतिक कार्यदिशाको गहिरो संकट थियो। जनताले एउटै विचारधाराका नेताहरूबीच निरन्तर विभाजन देख्न थाले।
२०४६ सालको जनआन्दोलनपछि परिस्थिति फेरियो। २०४७ सालमा पुष्प कमल दहाल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र र बाह्य मोर्चाका रूपमा संयुक्त जनमोर्चा नेपालको गठन भयो। यो शक्ति छोटो समयमै स्थापित हुन सफल भयो। त्यसबेला नेपाली कांग्रेस नेतृत्वको सरकारमाथि राज्य आतंक, दमन र असमानताको आरोप लागिरहेको थियो। यही पृष्ठभूमिमा माओवादी आन्दोलनले आफूलाई वैकल्पिक क्रान्तिकारी शक्तिका रूपमा प्रस्तुत गर्यो।
पछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन भयो। यस आन्दोलनले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तन ल्यायो। जनयुद्धमार्फत राज्यको पुरानो संरचनामाथि चुनौती दिइयो। भूमिहीन, उत्पीडित, दलित, महिला, जनजाति र दुर्गम क्षेत्रका जनताको मुद्दा राष्ट्रिय बहसको केन्द्रमा आयो।
१२ बुँदे समझदारी, दोस्रो जनआन्दोलन, संविधानसभा, अन्तरिम संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको स्थापना प्रक्रियामा माओवादी आन्दोलनको भूमिका निर्णायक रह्यो। नेपालको राज्य संरचना परिवर्तनमा कम्युनिस्ट शक्तिहरूको योगदान ऐतिहासिक रूपमा स्थापित भयो। आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा उभिनुमा वाम आन्दोलनको मुख्य भूमिका रहेको तथ्य अस्वीकार गर्न सकिँदैन।
तर विडम्बना, परिवर्तनपछि सुरु भएको सत्ता राजनीति नै कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो संकट बन्यो। केपि शर्मा ओलीको नेतृत्वको एमाले र पुष्प कमल दहाल नेतृत्वको माओवादीबीच भएको एकताले जनतामा ठूलो उत्साह थपेको थियो। धेरैले सोचेका थिए, अब नेपालमा बलियो वामपन्थी ध्रुव निर्माण हुनेछ र स्थिर सरकारमार्फत विकास तथा राष्ट्रिय स्वाधीनताको नयाँ अध्याय सुरु हुनेछ।
तर त्यो एकता धेरै समय टिक्न सकेन। नेतृत्वबीच अविश्वास, शक्ति बाँडफाँटको विवाद, सरकार सञ्चालन शैली र व्यक्तिगत महत्वाकांक्षाले एकता विघटनतर्फ गयो। त्यसपछि एमाले र माओवादीबीच कटाक्ष, आरोप–प्रत्यारोप र राजनीतिक अविश्वास झन् चर्कियो।
सत्ता गठबन्धनको राजनीतिमा दुवै दल पालैपालो नेपाली कांग्रेससँग मिल्न बाध्य भए। यसले कम्युनिस्ट जनमतमा गम्भीर असर पुर्यायो। लामो समय कांग्रेसलाई “यथास्थितिवादी शक्ति” भनेर आलोचना गर्ने दलहरू अन्ततः कांग्रेससँगै सत्ता साझेदारीमा पुगेपछि कार्यकर्ता र समर्थक अन्योलमा परे।
यही अवस्थाले नयाँ पुस्तामा पुराना दलहरूप्रति वितृष्णा बढायो। अहिले नेपाली राजनीतिमा नयाँ राजनीतिक शक्तिहरू उदाइरहेका छन्। पुराना दलहरूलाई “सत्ताकेन्द्रित”, “अवसरवादी” र “पुरानो सोच” का रूपमा चित्रण गरिँदैछ। परिणामतः कम्युनिस्ट दलहरू निर्णायक राजनीतिक शक्ति भए पनि जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ।
आज फेरि कम्युनिस्ट एकताको बहस सुरु भएको छ। तर जनताले अब केवल चुनावी समीकरणमा आधारित “मौसमी एकता” स्वीकार्ने अवस्थामा देखिँदैनन्। जनताले स्पष्ट वैचारिक दिशा, राजनीतिक कार्यदिशा र व्यवहारिक कार्यक्रम खोजिरहेका छन्।
मुख्य प्रश्नहरू अहिले पनि उस्तै छन् :
यदि यी प्रश्नहरूको स्पष्ट उत्तर नदिई केवल सत्ता प्राप्तिका लागि एकता गरिन्छ भने त्यो फेरि अर्को असफल प्रयोग बन्न सक्छ।
आज नेपाली कम्युनिस्ट आन्दोलन साँच्चिकै “भीरको डिलमा बसेर सोचिरहेको” अवस्थामा छ। अबको निर्णयले आन्दोलनलाई पुनर्जीवन पनि दिन सक्छ, वा इतिहासको एउटा विभाजित र थाकेको अध्यायमा सीमित पनि बनाउन सक्छ।
त्यसैले अबको कम्युनिस्ट एकता केवल संगठनात्मक प्रक्रिया नभई वैचारिक, राजनीतिक र नैतिक पुनर्निर्माणको प्रक्रियामा आधारित हुनुपर्छ। अन्यथा “एकता–फुट–पुनः एकता” को पुरानो चक्र दोहोरिइरहनेछ र जनताले नयाँ विकल्प खोज्ने क्रम अझ तीव्र हुनेछ।
लेखकः डा. मुक्तीनारायण प्रधान, बरिष्ठ अधिवक्ता, पूर्वमहान्यायाधिवक्ता तथा नेकपा का नेता ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij